वीरगञ्जमा गर्मीको कहर, बिहान १० बजेभित्रै पढाई सक्न महानगरले दियो निर्देशन

पर्साको वीरगञ्ज महानगरपालिकाले गर्मी बढेसँगै बिहान साढे १० बजेभित्रै पठनपाठन सक्न सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ ।



शिक्षणको समयावधिमा हुने बिदाको मिलान पछि गर्नेगरी अर्को सूचना जारी नभएसम्मका लागि जेठ २८ गतेदेखि बिहान साढे १० बजेभित्र पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्ने समयावधि व्यवस्थापन गर्न भनेको छ ।



महानगरले तराई–मधेश क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर गर्दै पठनपाठन बिहानै सक्न निर्देशन दिएको हो ।



बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै बिहानै कक्षा सञ्चालन गराउन निर्देशन दिएको महानगरले जनाएको छ । वीरगञ्ज महानगर क्षेत्रमा यसअघि वैशाख २० गतेदेखि बिहान ६ बजेबाट बिहानी सत्रमा पठनपाठन हुँदै आइरहेको थियो ।
साथै अत्यधिक गर्मीका कारण जेठ १६ गतेदेखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन बन्द गरिएको थियो । महानगरमा सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ १३८ विद्यालय छन् ।