खबर फटाफट
राम–जानकीलाई ‘वेडिङ हब’ र लुम्बिनीलाई ‘बर्थिङ हब’

सरकारले नेपाललाई विवाह गन्तव्यको रूपमा विकास गर्ने कार्यक्रम ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ का बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमको घोषणा गरेका हुन् ।



“नेपालमा वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिनेछ,” अर्थमन्त्री पुनले भने । यस कार्यक्रमअन्तर्गत राम जानकीको विवाहस्थल जनकपुरलाई ‘वेडिङ हब’ को रूपमा विकास गरिने छ ।



यस्तै, गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई ‘बर्थिङ हब’को रूपमा प्रवर्द्धन गरिने अर्थमन्त्री पुनले बताए । सरकारले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक नेपाल भित्राउने गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।



नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्द्धनका लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरिने पनि अर्थमन्त्री पुनले बताए । पर्यटकलाई एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने उनले जनाए ।