
नागरिकता दुरुपयोगको उजुरीमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। काठमाडौंबाट मङ्गलवार नियन्त्रणमा लिएर प्रहरीले सिरोहियालाई राति नै धनुषा पुर्याएको थियो। उनलाई बुधवार म्याद थपका लागि अदालतमा पेस गरिएको थियो।



प्रहरीले सिरोहियालाई उनकै कार्यकक्षबाट पक्राउ गरेको विषयमा मिडिया सम्बद्ध विभिन्न सङ्घसंस्थाले आपत्ति जनाएका छन्। नागरिकताबारे सिरोहियाविरुद्ध परेको उजुरीबारे अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीले धनुषा जिल्ला अदालतबाट अनुमति लिएको थियो।



सिरोहियाले नागरिकता दुरुपयोग गरेको भन्दै वैशाख तेस्रो साता प्रहरीमा जाहेरी परेको थियो। जाहेरी दिने व्यक्ति गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता भएको विवरण विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।



कुनकुन संस्थाले गरे विरोध ?
सिरोहियालाई पक्राउ गरिएको विषयमा विभिन्न सङ्घसंस्थाले विरोध जनाएका छन्। कान्तिपुरसहित काठमाडौंबाट प्रकाशन हुने कैयौँ दैनिक पत्रिकाहरूले पहिलो पृष्ठमा कालो पृष्ठभूमिमा तथ्य डग्दैन कलम झुक्दैन लेखिएको सामग्री छापेका छन्।
नेपाल पत्रकार महासङ्घ, नेपाल मिडिया सोसाइटी, सामुदायिक रेडियो प्रसारक सङ्घ, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लगायतका सञ्चार तथा नागरिक समाजसम्बद्ध संस्थाले सिरोहिया पक्राउको विरोध जनाएका छन्।
कान्तिपुरका अध्यक्ष सिरोहियाले कानुनअनुसार हुने अनुसन्धानमा आफूले सहयोग गर्ने बताइरहँदा पनि गृहमन्त्री र सरकारले प्रतिशोधको भावनाबाट प्रेरित भएर पक्राउ गरिएको आरोप लगाएका छन्।
उनले गृहमन्त्री समेत संलग्न भएको आरोप लाग्दै आएको सहकारी ठगी प्रकरणमा कान्तिपुरले प्रकासन गरिरहेका समाचारको प्रतिशोधका कारण आफूलाई पक्राउ गरिएको दाबी गरेका छन्।
पछिल्लो समय कान्तिपुर दैनिकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समेत नाम जोडिएको भन्दै सहकारी ठगीसम्बन्धी विषयमा शृङ्खलाबद्ध समाचार प्रकाशन गर्दै आएको छ।
पक्राउ गर्नुको कारणबारे प्रहरीको प्रष्टोक्ति
प्रहरीले यसअघि अदालतमा पेस परेको विवरणमा सिरोहियाकै नाममा रहेको नागरिकता अर्का व्यक्तिको नाममा समेत पाइएको उल्लेख छ।
उनलाई पक्राउ गर्नुको कारण खुलाउँदै प्रहरीले पेस गरेको अर्को कारणमा जिल्ला प्रशासन कार्यालय धनुषाको अभिलेखमा सिरोहियाका दाजु र दिदीहरूको नागरिकता अङ्गीकृत रहेको पाइएको र उनको जन्मसिद्ध नागरिकता रहेको देखिएको उल्लेख छ।
प्रहरीले सिरोहियाको नागरिकताको प्रतिलिपिमा जन्ममिति किर्ते गरेर पछि थप गरिएको आशङ्का गरेको छ। साथै जन्ममिति र नागरिकता लिँदाको उमेर पनि मेल नखाएको प्रहरीको आरोप छ। साथै उनले नागरिकता लिँदा पेस गर्नुपर्ने कागजपत्रहरूको अभिलेख फेला नपरेको प्रहरीको जिकिर छ।
यद्यपि सिरोहियाले आफूले वंशज नागरिकता लिएको तर त्यसबारे देखिएका कमजोरी प्रशासनको त्रुटिका कारण भएको हुन सक्ने भन्दै त्यसमा आफ्नो दोष नरहेको दाबी गर्दै आएका छन्।
आफ्नो नागरिकताबारे उजुरी परेको समाचार सार्वजनिक भएलगत्तै सिरोहियाले आफूविरुद्ध धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा त्यसलाई रोकिपाऊँ भन्दै रिट निवेदन दायर गरेका थिए।
त्यसमा सुनुवाइ गर्ने क्रममा सर्वोच्च अदालतले गृह मन्त्रालय र नेपाल प्रहरीसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्नाका कारण माग गरेको थियो।
को हुन् कैलाश सिरोहिया ?
धनुषामा जन्मिएका सिरोहिया नेपालको अग्रणी र सबैभन्दा ठूलोमध्येको निजी सञ्चार संस्थाका प्रकाशक हुन्।
उनी अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रूपले कान्तिपुर दैनिक, द काठमाण्डू पोस्ट, कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुर, सहितका सञ्चारमाध्यम सञ्चालन गर्दै आएको छ।
यसअघि कान्तिपुरमा कार्यकारी भूमिकामा रहेका सिरोहियाले गतवर्ष आफ्ना जेठा छोरा सम्भव स्वाँर सिरोहियालाई प्रबन्ध निर्देशकको जिम्मेवारी सुम्पिएर आफू अभिभावकीय भूमिकामा रहने घोषणा गरेका थिए।
यसअघि दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र राजा बनेको समयमा कान्तिपुर दैनिकमा तात्कालिक माओवादी नेता डा बाबुराम भट्टराईको लेख प्रकाशित गरेपछि सिरोहिया तात्कालिक प्रधानसम्पादक युवराज घिमिरेसँगै पक्राउ परेका थिए। उनी फर्निचर व्यवसायबाट सञ्चारउद्योगमा संलग्न भएको बताइन्छ।