मधेश सरकारले वीरगञ्जमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने
वीरगञ्जका उद्योगी व्यापारीहरुले वीरगञ्जमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन मधेश प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले शनिबार वीरगञ्जमा मधेशका मुख्यमन्त्री सतीश सिंहसँग गरेको अन्तरक्रियामा यस्तो माग गरिएको हो ।
संघका अध्यक्ष अनलिकुमार अग्रवालले संघको वीरगञ्जस्थित जग्गामा यस्तो पूर्वाधार बनाइदिन मुख्यमन्त्री सिंहलाई यस्तो आग्रह गरेका हुन् ।
कार्यक्रममा सहभागी संघका उपाध्यक्ष माधव राजपालका अनुसार मुख्यमन्त्री सिंहले संघलाई सम्मेलन केन्द्रको विस्तृत योजना प्रतिवेदन (डीपीआरु) बनाउन आग्रह गरेका छन् । डीपीआर बनाएको खण्डमा आगामी आर्थिक वर्षको बजेटमा सम्मेलन केन्द्रका लागि बजेट बिनियोजन गर्ने आश्वासन मुख्यमन्त्री सिंहले दिएका छन् ।
कृषि क्षेत्रको संभावना उपयोगको लागि मधेसका प्रत्येक जिल्लालाई कुनै एक उत्पादनको पकेट क्षेत्र बनाउनुपर्ने माग निजीक्षेत्रका अगुवाहरुले गरेका छन् ।
मधेश विश्वविद्यालयलयमा यससम्बन्धी उच्च तहको पढाई सञ्चालन गर्न सुझाइएको छ । सिमरा विमानस्थलको क्षमता विस्तारको माग निजीक्षेत्रले गरेको छ ।
मधेसमा सौर्य उर्जाको सम्भावना रहेको औंल्याउँदै उपाध्यक्ष राजपालले बताउदै सौर्य उर्जा उत्पादनलाई प्रबर्द्धन गर्न प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । यातायात व्यवस्था कार्यालयहरूमा अनलाइन प्रणालीलाई प्रभावकारी बनाउन पनि उनले आग्रह गरेका छन्।
कार्यक्रमका सहभागी उद्यमी व्यापारीहरुले औद्योगिक जनशक्ति उत्पादनको लागि पोलिटेक्निक इन्टिच्युट संचालन गर्न पनि माग गरेका छन् ।