No Image Headlineअर्थमुख्य खबरविशेष

चिनियाँ बन्दरगाहबाट छरितो ढुवानी, पीआईएलले नेपालसम्म २२ दिनमै डेलिभरि दिने

सिपिङ लाइन प्यासिफिक इन्टरनेशनल लाइन (पीआईएल)ले चीनका विभिन्न बन्दरगाहबाट २२ दिनमा नेपालमा कन्टेनर ल्याइपुर्‍याउने दाबी गरेको छ । अहिले भारतको कोलकाता (श्यामा प्रसाद मुखर्जी) बन्दरगाहसम्म सीधा ढुवानी सेवा शुरू गरेको पीआईएलका अधिकारीले यस्तो बताएका हुन् ।

सो कम्पनीले चीनको शेकु र शियामेन बन्दरगाहबाट कोलकाता बन्दरगाहसम्म १४ दिनमा र नेपालमा स्थलमार्ग तथा रेलबाट २२ दिनसम्मका ढुवानी दिन सक्ने बताएको छ । कोलकाता बन्दरगाहबाट रेलमार्ग सञ्चालनमा आएको सबैभन्दा नजिकको नाका वीरगञ्ज हो । भारतका कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाहबाट वीरगञ्जको सुक्खा बन्दरगाहसम्म रेलबाट सीधा ढुवानी हुने गरेको छ । कतिपय आयातकर्ताले कोलकाताबाट ट्रकमा समेत सामान ढुवानी गर्छन् ।

अहिले चिनियाँ बन्दरगाहबाट कोलकाता बन्दरगाहका लागि कन्टेनर ढुवानी शुरू गरिएको पीआईएलका कोलकाता शाखा प्रबन्धक प्रोविरकुमार चक्रवर्तीले जानकारी दिए । नेपालले तेस्रो मुलुकसँगको व्यापारमा प्रयोग गरेको सबैभन्दा पुरानो बन्दरगाह हो– कोलकाता । नेपालमा आयातित मालवस्तु ल्याउने कुल कन्टेनरमध्ये आधा उक्त बन्दरगाहबाटै आउने गरेको आयातकर्ता बताउँछन् ।

अहिलेसम्म चिनियाँलगायत अन्य बन्दरगाहबाट कन्टेनर ढुवानी गर्दा एकदेखि डेढ महीनासम्म लाग्ने गरेकोमा अब सीधै ढुवानीले समय बचत हुने र यसबाट वैदेशिक व्यापार प्रतिस्पर्धी हुने दाबी कम्पनीले गरेको छ ।

नेपाल र चिनियाँ बन्दरगाहलाई जोड्ने यो द्रुत र छोटो रूट भएको दाबी पनि कम्पनीको छ । अहिले सिंगापुर र श्रीलंकाका बन्दरगाहमा अनलोड गरेर कोलकातामा ल्याउँदा बढी समय लागिरहेकोमा उक्त कम्पनीको सेवाले लागत घटाउने चक्रवर्तीले बताए ।

कतिपय सिपिङ कम्पनीले नेपालसम्मै ढुवानीको जिम्मा लिने गरेका छन् । केही आयातकर्ताले अहिले पनि कोलकाता सीआईएफमा मालसामान मगाउने र त्यहाँबाट आफ्नै जिम्मेवारीमा ट्रकमा ढुवानी गर्दै आएका छन् । समयको बचतको व्यावसायिक लाभ आयातकर्ताले लिन सक्ने वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल बताउँछन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button