No Image Headlineदेशविशेष

बजेटमा सत्तापक्षकै दन्तबझान, भुसको आगोझै सल्किँदै छ असन्तुष्टि

Patanjali Nepal
Sweet Mart Food

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर नयाँ सत्ता समीकरण बनाएको तीन महिनामै असन्तुष्टि देखिन थालेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा बिना सल्लाह ल्याएको भन्दै एमालेले असन्तुष्ट बढेपछि गठबन्धनभित्र अविश्वास बढेको हो ।

सत्ता समीकरणको सबैभन्दा ठूलो घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट माओवादीतिर ढल्किएको टिप्पणी गरेका थिए। जुन कुरा प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पुनसहित माओवादी नेताहरू स्वीकार्न तयार छैनन् ।

ओलीको यो अभिव्यक्तिलाई लक्षित गर्दै अर्थमन्त्री पुनले बुधवार बजेट माओवादीतिर नभई जनतातिर ढल्केको जवाफ दिए । उनको भनाइ थियो, ‘सरकारले ल्याएको बजेट कतै पनि ढल्किएको छैन। नेकपा माओवादी केन्द्र, निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी छन्। यथार्थ होइन। मैले ल्याएको आगामी आर्थिक वर्षको बजेट जनतातिर ढल्केको छ।’

 

त्यसो त गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि सुरुआती चरणदेखि नै सन्तुष्ट छैन। उसले आफूलाई प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा भए पनि अपमानजनक व्यवहार गर्दै गएको निष्कर्ष निकालेको छ।

यद्यपि, यो गठबन्धनको विषयमा नेकपा एसभित्र पनि विमति छ। बजेट सन्तुलन नभएको भन्दै उसले पनि निरन्तर प्रश्न उठाउँदै आइरहेको छ। त्यसमा ओलीको अभिव्यक्तिको विषयलाई उल्लेख गर्दै बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले यो बजेट केही महिनापछि कांग्रेसले नै काँध हाल्नुपर्ने अवस्था आउन सक्ने टिप्पणी गरेका थिए।

उनको भनाइ थियो, ‘म बोल्ने कसरी भनेर अलमलिएको छु। यो बजेटमा केही मिल्दैन भनेर बोल्नुपर्ने हो। त्यसरी बोलौँ यति धेरै उथलपुथल भएको छ संसदमा ६र८ महिनापछि यो बजेट हामीले नै काँध हाल्नुपर्ने हो कि ? आफ्नै बोली गलपासो हुने हो कि ? त्यसैले मैले अर्थमन्त्रीलाई सामान्य प्रश्न मात्रै सोध्छु।’

गगनको यो टिप्पणीपछि एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले पशुपतिमा जतिसुकै धूप अक्षता गरे पनि सरकार नढल्ने भन्दै प्रतिवाद गरेका थिए। जवाफमा भनेका थिए, ‘हामीले बजेटमाथि आफ्नो धारणा राख्ने कुनै बिर्को लगाएका छैनौँ। प्रतिपक्षमा बसेका साथीहरूले चिन्ता गर्नुभयो। केही महिनापछि नै बजेट नै आफैँले बोकेर हिँड्नुपर्ने परिस्थिति आइहाल्ला कि त्यस कारण आलोचना नगरौँ प्रश्न मात्रै गरौँ भन्ने कोणबाट पनि कुरा आए। म भन्न चाहन्छु, यो सत्ता समीकरण त्यति कमजोर डोरीबाट बनेको छैन। माननीयज्यूहरूले पशुपतिमा जुन प्रकारले धूप अक्षता गरेर यो सरकार आजै ढलोस्, भोलि ढलोस् जे चाहिरहनुभएको छ।’

तर, बजेटको विषयमा आफ्नो पार्टीका असहमति भएको एमालेका महासचिव शंकर पोखरेलले भने स्वीकारे। च्यासलमा आयोजित कार्यक्रममा भने, ‘यो समीकरणलाई मिसन ०८४ सम्मलाई निरन्तरता दिन चाहन्छौँ। त्यसैले बीचमा दायाँबायाँ हुने अवस्था छैन। यो बीचमा केही गर्छौँ कि भन्न मनसाय छैन। ०८४ सम्म जानको लागि यो सरकारले जनताको अपेक्षा अनुसार मुलुकको संकटलाई समाधान गर्ने हिसाबले प्रभावकारी होस् भन्ने हाम्रो चिन्ता हो।’

उनले बजेट जनताको पक्षमा खरो रूपमा उत्रिएकाले आफूहरूले प्रश्न उठाएको बताए। उनले थपे, ‘जनताको अपेक्षामा खरो उत्रियो भन्ने चाहेका छौँ। बजेट निर्माणमा त्यो कुरामा चाहिँ ख्याल पुगेन कि ध्यान गएन कि, सत्ता साझेदार दलहरूसँग पर्याप्त परामर्श गरेका भए कमी कम हुन्थ्यो कि भनेका हौँ। यसलाई असहमति मान्नुहुन्छ भने असहमति पनि हो। सुझाव मान्नुहुन्छ भने सुझाव पनि हो।’

बजेटमाथिको छलफल र टीकाटिप्पणी सरकारको विरोध नभएको उनको जिकिर छ। सरकारलाई सफल बनाउनको लागि रचनात्मक सुझाव दिएको उल्लेख गर्दै सरकारलाई कमजोर बनाउने उद्देश्यले नभएको प्रष्ट पारे।

बजेटको विषयमा एमालेले प्रश्न उठाएको भए पनि गठबन्धनमा कुनै समस्या नभएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए। उनले भने, ‘बजेटको विषयमा सामान्य कुरा उठेका हुन्। यसले गठबन्धनमा कुनै समस्या आउँदैन।’

एमाले नेताहरूले भनेझैँ सल्लाह नै नगरी बजेट ल्याएको कुरामा सत्यता नभएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए।
उनी भन्छन्, ‘त्यो उहाँले कसरी भन्नुभयो हामीलाई जानकारी भएन। तर, सल्लाहमै आएको हो। समझदारीमा बजेट नआएको भए भौतिक मन्त्रालयमा सबैभन्दा धेरै कसरी हुन्छ। पोहोरको भन्दा दोब्बर छ।’

एमाले र माओवादीबीच बजेटको विषयलाई लिएर असन्तुष्टि बढिरहेको बेलामा गठबन्धनको अर्को घटक राष्ट्रिय स्वतन्त्र पार्टी भने ओलीले शिक्षामन्त्री सुमना श्रेष्ठलाई गरेको टिप्पणी प्रति रुष्ट छ।

ओलीले केही समयअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, मन्त्री श्रेष्ठसहित पार्टीका सांसदहरूले पनि सदनमा समेत यो कुरा उठाइसकेको छ। यद्यपि, यो विषयलाई रास्वपाले विपक्षी मोर्चामा भएजस्तो गरेर उठाउन सकेको छैन।

यही प्रसङ्गलाई लिएर आज कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री बोल्न समेत नसकेको भन्दै कटाक्ष गर्न भ्याए। उनले सदनमा भने, ‘गृहमन्त्री बोल्न सक्नुभएको भए शिक्षा मन्त्रीउपरको शब्द फिर्ता लिनुस् पूर्वप्रधानमन्त्रीज्यू उहाँले दमदार ढंगले भन्न सक्नुहुन्थ्यो। नम्रतापूर्वक पनि उहाँले भन्न सक्नुभएन। विवाह कसले को सँग गर्ने त्यो कुरा व्यक्तिको नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा हो।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button