भदौमा चौथो संस्करणको ‘स्पर्श म्युजिक भिडियो अवार्ड-२०२४’

स्पर्श मीडिया एण्ड इन्टरटेन्मेन्ट, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेजमेन्टले संयुक्त रुपमा आयोजना गर्ने चौथो संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड(२०२४ घोषणा गरिएको छ ।



आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत आगामी भदौको तेस्रो साता आयोजना हुने गरि यो अवार्ड समारोहको औपचारिक घोषणा गरिएको हो । कपनको मिट मास्टर्स रेष्टुराँमा आयोजित कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधिहरुले चौथो संस्करण यसअघिका संस्करणहरुभन्दा सभ्य, भव्य र उत्कृष्ट हुने बताएका छन् ।



आयोजक संस्था स्पर्श मीडिया एण्ड इन्टरटेन्मेन्टका प्रवन्ध निर्देशक तथा अभिनेता एसराज गराचले यो समारोहको पहिलो संस्करणदेखि नै यसलाई औपचारिक सम्मान समारोहभन्दा पृथक भव्य अवार्ड समारोहको रुपमा आयोजना गरिँदै आएको तथा चौथो संस्करणमा पनि त्यसलाई निरन्तरता दिने तयारी भैरहेको बताए ।



स्पर्श म्युजिक भिडियो अवार्डमा हरके वर्ष नेपाली फिल्ममा उत्कृष्ट योगदान दिने एक जना अभिनेत्रीलाई विशेष सम्मान गरिँदै आएको छ । पहिलो संस्करणमा अभिनेत्री मौसमी मल्ललाई ब्लक बस्टर क्विनको उपाधिले सम्मानित गरिएको थियो भने दोस्रो संस्करणमा अभिनेत्री शर्मिला मल्ललाई लिजेन्ड्री एक्ट्रेसको रुपमा सम्मानित गरिएको थियो । तेस्रो संस्करणमा भने अभिनेत्री विपना थापालाई ‘यूग नायिका’ को उपाधिले विभूषित गरिएको थियो । चौथो संस्करणमा प्रदान गरिने विशेष उपाधि केही समयपछि घोषणा गरिने आयोजक संस्थाले जनाएको छ ।