No Image Headlineअर्थमुख्य खबर

पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न भारतलाई आग्रह, भारतले के भन्यो ?

नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विमानहरूले पनि उडान गर्ने व्यवस्था मिलाउन सहयोग गर्न भारतलाई अनुरोध गरेको छ।

Patanjali Nepal
SweetMart Nepal

अघिल्लो साता नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आईकाओको एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सम्मेलनका क्रममा भारतीय नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडुसँगको भेटवार्तामा आफूले त्यस्तो प्रस्ताव राखेको पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बीबीसीलाई बताए।

हालसम्म भारतका वायुसेवाले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि उडान गरेका छैनन्। नेपाल सरकारले आगामी नोभेम्बर महिनाबाट त्रिभुवन विमानस्थल रातको समयमा मर्मतका लागि बन्द गरिने भन्दै केही समय पहिले अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई पोखरा र भैरहवाबाट पनि अन्तर्राष्ट्रिय उडानहरू गर्न पत्राचार गरेको थियो।

विभिन्न देशका पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी अधिकारीहरूसँग छलफल गरेको बताएका मन्त्री पाण्डेले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र नेपाललाई थप हवाई रूटहरू उपलब्ध गराउने विषयमा भारतीय समकक्षीसँग कुराकानी गरेका थिए।

उनले भने, मैले भारतले आफ्ना एअरलाइन्सहरूलाई ल्याइदेओस् भन्ने कुरा राखे। मुक्तिनाथ जान पनि पोखराको विमानस्थलबाट सजिलो हुन्छ। गौतम बुद्धकै जन्मथलोमा भैरहवामा नै उत्रन पाउने कुरालाई भारतीयहरूले पनि सजिलो मान्छन्। यहाँहरूले आफूले भए पनि चलाउन सुरु गरिदिनुहोस् भनेर मैले भने।

भारतीय मन्त्रीले त्यसको जबाफमा त्यो निजी क्षेत्रको कुरा भएको उल्लेख गर्दै आफूहरूले पनि कुरा गर्ने र नेपाल सरकारले पनि छलफल थालेकोले परिणाम दिन सक्ने आशा व्यक्त गरेको पाण्डेले जनाए।

अघिल्लो महिना विदेशी वायुसेवा कम्पनीलाई ती दुवै अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नका लागि प्रेरित गर्न दुई वर्षसम्मका लागि विशेष सहुलियत दिने निर्णय नेपाल सरकारले गरेको थियो।

त्यसमा हवाई टिकटमा लगाइएको कर नलिने, नाफा बिनै हवाई इन्धन बिक्री गर्ने, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिने र पार्किङ, ल्यान्डिङ अनि न्याभिगेशनमा पूर्ण छुट दिनेसहितका विषय समेटिएका थिए।

नेपाल सरकारले पोखरा र भैरहवाबाटै वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले उडानहरू गर्न सकून् भनेर श्रम स्वीकृति दिनेसहितका काम गर्ने कतिपय कार्यालयहरू ती स्थानमा नै स्थापित गर्ने पनि निर्णय लिएको थियो।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले आफूले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानहरूको सहजीकरणका लागि थप हवाई रुट उपलब्ध गराउने विषयबारे भारतीय अधिकारीहरूसँग छलफल गरेका थिए। उनले आफूले थप रुट प्राप्त नगर्दा नेपाल अप्ठेरोमा परेको भन्दै महेन्द्रनगर नेपालगञ्जको रुट नेपालका लागि प्राविधिक हिसाबले पनि उपयुक्त भएको धारणा राखेका थिए।

पाण्डेले थपे, हामीलाई भैरहवा र पोखरा विमानस्थलको सञ्चालनकै लागि पनि ती रुट जरुरी छन्। त्यो रुट प्राप्त हुँदा अरू वायुसेवालाई पनि सजिलो हुन्छ र भारतबाट उड्ने वायुसेवाहरूलाई पनि सजिलो हुन्छ, धैरै पटक हाम्रो छलफल भइसक्यो, यसमा सहयोग गरिदिनुपर्‍यो भनेर मैले भनेँ। उहाँहरूले प्राविधिक ढङ्गले छलफल अघि बढाऔँ भन्नुभयो। ट्वाक्कै जबाफ दिन चाहनुभएन।

अहिले भारतसहित अन्य देशहरूबाट नेपाल आउने सबै अन्तर्राष्ट्रिय उडानहरूलाई सिमरा हुँदै नेपाल प्रवेश गर्नुपर्ने बाध्यता छ। भारतले नेपालबाट बाहिरिनका लागि एकतर्फी मार्गका रूपमा भने महेन्द्रनगर, भैरहवा, जनकपुर र विराटनगरतर्फको रुट नेपाललाई उपलब्ध गराएको छ।

तर भारतले सिमराहुँदै काठमाडौं प्रवेश गर्ने र बाहिरिने मार्गलाई मात्रै दुईतर्फी हवाईमार्गको अनुमति दिएको छ। नयाँ प्रवेश मार्ग उपलब्ध नभएपछि त्यसले नेपाल आउन लाग्ने उडानको अवधि र लागत दुवै बढाईरहेको अधिकारीहरू बताउँछन्।

नेपाल र भारतका प्रधानमन्त्रीकै तहमा थप हवाई रुट उपलब्ध गराउने विषयबारे छलफल भएपनि निष्कर्ष निस्किएको छैन। कतिपय विज्ञहरू नेपालको उड्डयन क्षेत्र र त्यसमा पनि पूर्वाधार निर्माणमा बेइजिङको प्रभावलाई सन्तुलनमा राख्न पनि दिल्लीले हवाई रूटसहितका विषय अघि नबढाएको ठान्छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारबाट ऋण लिएर निर्माण गरिएको हो। नियमित अन्तर्राष्ट्रिय उडानहरू नहुँदा सरकारले चिनियाँ एक्जिम ब्याङ्कबाट लिएको २८ अर्ब रुपैयाँभन्दा बढी रकम मिनाहा गरिदिन चीन सरकारलाई लिखित अनुरोध नै गरेको छ।

चिनियाँ ठेकेदार प्रयोग गरेर निर्माण गरिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरुवाती समयमा केही अन्तर्राष्ट्रिय उडानहरू भए पनि नियमित उडानहरू भइरहेका छैनन्। चिनियाँ ठेकेदार प्रयोग गरेर निर्माण गरिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय जग्गा अधिग्रहणमा मात्रै २४ अर्ब २३ करोड रुपैयाँ खर्च भएको बताइन्छ।

सात अर्ब १९ करोड रुपैयाँ लागतमा निर्माण भएको उक्त विमानस्थलका लागि एशियाली विकास बैंङ्क, ओपेक कोष, नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणले लगानी गरेका थिए। एशियाली विकास बैङ्कको ऋण र अनुदान गरी चार अर्ब ९१ करोड रुपैयाँ र ओपेक कोषको एक अर्ब ४६ करोड रुपैयाँ ऋण उक्त विमानस्थलमा प्रयोग भएको छ।

नेपालले आगामी कार्तिक २३ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतसम्भारका लागि १० घण्टा बन्द गर्न लागेको र त्यो समयमा पोखरा तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय वायुसेवाहरूले नियमित अन्तर्राष्ट्रिय उडानहरू गर्न पत्राचार गरेको थियो।

तर कुनै पनि वायुसेवाले तत्कालै त्यहाँ उडानहरू गर्ने प्रतिक्रिया दिएका छैनन्। नागरिक उड्डयन प्राधिकरणका सहव्यवस्थापक ज्ञानेन्द्र भुलले अन्तर्राष्ट्रिय वायुसेवाहरूले विभिन्न तर्कहरू दिँदै काठमाडौंबाटै उडान गर्न पाउनुपर्ने बताइरहेका छन्।

उनले भने, काठमाडौंबाट उडान अवधि बढाउनका लागि उहाँहरूले कूटनीतिक र राजनीतिक तहबाट पैरवी गरिरहनुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम गरिने भएकाले हामीले पोखरा र भैरहवामा उडान गर्न हामीले गरेको आग्रहमा उहाँहरूले ती विमानस्थलहरू नयाँ भएको र आफूहरूले अध्ययन गरिरहेको जबाफ दिनुभएको छ।

नोभेम्बर ८ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानको ८ बजेदेखि राति १० बजेसम्म मात्रै सञ्चालनमा रहने अधिकारीहरूले बताउने गरेका छन्। सन् २०२२ बाट उक्त विमानस्थल चौबिसै घण्टा सञ्चालनमा रहेको छ।

उडानको समय कटौती भएपछि विमानस्थलले आम्दानी मात्रै गुमाउँदैन, त्यसको असर टिकटको मूल्यदेखि यात्रुको चाप व्यवस्थापनसम्म पर्छ। यो परिस्थितिमा के गर्ने भन्नेबारे हामी बैठक बसेर फेरि निर्णय गर्दै छौँ।

हालसम्म कुवेतको जजिरा एअरलाइन्सले मात्रै भैरहवामा उडान भर्ने इच्छा जनाएको छ। तर उसले राति दुई बजे आएर तीन बजे फर्कने प्रस्ताव गरेपछि नेपाली अधिकारीहरू अप्ठेरोमा परेका छन्।

भुल भन्छन्, हामीले विमानस्थल सञ्चालन हुने अवधिभित्रै उडान गर्न अनुरोध गरेका छौँ। त्यसको जवाफ आइसकेको छैन। सरकारले घोषणा गरेका सहुलियतका कारण भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दा नागरिक उड्डयन प्राधिकरणलाई एक रुपैयाँ पनि आम्दानी हुँदैन।

तर जजिराले भनेजस्तै रातिको समयमा उडान अनुमति दिइयो भने हामीलाई एउटा उडानका लागि न्यूनतम ४० देखि ६० लाख रुपैयाँसम्म नोक्सानी हुन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button