No Image Headlineअन्तराष्ट्रिय

इजरेल-गाजा युद्ध : ४ इजरेलीलाई मुक्त गराउँदा दर्जनौं प्यालेष्टिनी मारिए, नेपाली बन्धकको अवस्था अझै अज्ञात

हमासद्वारा बन्धक बनाइएका चार जनालाई मुक्त गराइएपछि उनीहरूको परिवारसँग पुनर्मिलन भएको छ। तर उनीहरूलाई छुटाउन गरिएको इजरेली सैन्य कारबाहीमा दर्जनौँले ज्यान गुमाएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।

अक्टोबर ७ मा नोभा म्युजिक फेस्टिबलबाट बन्धक बनाइएका नोआ अरगामनी, अलमोग मीर जान, एन्द्रेइ कोजलोव र सलोमी जीव आठ महिनापछि शनिवार मुक्त भएका हुन्। इजरेली फौजहरूले हवाई हमला गरेका र नुसेरात क्षेत्रमा हमासविरुद्ध भीषण सङ्घर्ष गर्नुपरेको जनाइएको छ।

इजरेल डिफेन्स फोर्सेसका प्रवक्ताले उक्त कारबाहीलाई उच्च जोखिम भएको एउटा जटिल मिसन भनेका छन्। प्यालेस्टिनी अधिकारीहरूले आक्रमणमा कैयौँको ज्यान गएको बताएका छन्।

गाजाका अल अक्सा र अल अदा अस्पतालले आफूहरूले ७० वटा शव गनेको उल्लेख गरेका छन्। हमासको सरकारी सञ्चारमाध्यमले इजरेली आक्रमणका क्रममा अल नुसेरात शरणार्थी शिविरभित्र र बाहिर कम्तिमा २१० जना मारिएको उल्लेख गरेको छ।

इजरेलले १०० भन्दा कम हताहति भएको आकलन गरेको आइडिएफका प्रवक्ता डेनियल हगारीले बताए। उक्त क्षेत्रबाट आएका तस्बिरहरूमा भीषण गोलाबारी भएको देख्न सकिन्छ।

त्यहाँका अस्पतालहरूले बालबच्चासहित घाइतेहरू खचाखच रहेको जनाउँदै आफूहरू सबैलाई उपचार गर्नसक्ने अवस्थामा नरहेको बताएका छन्। अन्य तस्बिरमा मानिसहरूले मृतकहरूप्रति शोक व्यक्त गरिरहेको देख्न सकिन्छ।

हमाससँग गाजामा युद्ध सुरु भएको आठ महिनापछि भएको यो दुर्लभ बन्धक रिहाइ आइडीएफ, इजरेल सेक्युरिटि एजेन्सी र इजरेल प्रहरीको संयुक्त कारबाही भएको बताइएको छ।

आइडीएफका प्रवक्ताले उक्त कारबाही पक्का गुप्तचर सूचनाका आधारमा अघि बढाइएको भन्दै नुसेरात क्षेत्रका दुई अलग अलग भवनबाट बन्धकहरू रिहा गरिएको बताए। उनका अनुसार सो कारबाही गर्दा इजरेली फौजहरूमाथि हमला गरिएको थियो।

एक जना विशेष फौजका सदस्य गाजा बन्धक रिहाइका क्रममा घाइते भएका थिए र पछि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको इजरेलको प्रहरीले जनाएको छ। आइडिएफले रिहा भएका सबै बन्धकहरूको स्वास्थ्य राम्रो रहेको जनाएको छ।

पछि उनीहरूले परिवारका सदस्यलाई तेल अविवस्थित स्वास्थ्य केन्द्र नजिकै अङ्कमाल गरिरहेको तस्बिर समेत सार्वजनिक भएको थियो। इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरेली फौजहरूले रचनात्मक र बहादुरीपूर्वक कारबाही गरेको भन्दै प्रशंसा गरेका छन्।

हामी हाम्रो मिशन पूरा नभएसम्म छाड्ने छैनौँ र जीवित र मृतक सबै बन्धकहरूसहित घर फर्कनेछौँ, उनले भने। रक्षामन्त्री योआभ गालन्टले चार बन्धकहरूको रिहाइ गर्दा विशेष फौजमाथि भारी गोलाबारी गरिएको बताए।

इजरेली रक्षा संयन्त्रमा आफूले ४७ वर्ष सेवा गर्दा देखेको सबैभन्दा साहसिक र विशिष्ट कारबाहीका रूपमा गालन्टले त्यसलाई प्रस्तुत गरेका छन्।

दुई जना अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीको साझेदार सीबीएस न्यूजले जनाए अनुसार संयुक्त राज्य अमेरिकाले पनि इजरेललाई गुप्तचर सहयोग उपलब्ध गराएको थियो। तर अमेरिका उक्त कारबाहीमा संलग्न नभएको र गाजामा राहत वितरणका लागि समुद्रमा स्थापना गरिएको एउटा अस्थायी संरचनाको प्रयोग नगरिएको ती अधिकारीले जनाए।

रिहा भएकी नोआ अरगामनी चीनमा जन्मेकी इजरेली नागरिक हुन्। उनलाई नोभा फेस्टिभलबाट बन्धक बनाइएको थियो। अक्टोबर ७ को भिडिओमा उनलाई मोटरसाइकल पछाडि राखेर लगेको देख्न सकिन्छ। उनले आफूलाई नमार्न भन्दै चिच्याएकी थिइन्।

शनिवारको उद्धार कारबाही लगत्तै उनले आफ्ना बुवालाई अङ्कमाल गरिरहेको र मुस्कुराइरहेको भिडिओ प्रसारित गरिएको थियो। काजलोव सन् २०२२ मा रुसबाट इजरेल आएका थिए र उनी जीवसँगै उक्त समारोहको समयमा त्यहाँको सुरक्षा गार्डका रूपमा कार्यरत थिए।

जान आफू बन्धक भएको भोलिपल्टैबाट एउटा ठूलो प्रविधि कम्पनीमा काम थाल्न लागिरहेका थिए। बन्धकहरूको परिवारलाई प्रतिनिधित्व गर्ने एउटा समूहले त्यसलाई एउटा चमत्कारी उपलब्धि भन्दै उक्त साहसिक कारबाहीको लागि आइडिएफलाई धन्यवाद दिएको छ।

उक्त समूहले अझै बन्धक रहेका व्यक्तिहरू जुनसुकै अवस्थामा भए तापनि फिर्ता ल्याइने इजरेलको प्रतिबद्धता पनि सम्झाएको छ। इजरेलमा प्रसन्नता व्यक्त भए पनि तस्बिर र भिडिओहरूले अल नुसेरात शरणार्थी शिविर रहेको क्षेत्रमा विध्वंस, मानवीय क्षति र घाइतेहरूको अवस्थालाई देखाउँछ।

इजरेली आक्रमण मध्य गाजाका कैयौँ क्षेत्रहरूमा केन्द्रित थियो तर ४ बन्धक रिहाइ गरिएको स्थान नुसेरातमा सबैभन्दा बढी क्षति पुगेको छ। अल अक्सा अस्पतालको एउटा भिडिओमा घाइते कैयौँ मानिसहरू भुईँमा सुतिरहेको देख्न सकिन्छ भने अन्य भिडिओमा कार र एम्बुलेन्समार्फत बारम्बार नयाँ बिरामीहरू अस्पताल ल्याइएको देखाइएको छ।

हमासको सरकारी सञ्चारमाध्यमले उच्च जनघनत्व रहेको सो ठाउँमा गरिएको हमलामा ४०० जना घाइते भएको जनाएको छ। प्यालेस्टिनी राष्ट्रपति महम्मुद अब्बासले अल नुसेरात शरणार्थी शिविर भित्र र वरपर इजरेली फौजले गरेको रक्तपातपूर्ण नरसंहारबारे छलफल गर्न राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेका छन्।

युरोपेली आयोगका विदेश मामिला सम्बन्धी उच्च प्रतिनिधि जोसेफ बोरेलले एक्समा लेखेका छन्, गाजामा सर्वसाधारणको अर्को नरसंहार गरिएका खबरहरू भयावह छन्। हामी यसको कडा शब्दमा निन्दा गर्छौँ। यो तुरुन्तै रोकिनुपर्छ।

इजरेल र हमासबीच युद्ध विराम र बन्धक रिहाइसम्बन्धी सम्झौताको प्रयास भइरहँदा चार जना बन्धकहरूलाई सैन्य कारबाहीमार्फत फिर्ता ल्याइएको थियो। नेतान्याहूलाई सम्झौतामा पुग्न भनिएको छ तर उग्र दक्षिणपन्थी साझेदारहरूले बन्धकहरू फिर्ता ल्याउने एकमात्रै उपाय सैन्य कारबाही भएकोमा जोड दिइरहेका छन्।

शनिवारको कारबाही जारी युद्धमा बन्धकको उद्धारका लागि इजरेली सेनाले गरेको सबैभन्दा सफल प्रयास हो र यसले बढ्दो दबाबमा रहेका प्रधानमन्त्री नेतन्याहूको रणनीति बदल्न सक्ने ठानिन्छ।

शनिवारका लागि तोकिएको इजरेली मन्त्रिपरिषद्का युद्ध हेर्ने मन्त्री बेन्नी गान्त्सको पत्रकार सम्मेलनसमेत रद्द गरिएको छ। यसअघि उनले जुन ८ सम्म नेतन्याहूले युद्धपछिको योजनालाई जुन ८ सम्म अनुमोदन नगरे आफूले राजीनामा दिने चेतावनी दिएका थिए।

बन्धक उद्धारको अमेरिकी राष्ट्रपति बाइडनसहित फ्रान्स र जर्मनीका नेताहरूले स्वागत गरेका छन्। नुसेरातमा गरिएको कारबाहीपछि प्रतिक्रिया दिँदै हमासका राजनीतिक नेता इस्माइल हनियाले इजरेलले आफ्नो रोजाइ सो समूहमाथि लाद्न नसक्ने बताए। उनले प्यालेस्टिनीहरूको सुरक्षा सुनिश्चित नभएसम्म सो समूहले युद्ध विराम स्वीकार नगर्ने बताएका छन्।

नेपाली बन्धकको अवस्था के छ ?

दक्षिण इजरेलमा अक्टोबर ७ मा गरेको आक्रमणमा हमासले १२ सय जनाको ज्यान लिएको थियो भने करिब २५१ जनालाई बन्धक बनाएको थियो। अझै करिब ११६ जना प्यालेस्टिनी भूभागमा रहेको बताइन्छ जसमा ज्यान गुमाएको भनेर सेनाले भनेका ४१ जना पनि पर्छन्।

नोभेम्बरमा भएको एउटा सम्झौता अन्तर्गत एक साता लामो युद्ध विराम र इजरेली जेलमा रहेका २४० बन्दीको सट्टा १०५ जना बन्धक रिहा गरिएका थिए। हमास समूहले बन्धक बनाएर गाजा लगेका व्यक्तिहरूमा कृषि अध्ययनका लागि इजरेल पुगेका नेपाली विद्यार्थी विपिन जोशी पनि छन्।

उनी अझै सम्पर्कविहीन नै रहेको र उनको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको नेपाली अधिकारीहरूले बताउने गरेका छन्।

केही समय पहिले कतारका अमिरले नेपालको भ्रमण गर्दा इजरेल र गाजाबीचको युद्ध अन्त्य गराउन भूमिका खेलिरहेको सो खाडी देशका सरकार प्रमुखलाई नेपालले जोशीको रिहाइमा पनि सहयोग गरिदिन अनुरोध गरेको थियो। शनिवार हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले गाजामा मृतकको सङ्ख्या ३६,८०१ पुगेको जनाएको छ। बीबीसी नेपाली

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button