बाढीपहिरो अपडेट : राजमार्गहरूमा यात्रुको विचल्ली, कुनकुन सडक छन् अवरुद्ध ?
अविलर वर्षाका कारण देशका विभिन्न भूभाग डुबानमा परेका छन् । वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न राजमार्गसमेत अवरुद्ध भएका छन् ।
अधिकारीहरूले देशका अधिकांश राजमार्ग अवरुद्ध रहेको र केही राजमार्गहरू खुल्दै बन्द हुँदै गर्ने क्रम रहेको बताएका छन्।
नाट्यकर्मी घिमिरे युवराजले शुक्रवार रातिबाट आफूसहित कैयौँ यात्रुहरू नागढुङ्गा छेउमा पहिरोका कारणले रोकिएको सामाजिक सञ्जालमा लेखेका छन्।
हाम्रा साथी बिरामी परेका छन्। यहाँ कति मानिस अभरमा छन्। शौचालयदेखि आपत्कालीन बिमारका समस्या छन्। अगाडि पछाडि पहिरो खस्दो छ। आँखा अगाडि एउटा गाडी पुरियो।
न स्वयंसेवक, न सहयोगी। दुर्घटना भएपछि लोकाचारका लागि करोडौँँ खर्च गर्ने सरकार २० घण्टादेखि सङ्कटमा फसेका यात्रुहरूलाई सहयोग गर्न आउँदैन, उनले लेखेका छन्।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले यात्राका क्रममा अलपत्र परेका मानिसहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहबाट उद्धार र अत्यावश्यक बन्दोबस्त मिलाउन भनिएको बताए।
हामीले यात्रुहरूलाई सुरक्षित स्थानमा राख्ने र अत्यावश्यक बन्दोबस्त मिलाउनका लागि स्थानीय तहसँग पनि समन्वय गरेर काम गर्न जिल्ला विपद् व्यवस्थापन समितिलाई भनेका छौँ, उनले लेखेका छन्।
कुनकुन सडक छन् अवरुद्ध ?
लगातारको वर्षाले काठमाडौं– नागढुङ्गा–चितवन सडक, काठमाडौं–धुलिखेल–सिन्धुली, मुग्लिङ–पोखरा, चितवन–बुटवल, धुलिखेल–खावा–दोलखा सडकखण्ड अवरुद्ध भएका छन् ।
यस्तै, बेनी–मुस्ताङ, कैलाली–बझाङ–बाजुरा, झापा–इलाम (मेची राजमार्ग) तथा काठमाडौं–हेटौंडा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।