अमेरिकाले युक्रेनलाई लामो दूरीका अस्त्र प्रयोग गर्ने अनुमति दिन लागेको हो ?
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनलाई रुसविरुद्ध लामो दूरीसम्म प्रहार गर्न सकिने अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न दिने गरी प्रतिबन्ध फुकुवा गर्ने सङ्केत गरेका छन्।
युक्रेनले अमेरिकाबाट आयात गरिएका त्यस्ता क्षेप्यास्त्रको प्रयोगमा तोकिएको सीमा खुकुलो पारिदिन वाशिङ्टनलाई बारम्बार आग्रह गर्दै आएको थियो। अमेरिकाले लामो दूरीका अमेरिका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिएकाले रुसले गरेको आक्रमणको प्रतिकार गर्दा आफ्नो हात बाँधिएको युक्रेनी अधिकारीहरूले बताउँदै आएका थिए।
रुसले बाइडनको टिप्पणीबारे कुनै प्रतिक्रिया दिइसकेको छैन। यद्यपि राष्ट्रपति भ्लादिमिर पुटिनले पहिले नै त्यस्तो कार्यले व्यापक र गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिइसकेका छन्।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले इरानले रुसलाई छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्रहरू उपलब्ध गराएको आरोप लगाएपछि बाइडनको त्यस्तो भनाइ आएको हो।
के अमेरिकाले युक्रेनलाई लामो दूरीका अस्त्र प्रयोगमा लगाइएको प्रतिबन्ध हटाउने लागेको हो ? भन्ने संवाददाताहरूले सोधेको प्रश्नमा मङ्गलवार राष्ट्रपति बाइडनले आफ्नो प्रशासनले अहिले त्यसबारे काम गरिरहेको बताए।
रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण रूपको आक्रमण सुरु गरेदेखि नै अमेरिकाले द्वन्द्व बढ्न सक्ने ठानेर रुसको भित्री क्षेत्रमा पनि प्रहार सकिने अस्त्रहरू युक्रेनलाई आपूर्ति गर्न वा प्रयोग गर्न अनुमति दिन हिचकिचाइरहेको छ। यद्यपि अमेरिकाले त्यस्ता क्षेप्यास्त्र प्रयोगमा लगाइएको प्रतिबन्धलाई केही खुकुलो पारिदिएको छ।
युक्रेनतर्फ आक्रमण भइरहेका रुसी सीमाक्षेत्रमा युक्रेनले लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न पाइरहेको छ । किएभका अन्य सहयोगीहरूले पनि केही मात्रामा लामो दूरीसम्म प्रहार गर्न मिल्ने अस्त्रहरू आपूर्ति गर्दै आएका छन्। उनीहरूले त्यस्ता अस्त्रहरू रुसभित्र कसरी र कहिले प्रयोग गर्न सकिन्छ भन्ने प्रतिबन्धका सर्तसहित आपूर्ति गरेका हुन्।
त्यस्ता अस्त्रहरूको प्रयोगले नेटो सदस्यराष्ट्रहरूलाई युद्धमा धकेल्ने वा परमाणुअस्त्रको होड निम्तिने चिन्ताका कारण त्यसो गरिएको हो। हालैका महिनाहरूमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सहयोगी देशहरूको अस्त्र आपूर्तिको गतिप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
उनले पश्चिमा देशहरूले उपलब्ध गराएका क्षेप्यास्त्रहरू रुसको भित्री भागमा पनि प्रहार गर्ने अधिकार दिन आग्रह पनि गरेका छन्। तर अमेरिकाले अनुमति दिन अस्वीकार गर्दै आएको थियो।
रुसी राष्ट्रपति पुटिनले यसै वर्षको सुरुमा युक्रेनले रुसमाथि पश्चिमी क्षेप्यास्त्रले गरेको आक्रमणले व्यापक युद्ध निम्त्याउने खतरा रहेको चेतावनी दिएका थिए। उनले त्यस्तो आपूर्तिको बढ्दो गतिले निरन्तर द्वन्द्व निम्त्याउन सक्ने बताउँदै के पश्चिमाहरूले विश्वस्तरको द्वन्द्व चाहन्छन् ? भन्ने प्रश्न गरेका थिए।
युक्रेनी सेनाले आक्रमण गरे पनि रुसी भूमिभित्र हुने कुनै पनि हमलाको जिम्मेवारी पश्चिमी अस्त्र आपूर्तिकर्ताहरूको हुने बताएका थिए। यसैबीच यूके भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले इरानीहरूले छोटो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न रुसीहरूलाई तालिम दिएको र केही साताहरूमै त्यस्ता क्षेप्यास्त्र युक्रेनविरुद्ध प्रयोग हुन सक्ने बताएका छन्।
उनी ब्रिटिश विदेशमन्त्रीसँगै बुधवार किएभ पुग्दै छन्। उनले त्यहाँ युक्रेनी नेता जेलेन्स्कीलाई भेटेर युक्रेनको युद्ध योजनाबारे छलफल गर्ने छन्। यसैबीच इरानले रुसलाई छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र उपलब्ध गराएको र ती युक्रेनविरुद्ध प्रयोग हुन सक्ने भन्दै मङ्गलवार अमेरिका, यूके, फ्रान्स र जर्मनीले इरानमाथि नयाँ प्रतिबन्धहरू लगाएका छन्।
त्यस्ता प्रतिबन्धमा ुइरान एअरुलाई यूके र युरोपमा यात्रा गर्ने कुरामा केही प्रतिबन्ध लगाइनुका साथै रुसमा गरिएको सैन्य सहायताका लागि सहजीकरण गरेको आरोप लागेका केही इरानी नागरिकमाथि प्रतिबन्ध लगाउने कुराजस्ता विषय समाविष्ट भएको बीबीसीले जनाएको छ ।