इजरायली कारवाहीमा हमास नेताको मृत्यु, बदला लिने चेतावनी

हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरेलले इरानको राजधानी तेहरानमा गरेको एउटा आक्रमणमा मारिएको जनाएको छ। हमासले एउटा विज्ञप्ति जारी गर्दै इस्माइल हानियाको मृत्यु भएको पुष्टि गरेको हो। उनी ६२ वर्षका थिए।



हमासका अनुसार तेहरानमा इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो। इजरेलले उक्त घटनाको जिम्मेवारी लिइसकेको छैन।



इरानका राष्ट्रपति मसूद पेजेश्कियानले इजरेललाई पछुतो लाग्ने बनाउने र इरानले आफ्नो भूमिको अखण्डता, प्रतिष्ठा र सम्मानको प्रतिरक्षा गर्ने उद्घोष गरेका छन्।



समाचारसंस्था एएफपीले प्रकाशित गरेको विज्ञप्तिमा पेजेश्कियानले हानियालाई साहसी नेता भनेका छन्। इरानका सर्वोच्च नेता आयातूल्लाह अली खामनेईले हानियाको हत्याको प्रतिशोध लिनु तेहरानको कर्तव्य भएको भन्दै इजरेले दण्ड पाउने काम गरेको बताएका छन्।
हानियाका एक अङ्गरक्षकको पनि उक्त घटनामा मृत्यु भएको इरानको रेभलूशनरी गार्ड कोरले जनाएको छ। हानियाको मृत्युको खबर लेबननमा इजरेली आक्रमणमा हिज्बुल्लाहका एक वरिष्ठ सैन्य नेता मारिएको केही घण्टाभित्रै आएको हो।