No Image Headlineअर्थमुख्य खबर

राजस्व अनुसन्धानमा बदमासी, विभागले काट्यो अनुसन्धान कार्यालय पथलैयालाई पत्र

कार्यालयको रेकर्डमै नराखी ८ ओटा गाडी छोडेपछि हंगामा

राजस्व चुहावट नियन्त्रणको नाममा राजस्व अनुसन्धान कार्यालय पथलैयाले राजमार्गमा समातेका गाडी कार्यालयको लगतमै नराखी ‘अपचलन’ गरेको आशंकामा राजश्व अनुसन्धान विभागले चासो देखाएको छ । विभागले अनुसन्धान कार्यालय पथलैयालाई ती गाडीको अनुसन्धान प्रतिवेदन पठाउन भनेको छ । जब कि, ती गाडी कार्यालयको रेकर्डमै नराखी छोडिएको खुलासा भएको छ ।

Patanjali Nepal
Sweet Mart Food

गत जेठ २३ गते राति साढे ११ बजेको समयमा बाराको अमलेखगञ्जबाट समातिएका ४ ओटा गाडी अनुसन्धान कार्यालयमा दर्ता नै नगरी भोलिपल्ट छोडिएको थियो । अधिकृत रेशम भण्डारी नेतृत्वको टोलीले समातेर ल्याएका गाडी उनैले छोडेको कागजमा देखिन्छ । भण्डारीको साथमा नासु टीका माझी पनि थिए । कार्यालयको रेकर्डमा नराखी आर्थिक अपचलन गरी छोडिएको भन्दै विभागमा उजुरी परेपछि विभाग स्पष्टीकरण सोध्न बाध्य भएको हो ।

त्यो दिन अमलेखगञ्जबाट ८ ओटा गाडी समातिएकोमा ४ ओटा कार्यालयमा ल्याइएको र अरु बाहिरबाटै छोडिएको बताइएको छ । विभागले ना ८ ख २००१, प्र ०२ ०३००१ च ६२०४, बीआर ०५ जी सी ८२९० र म प्र ०३००१ च ७८८२ नम्बरको गाडीमा के कैफियत देखिएको हो भन्दै विभागले त्यसको विवरण तत्काल पठाउन निर्देशन दिएको हो । प्रारम्भिक अनुसन्धानको प्रतिवेदन पनि पठाउन भनिएको छ ।

शुरुमा अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले यसबारेमा थाहा पाएर पनि मौन बसेकोमा बाहिरबाट चासो राखिन थालेपछि पत्र काट्न लगाएका थिए । विभागले यही असार २ गतेको पत्रमार्फत अनुसन्धान पथलैयासँग विवरण मागेको हो ।

कार्यालय हाताभित्र छिराएर पनि दर्तासमेत नगरी ती गाडीलाई गन्तव्यसम्म जाने लिखित अनुमति दिइएको पाइएपछि प्रश्न उठेको हो । अनुसन्धान कार्यालयका अधिकृत रेशम भण्डारीले समातेर ल्याएका गाडी उनैको हस्ताक्षरमा बाहिरिने अनुमतिको पत्र बनाइएको थियो । त्यसमा कुनै कारवाही, कैफियत र जरीवाना पनि तिराएको छैन ।

कार्यालयमा भित्रिइसकेको गाडी पुनः बाहिर पाउन त्यहाँ खटिएको सशस्त्र प्रहरीलाई देखाउनका लागि ती पत्र बनाइएको थियो ।

प्रधानमन्त्री कार्यालय मातहतमा रहेको राजस्व अनुसन्धान विभाग केही समययता राजस्व चुहावट नियन्त्रणभन्दा अनुसन्धानका नाममा व्यवसायीलाई तर्साएर पैसा उठाउने अड्डाको रुपमा चिनिन थालेको छ ।

प्रधानमन्त्री कार्यालयका उच्च पदाधिकारीलाई प्रभावमा पारेर अनुसन्धान विभाग र आर्थिक लाभका दृष्टिले आकर्षक मानिने पथलैया कार्यालयमा आउन कर्मचारीहरुको प्रतिस्पर्धा नै हुने गरेको स्रोतले बताएको छ । कर्मचारीले अवैध रुपमा असुल गरेको रकम अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढासहित प्रधानमन्त्री कार्यालयसम्म पुग्ने गरेको छ ।

सत्तासीनहरुलाई मोटो आर्थिक हिसाब बुझाएर आएपछि कर्मचारीहरु अनुसन्धानको आवरणमा अवैध असुलीमा लाग्ने गरेका छन् । गत जेठ २३ गते समातिएका गाडी कार्यालयको रेकर्डमै नराखी छोडिनु यसैको उपक्रम भएको राजस्व अनुसन्धानसम्बद्ध स्रोतले बताएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button