उपसभामुख हटाउने सत्तापक्षको रणनीति, दुई तिहाई जुटाउने जिम्मा गृहमन्त्रीलाई
नेपाली कांग्रेसले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध दुई तिहाइ मत जुटाउने जिम्मा गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखकलाई दिएको छ । पदीय मर्यादाविपरीत असम्बन्धित व्यक्तिलाई अमेरिका लाने उद्देश्यले पत्र लेखेकी उपसभामुख रानाविरुद्ध दुई तिहाइ मत पुर्याउने जिम्मा पार्टीले गृहमन्त्री लेखकलाई दिएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।
उपसभामुख रानाले आफ्नो गल्ती स्वीकार गरी राजीनामा नादिए अन्य सत्ता गठबन्धनमा रहेका र नरहेका दलसँग सम्वाद गरेर गरेर दुईतिहाइको अंकगणित जुटाउन पार्टीका तर्फबाट गर्ने पहल गर्ने जिम्मेवारी लेखकले पाएका हुन् । ‘कांग्रेसबाट अन्य दलसँग समन्वयको जिम्मा गृहमन्त्रीलाई दिइएको छ,’ प्रमुख सचेतक घिमिरेले भने ।
बुधबार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि सभापति देउवाले सत्ता गठबन्धन निर्माण गर्न नेतृत्व गरेका लेखकलाई नै उपसभामुख रानाविरुद्ध सत्तागठबन्धनले लगाउने तयारी गरेको महाअभियोमा दुई तिहाइको अंकगणित पुर्याउने जिम्मेवारी दिएका हुन् । उपसभामुख रानाले अर्को देशसँगको सम्बन्धका विषयमा गर्नै नहुने काम गरेकाले मार्गप्रशस्त गर्नुपर्छ भन्ने सत्ता गठबन्धनको निष्कर्ष छ ।
उपसभामुख रानामगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन पत्र लेखेकी थिइन्।
रानाको पत्रमा आफूसहित सबैका लागि कार्यक्रम महत्वपूर्ण भएको र संयुक्त राष्ट्रसंघबाट आएको निम्तोलाई उच्च प्राथमिकतामा राखेको समेत उल्लेख गरेको तर, उनले अन्तर्वार्ताको समय मिलाइदिन आग्रह गरेका व्यक्तिहरू त्यो कार्यक्रमसँग कुनै साइनो नभएका परेपछि विवाद भएको थियो ।
२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ मत आवश्यक पर्छ । अहिले कांग्रेससँग ८८ एमालेसँग निलम्बित सांसद टोपबहादुर रायमाझी र सभामुख देवराज घिमिरेबाहेक ७७ मत छ । दुई दलको जोड्दा १६५ हुन्छ ।
सत्तामा ७ सिट भएको जनता समाजवादी पार्टी ४/४ सिट भएका लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् । भने सरकारलाई ६ सिट भएको जनमत पार्टी र ५ सिट भएको जनता समाजवादी पार्टी नेपालले समर्थन गरेका छन् ।
एमाले बाहेकका यी दललाई महाअभियोगको पक्षमा मतदान गर्ने वातावरण गर्ने जिम्मेवारी कांग्रेसले दिएको हो । गृहमन्त्री लेखकको सचिवालयका अनुसार लेखकले आजैबाट दलहरूसँग अनौपचारिक छलफल थाल्नेछन् ।