खेल संसार

सिटी लगातार च्याम्पियन

Patanjali Nepal
Sweet Mart Food

म्यानचेस्टर सिटीले नयाँ इतिहास रच्दै आइतबार इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । सिजनको अन्तिम दिन सिटीले वेस्ट ह्यामलाई ३–१ ले हरायो र लगातार चौथोपल्ट लिग उपाधि जितेको हो । त्यसमा फिल फोडेनले दुई गोल गरे ।

इंग्लिस फुटबलको अहिलेसम्मकै इतिहासमा कुनै पनि टिमले माथिल्लो डिभिजनको उपाधि लगातार चौथोपल्ट जितेको यो नै पहिलो पटक हो । यो जितपछि पेप ग्वार्डिओलाको सिटीको ९१ अंक भयो ।

उपाधिको रक्षा गर्नका लागि सिटीलाई जित पर्याप्त रह्यो । अन्तिम दिनसम्म चुनौती कायम राखेको आर्सनल भने ८९ अंकमै रोकियो । उसले एभरटनलाई २–१ ले पराजित गरेको हो ।

सिटी पराजित भएको भए आर्सनलले उपाधि आफ्नो बनाउने सम्भावना थियो । तर भाग्य फेरि एकपल्ट उसको पक्षमा रहेन । तेस्रो स्थानमा रहेको लिभरपुलले दस खेलाडीमा सीमित उल्भ्सलाई २–० ले हरायो र ८२ अंकसँगै लिगमा पूर्णविराम लगायो ।

यो व्यवस्थापक योर्गन क्लोपका लागि लिभरपुलको अन्तिम खेल रह्यो । सिजनको अन्त्यसँगै क्लोपले लिभरपुल छाड्ने यसअघि नै घोषणा गरिसकेका थिए । अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा छनोट भइसकेको एस्टन भिल्ला भने क्रिस्टल प्यालेसको हातबाट अविश्वसनीय रूपमा ५–० ले पराजित रह्यो ।

तर यो नतिजाले भिल्लाको चौथो स्थानलाई धक्का पुगेन । भिल्ला ६८ अंकमा रह्यो । टोटनहमले भने सेफिल्ड युनाइटेडलाई ३–० ले हराएर पाँचौं स्थान निश्चित गर्‍यो ।

यससँगै टोटनहम अर्को सिजनको युरोपा लिगका लागि छनोट भयो । टोटनहमको ६६ अंक भएको छ । उसको पछाडि चेल्सी ६३ अंकमा रह्यो । चेल्सीले भने बर्नमाउथमाथि २–१ को जित रच्यो ।

यस्तै न्युकासल युनाइटेड सातौं र म्यानचेस्टर युनाइटेड आठौं स्थानमा रहे । दुवै टिमको समान ६० अंक रह्यो । न्युकासल गोल अन्तरमा अगाडि रह्यो । न्युकासलले ब्रेन्टफोर्डलाई ४–२ ले पराजित गर्‍यो भने युनाइटेडले ब्राइटनलाई २–० ले पन्छायो ।

पुछारका तीन स्थानमा रहेर लुटन टाउनसँगै बर्नली र सेफिल्ड रेलिगेसनमा परे । यससँगै पछिल्लो सिजन बढुवा पाएका तीनै टिम यसपल्ट रेलिगेसनमा परेका छन् । लुटन रेलिगेसनमा पर्ने औपचारिकता फुलहमसँग ४–२ को हारसँगै पूरा भएको हो ।

बर्नली भने नटिङघम फरेस्टसँग २–१ ले पराजित रह्यो । भाग्यमानी फरेस्ट ३२ अंकमा पुछारबाट चौथो स्थानमा रह्यो र प्रिमियर लिगमा आफ्नो अस्तित्व बनाउन सफल रह्यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button