मधेश सरकारले नागरिकको बीमा गरिदिनु पर्दछ : अध्यक्ष सिलवाल
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेश प्रदेशका अधिकांश भूभाग बाढीपहिरो र आगजनीको उच्च जोखिममा रहेकाले प्रदेश सरकारले सबै जनताको एकमुष्ट जीवनबीमा गर्नुपर्ने बताएका छन् ।
वीरगञ्जमा आयोजित बीमा प्राधिकरण र सञ्चारकर्मीहरुबीचको अन्तरक्रिया कार्यक्रममा उनले यस्ता धाराणा राखेका हुन् । कर्णाली प्रदेश सरकार आफैँले प्रदेशका १३ लाख नागरिकको बीमा गरिदिएको उदाहरण दिँदै मधेश प्रदेश सरकारले पनि यहाँका नागरिकको बीमातर्फ ध्यान दिन जरुरी भएको उनले बताए ।
मधेश प्रदेशका धेरै नागरिक गरिबीको रेखामुनि रहेकाले पनि बीमा गर्न आवश्यक देखिएको उल्लेख गरे । अध्यक्ष सिलवालले सीमावर्ती जिल्लाका सर्वसाधारणले भारतीय कम्पनीमा बीमा गर्न नहुने बताए। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई विभिन्न लोभ देखाएर भारतीय कम्पनीमा बीमा गर्ने गलत परिपाटीको अन्त्य हुन जरुरी भएको पनि उनले औंल्याएका छन् ।
यसैबीच कार्यक्रममा गत आर्थिक वर्षमा मुलुकभरिमा बीमाको पहुँच विस्तारमा कमी आएको जानकारी दिइएको थियो । आव २०७/र८० सम्म कूल जनसङ्ख्याको ४४ दशमलव ३८ प्रतिशतमा बीमाको पहुँच पुगेकोमा आव २०८०/८१ मा ४३ दशमलव २७ प्रतिशतमा सीमित भएको प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले जानकारी दिए।