No Image Headlineदेश

क्याम्पस प्रमुख हत्याको विरोधमा चरणवद्ध आन्दोलन, आज कोलोपट्टी बाँधेर प्रदर्शन

माग पूरा नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी

बाराको कलैयास्थित श्री रामराजा (मो.वि.शाह) बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभूषण प्रसाद कुशवाहाको हत्या भएको घटनाप्रति गम्भीर आपत्ति प्रकट गर्दै बारा जिल्लाका सम्पूर्ण शैक्षिक संघसंस्थाहरूले दोषीलाई कडा कानूनी कारवाहीको माग गरेका छन् ।

आज बुधबार बाराका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा कालोपट्टी बाँधेर प्रदर्शन गरिएको छ । ती संस्थाहरुले चरणबद्ध आन्दोलनको घोषणासमेत गरेका छन् । गत जेठ ३२ गते साँझ बाराको आदर्श कोतवाल-३ बतरामा गोली प्रहारबाट क्याम्पस प्रमुख कुशवाहाको हत्या भएको थियो ।

त्यसयता शिक्षण सेवासम्बद्ध संघ संस्था र सो क्याम्पसका प्राध्यापकहरु हत्यारालाई कारवाहीको माग गर्दै आन्दोलित भएका छन् । घटनापछि प्रहरीले केही शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । गोली प्रहार भएलगत्तै घाइते अवस्थाका कुशवाहले फोनमार्फत गोली हान्ने व्यक्तिका बारेमा बाराका प्रहरी अधिकारीलाई जानकारी गराएका थिए । कुशवाहलाई वीरगञ्जको वयोधा अस्पतालमा ल्याएपछि मृत घोषित गरिएको थियो ।

यो हत्याले समग्र शिक्षण क्षेत्र मर्माहत भएको आन्दोलनरत संस्था र सरोकारका पक्षले बताएका छन् । यस घटनाले समग्र शैक्षिक क्षेत्रलाई असुरक्षित बनाउँदै लगेको भन्दै विभिन्न शैक्षिक संघसंस्थाहरूले दोषीलाई कारबाही र शैक्षिक क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन्।

हत्यामा संलग्ग्लाई कारवाहीको दायरमा ल्याउन माग गर्दै जारी गरिएको विज्ञप्तिमा सो क्याम्पसका कावा क्याम्पस प्रमुख निवेश तिमल्सिना, नेपाल शिक्षक संघका बारा जिल्ला अध्यक्ष राजकिशोर सहनी, नेपाल राष्ट्रिय शिक्षक संगठन बाराका अध्यक्ष सुरेन्द्र पासवान, एकीकृत अखिल नेपाल शिक्षक संगठन बाराका अध्यक्ष रोशन यादव, नेपाल शिक्षक मञ्च बारा अध्यक्ष नन्दकिशोर दुवे, संघीय शिक्षक फोरमका लालबाबु प्रसाद जयसवाल, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन बाराका सचिव किनु गुप्ता, एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुशवाह र प्याब्सन बाराका मनोप्रसाद यादवले हस्ताक्षर गरेका छन् ।

विहीबार चक डस्टर नचलाई अध्यापन गराउने, शुक्रबार क्याम्पसबाट मौन जलुश निकालेर कलैयाको भरतचोकमा विरोधसभा गर्नेलगायतका आन्दोलन घोषणा गरिएको छ । शैक्षिक क्षेत्रको सुरक्षा र न्याय सुनिश्चित गरिनुपर्ने कुरामा जोड दिँदै माग पूरा नभए थप कडा आन्दोलनका कार्यक्रमहरू अघि बढाउने चेतावनी समेत दिइएको छ।

प्रमुख मागहरू:

१. घटनामा संलग्न दोषीलाई यथाशिघ्र पक्राउ गरी कडा भन्दा कडा कारबाही गरियोस्।

२. मृतक क्याम्पस प्रमुख हरिभूषण प्रसाद कुशवाहाको परिवारलाई क्षतिपूर्ति दिइयोस्।

३. शैक्षिक क्षेत्रलाई सुरक्षित र सुनिश्चित बनाउन ठोस कदम चालियोस्।

४. शिक्षक र शैक्षिक संस्थाको सुरक्षाको प्रत्याभूति गरियोस्।

५. शिक्षण क्षेत्रलाई पूर्ण सुरक्षित बनाउन नयाँ कानुनको व्यवस्था गरियोस्।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button