जी–७ को वक्तव्य ‘अहंकार, पूर्वाग्रह र झूट : चीन

आर्थिक शक्तिराष्ट्रहरूको समूह (जी–७) का नेताहरूले रूसमा हतियार नपठाउन चीनलाई चेतावनी दिएपछि बेइजिङले सोमवार यस सम्बन्धमा प्रतिक्रिया जनाएको छ ।



चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सोमवार जवाफमा उक्त वक्तव्यले ‘चीनमाथि निन्दा र आक्रमण’ गरेको बताएका हुन् ।



नियमित पत्रकार भेटघाटमा उनले भने, यसमा कुनै तथ्यगत, कानुनी आधार छैन, साथै यसको नैतिक औचित्य छैन र भनाइ अहंकार, पूर्वाग्रह र झूटले भरिएको छ ।



गत साता इटालीमा भएको जी–७ का नेताहरूको बैठकमा बेइजिङसँगको तिक्ततापूर्ण व्यापारिक सम्बन्धका साथै युक्रेन र दक्षिण चीन सागरको तनावलाई लिएर छलफल भएको थियो ।
शिखर सम्मेलनको अन्त्यमा जारी विज्ञप्तिमा भनिएको छ, चीनले युक्रेनमा रूसी युद्धलाई सहयोग पुर्याइरहेको र चीनले रूसलाई दोहोरो प्रयोग गर्ने युद्ध सामग्रीहरू पठाइरहेको छ ।
गत वर्षको शिखर सम्मेलनको तुलनामा कडा भाषा प्रयोग गर्दै जी–७ को वक्तव्यमा दक्षिण चीन सागरमा चीनको ‘सैन्यीकरण, बलजफ्ती र धम्कीपूर्ण गतिविधि’को पनि आलोचना गरिएको छ ।