वीरगञ्ज भन्सारको विचित्र संसार : सानालाई ऐन ठूलालाई चैन, तेल प्रकरणमा मुछिएका जुनियर कर्मचारी जोगाउन डीजी फेर्ने खेल

वीरगञ्जको आईसीपी भन्सार पछिल्लो समयमा अनेक अनियमितता र आर्थिक अपचलनको पुलिन्दा बनेको छ । यो पुलिन्दा खुल्न गए यहाँका जुनियरदेखि सिनियर कर्मचारी तानिने भएपछि यस्ता प्रकरण सामसुम पार्न अहिले तीव्र चलखेल भइरहेका छन् ।



वीरगञ्जको भन्सार यतिखेर भ्रष्टाचारको अखडाजस्तै बन्न पुगेको छ । भर्खरैमात्र सतहमा आएको तेल प्रकरण एउटा नमूनामात्रै हो । यस्ता एकाध भ्रष्टाचारका नमूना बाहिरिए पनि उद्घाटन हुन बाँकी अनेक अनियमिततालाई ‘नोटको बिटोमुनि दबाएर राखिएको’ चर्चा भन्सारका अधिकारीहरु नै गर्दछन् ।



काम गरेको देखाउन आलुप्याज र फलफूलको काम गर्ने सामान्य कारोबारीलाई भन्सार आफैंले गरेको गल्तीमा कारवाहीको भागिदार बनाउने प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी भन्सारका विवादित कर्मकारीको संरक्षक बनेर उभिएका छन् । वीरगञ्ज भन्सारबाट तयारी पामोलिन तेललाई कच्चा भनेर जाँँचपास गरेका अधिकृत र जाँचकीलाई जोगाउन प्रमुख भन्सार प्रशासक नै हात घोएर लागेको चर्चा आईसीपी भन्सारमा आजकल चर्चाको विषय बनेको छ ।



स्वघोषित विशिष्ट व्यापारीमा दर्ज नेपाल उद्योग परिसंघका अध्यक्षसमेत रहेका राजेश अग्रवालको आरएमसी फुड्सले भित्र्याएको तयारी पामोलिन तेललाई कच्चा तेलको भन्सार सहुलियतमा पास गरिदिएपछि भन्सार विभागले अनुसन्धान थालेका अधिकृत सुनिता पौडेल र जाँचकी रमेश माझीमाथि भन्सार विभागले अनुसन्धान अगाडि बढाएपछि अनुसन्धान नै हुन नदिने खेलमा लागेका छन् ।
आईसीपी भन्सारबाट गत असार २५ मा १० प्रतिशत आयात महशुल तिरेर पास भएको घटनामाथि विभागले ३० असारमा पत्र काटेर अनुसन्धान थालेपछि पन्थीको निर्देशनमा ३१ असारमा छुट गरिएको ५ प्रतिशतलाई धरौटी बनाएर तिर्न लगाइएको थियो । भन्सार विभागले नमूना परीक्षण गर्दा त्यसमा ‘कच्चा पदार्थको चारित्रिक गुण नभएको’ प्रतिवेदन दिएको थियो । १० प्रतिशत तिर्दा व्यापारीलाई २२ लाख रुपैयाँ फाइदा भएको थियोे । विभागले चौबीस घन्टे पत्र काटेर खैलाबैला भएपछि हतारहतार तिराइएको थियो।
कतिसम्मको बदमासी भने विभागले परीक्षण गरेर कच्चा पदार्थ हो कि होइन यकिन भएपछिमात्र पास गर्नु भनेको तेललाई भन्सारका कर्मचारीले परीक्षणको रिपोर्ट नै नहेरी पास गरेका थिए । यदि उद्योगीले गलत घोषणा गरेको हो भने पहेलो लेनमा पास भएको त्यो कन्साइनमेन्टलाई २ सय प्रतिशत जरीवाना गराउनुपर्नेमा पन्थीले ५ प्रतिशत तिरे हुने किसिमले चाँजोपाँजो मिलाइदिएका थिए ।
पन्थी तिनै हाकिम हुन्, जसले केही दिनअघि वीरगञ्जबाट भित्रिएको लिचीमा भन्सार आफैले भरेको लिचीको प्रज्ञापनमा एउटा अंक गल्ती भरेको भेटेर आयातकर्तालाई ९ लाख रुपैयाँ जरीवाना तिराएका थिए । साना व्यापारीलाई पेलेर काम गरेको देखाउने, तर ठूला व्यापारीको दाहिना हुने प्रवृत्ति अहिले भन्सार कार्यालयदेखि विभागसम्म चर्चाको विषय बनेको छ ।
अनुसन्धान तुहाउन डिजी फेर्ने खेल
अहिले सरकार फेरिएकाले अर्थ मन्त्रालयको नेतृत्व पनि फेरिएको छ । यो बेला कर्मचारी सरुवाको सिजन पनि शुरु भएको छ । यो संक्रमणको अवस्थामा भन्सार विभागले अधिकृत पौडेल र माझीमाथि अघि बढाएको छानविन प्रभावित पार्न भन्सार विभागको एक तप्का लागि परेको छ ।
तेल प्रकरणको पुलिन्दा खुल्नासाथै लहरोले पहरो तान्ने स्थिति रहेकोले अनुसन्धान ढिसमिस पार्न लागिएको र यसका लागि भन्सारका केही उच्च पदाधिकारीहरु भन्सार विभागका महानिर्देशक ढुंडीप्रसाद निरौलाको सरुवा गराउन कम्मर कसेर लागेको चर्चा भन्सार विभागमा छ । त्यसका लागि वीरगञ्जबाट गएका केही कर्मचारी अर्थ मन्त्रालयमा अड्डा जमाएर बसेका बुझिएको छ ।
निरौलाले २४ घण्टेमा विभागमा तानेका कर्मचारी एमाले निकट कर्मचारी संगठनको कार्यकर्ता भएको र अहिले प्रधानमन्त्री र अर्थमन्त्रीसमेत एमालेकै भएकाले सो काण्डमा तानिएका कर्मचारीलाई कुनै कारवाही नहुने आँकलन गरिएको छ । बरु, डिजी कै सरुवा होला, कारवाही चैं हुनेवाला छैन, भन्सार विभागका एक निर्देशकले टिप्पणी गरे ।
सुशासनलाई एक मुख्य उद्देश्यभन्दै कांग्रेससँगको सहकार्यमा सत्तामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बचनमा पक्का दहरिन्छन् कि विगतमा झै भ्रष्टहरुको पक्षपोषणमा उत्रिन्छन्, त्यो भने हेर्न बाँकी छ ।
ललिता निवास जग्गा प्रकरणका कारण विवादमा मुछिएका अर्थमन्त्री पौडेलले देशको सबैभन्दा ठूलो भन्सारमा उद्घाटित भएको यो प्रकरणमा कस्तो भूमिका निभाउलान ? स्वतन्त्र छानविनलाई अघि बढाउन निर्देशन दिन्छन् कि डिजीलाई ठेगान लगाएर भए पनि आफ्ना कार्यकर्ता कर्मचारीको बद्मासीसँगै सति जान्छन्, त्यो पनि प्रतीक्षाकै विषय बनेको छ ।