No Image Headlineअन्तराष्ट्रिय

युक्रेनी सैन्य तालिम केन्द्रमा रुसी हमला, ज्यान गुमाउने ५१ जनामध्ये सैनिकहरू पनि

रुसले मध्ययुक्रेनको पोल्ताभा सहरमा गरेको एउटा क्षेप्यास्त्र आक्रमणमा परेर कम्तीमा ५१ जनाको मृत्यु भएको र अन्य २७१ जना घाइते भएका छन्।

Patanjali Nepal
SweetMart Nepal

एउटा सैन्य प्रशिक्षण केन्द्र र नजिकै रहेको एउटा अस्पताल क्षेप्यास्त्रको निसानामा परेका थिए। युक्रेनले उक्त आक्रमणमा आफ्ना स्थलसैनिकहरूको पनि ज्यान गएको पुष्टि गरेको छ।

हवाई आक्रमण हुन लागेको चेतावनी दिइएको भए पनि मानिसहरूले सुरक्षित आश्रयस्थलसम्म पुग्न पर्याप्त समय नपाएको युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो हमलाको मूल्य रुसले चुकाउनुपर्ने भन्दै हवाई प्रतिरक्षाका लागि थप सहयोग आह्वान गरेका छन्। सहयोग पाए युक्रेनले आफैँ लामो दूरीका क्षेप्यास्त्रहरू प्रहार गरेर आफ्नो रक्षा गर्न सक्ने उनको तर्क छ।

मस्कोले पोल्ताभामा भएको कारबाहीबारे कुनै प्रतिक्रिया दिएको छैन। तर उक्त आक्रमणको एक दिनपछि रुसले युक्रेनमाथि फेरि अर्को हमला गरेको छ। युक्रेनी पक्षले रुसी क्षेप्यास्त्रहरू खसाउने प्रयास गर्दा किएभमा विस्फोटनको आवाज सुनिएको थियो।

युक्रेनी सेनाले पश्चिमी सहर लिभिभमा ड्रोन हमला गरिएको भन्दै पूरै देशमा हवाई हमलासम्बन्धी चेतावनी जारी गरिएको जनाएको छ। यो आक्रमणलाई युक्रेनमाथि रुसले यो वर्ष गरेको सबैभन्दा घातक कारबाही मानिएको छ। क्षेप्यास्त्र आक्रमण हुँदा नजिकै बसिरहेका मानिसहरूले विस्फोटनका कारण घरका सिसाहरू फुटेको जनाएका छन्।

दुई साताअघि पोल्ताभास्थित मिलिटरी कम्युनिकेशन इन्स्टिट्यूटमा भर्ना भएका २६ वर्षका प्रशिक्षार्थी मिक्ता पेट्रोभले मङ्गलवार बिहान स्थानीय समयानुसार ९ बजेतिर आक्रमण भएको र पहिलो क्षेप्यास्त्र हमलाको तीन सेकन्डभित्रै दोस्रो आक्रमण भएको जानकारी दिए।

यसअघि रुसी सैनिक ब्लगरहरूले उक्त स्थानमा सैन्य प्रशिक्षार्थीअरू परेड गर्न भेला भएको जनाएका थिए। यद्यपि युक्रेनी रक्षा मन्त्रालयले आक्रमण भएको बेला त्यहाँ परेड नभएको जनाएको छ।

स्थानीय समयानुसार ९ः०८ बजे चेतावनीको घण्टी बजेको थियो र सबै जना सुरक्षित आश्रयस्थलतर्फ अघि बढेको मन्त्रालयको भनाइ छ। तर त्यसको एकाध मिनेटमा नै विस्फोटन सुरु भएको थियो।

त्यसरी आश्रयस्थल जान प्रयास गर्नेमा ३० वर्षीया याना कुलिशोभा पनि थिइन्। उनी हवाई आक्रमणको जनाउ दिने साइरनका कारण बिउँझिइन् तर उनीसँग सुरक्षित ठाउँमा जान सक्ने समय थिएन। उनका पति डोन्बास क्षेत्रमा अग्रमोर्चामा लडाइँमा छन्।

उसले अन्य सैन्य शिविरहरूको सुरक्षा सुनिश्चित गर्नका लागि थप कदमहरू चालिने पनि जनाएको छ। अग्निनियन्त्रकहरूले भवनका भग्नावशेष सफा गरेका थिए भने सैनिकहरूले बाहिरका मानिसलाई नजिकै जान दिएका छैनन्। घटनास्थलको संवेदनशीलताका कारण त्यस्तो गरिएको जनाइएको छ।

पोल्ताभामा बस्ने ओलेना सर्द्युकका अनुसार “हवाई आक्रमणको जनाउ दिने चेतावनी दिन थालिएको एक मिनेटमै दुइटा विस्फोटन” भएका थिए। तत्कालै हामी घरभित्र बच्चा लिएर बाथरुमतिर दौडियौँ र चुपचाप बस्यौँ। उनले आफू बस्ने ठाउँनजिकै बमबाट जोगिनका लागि विशेष आश्रयस्थल नभएको बताइन्।

पोल्ताभाका क्षेत्रीय प्रशासक फिलिप प्रोनिनले उक्त हमलालाई धूर्त र कुटिल रुसी आक्रमण भनेका छन्। उनले घटनास्थलमा अझै पनि खोजीकार्य चलिरहेको भन्दै १० वटा आवासीय भवनमा आक्रमणबाट क्षति पुगेको बताए।

मध्ययुक्रेनमा रहेको पोल्ताभामा युद्धअघि झन्डै तीन लाख मानिसको बसोबास थियो। यो सहर किएभबाट ३०० किलोमिटर पूर्वमा पर्छ। त्यहाँस्थित सैन्य प्रशिक्षण केन्द्रमा सञ्चारसम्बन्धी तालिम दिइन्छ। बीबीसी 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button