No Image Headlineअन्तराष्ट्रिय

भारतमा रेल दुर्घटनामा १५ जनाको मृत्यु, एक्सप्रेस रेललाई मालबाहक रेलले ठक्कर दिँदा दुर्घटना

भारतमा सोमवार रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरी र रेलवे अधिकारीले बताएका छन् । दार्जिलिङ जिल्लाको फाँसीदेवा इलाकामा कञ्चनजङ्घा एक्सप्रेस रेललाई मालबाहक रेलले ठक्कर दिँदा दुर्घटना भएको हो ।

Patanjali Nepal
Sweet Mart Food

भारतको पश्चिम बङ्गाल राज्यमा भएको यो घटना भारतको रेल नेटवर्कमा परेको पछिल्लो घटना हो । यहाँबाट हरेक दिन लाखौं यात्रुहरू ओहोरदोहोर गर्छन् । भारतीय रेलवे बोर्डका अध्यक्ष जया वर्मा सिन्हाले एक विज्ञप्ति जारी गर्दै करीब ५० जना घाइते भएको र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको जानकारी दिएका छन् ।

सिन्हाले भने, ‘एउटा मालबाहक रेलले सिग्नललाई बेवास्ता गरेर पछाडिबाट रेललाई ठक्कर दिएको प्रारम्भिक अध्ययनले देखाएको छ ।’ मृत्यु हुनेमा चालक र सहचालक, रेलका गार्ड र पाँच जना यात्रु रहेको उनले पुष्टि गरे ।

प्रधानमन्त्री मोदी र मुख्यमन्त्री बनर्जीद्वारा समवेदना व्यक्त

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्ना प्रियजन गुमाएकाप्रति समवेदना व्यक्त गरेका छन् ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले दुर्घटनालाई ‘दुःखद’ भएको बताइन् । दुर्घटनाको केही क्षणपछि उनले ‘एम्बुलेन्स र डिजास्टर टिम’ घटनास्थलमा पुगेको र ‘युद्धस्तरमा उद्धारको काम’ गर्न आदेश दिएको बताएकी छन् ।

स्थानीय प्रहरी अधिकारी इफ्तिकार–उल–हसनले एएफपीसँग भने, ‘धेरै घाइतेलाई भग्नावशेषबाट बाहिर निकालिएको छ । अझै चार जना घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्छ ।’

दार्जिलिङका जिल्ला प्रहरी प्रमुख प्रवीण प्रकाशले उद्धार कार्य पूरा भएको र अहिले उद्धार टोलीले भग्नावशेष हटाउने काम गरिरहेको बताए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button