
वीरगंज महानगरले चालु वर्षको १० महीनामा करीब ४० करोड रुपैयाँ राजस्व उठाएको छ । वीरगंज महानगरपालिका राजस्व महाशाखाले चालू आव २०८०/८१ को वैशाख मसान्तसम्म ३९ करोड ८० लाख ३४ हजार ११९ रुपैयाँ राजस्व सङ्कलन गरेको राजस्व महाशाखा प्रमुख मनोज कर्णले बताए ।



गत वर्षको यसै महीनासम्म महानगरले रु ३६ करोड ६१ लाख ३६ हजार ९० राजस्व सङ्कलन गरेको थियो । गत वर्षको तुलनामा चालू आवमा महानगरले रु तीन करोड १८ लाख ९८ हजार २९ बढी राजस्व सङ्कलन गरेको महाशाखा प्रमुख कर्णले बताए ।



महानगरले सम्पत्तिकरबाट चालू आवको वैशाखसम्म रु १३ करोड ९३ लाख ६२ हजार ९७१, भूमिरमालपोत करबाट रु ७७ लाख ९६ हजार ११०, घरबहाल करबाट रु चार करोड ९६ लाख ७५ हजार ३६५, बहाल बिटौरी करबाट रु १५ लाख ४१ हजार, सवारीसाधन साना सवारी करबाट रु २२ लाख १८ हजार ९३०, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु दुई करोड सात लाख ९२ हजार ९६० उठेको छ ।



बाँडफाडबाट प्राप्त हुने विज्ञापन करबाट रु ३९ लाख ३४ हजार ५२५, अन्य मनोरञ्जन करबाट रु पाँच लाख ५० हजार ५३३, व्यवसाय रजिस्टेशन दस्तुरबाट रु दुई करोड छ लाख ८१ हजार ८८०, अखेटोपहारमा लाग्ने करबाट रु एक करोड ९४ लाख ६० हजार, सरकारी सम्पत्ति बहालकरबाट रु तीन करोड २६ लाख ४४ हजार ३४, अन्य स्रोतबाट प्रँप्त बाँडफाड नहुने रोयल्टीबाट रु ८२ लाख ८० हजार, निजी धाराको शुल्कबापत रु एक लाख २८ हजार ९९०, अन्य सेवा शुल्कबाट रु दुई करोड ४१ लाख ४३ हजार २५९ संकलन भएको छ ।
अन्य प्रशासनिक सेवा शुल्कबाट रु २७ लाख १३ हजार ८६५, नक्शापास दस्तुरबाट रु दुई करोड ९२ लाख चार हजार ५६६, सिफारिश दस्तुरबाट रु दुई करोड छ लाख ५९ हजार २१५, व्यक्तिगत घटना दस्तुरबाट रु २७ लाख ४५ हजार ७८०, नाता प्रमाणित दस्तुरबाट रु १८ लाख ७९ हजार ६२०, अन्य दस्तुरबाट रु पाँच लाख ३२ हजार ६७०, बेरुजू रु ३७ लाख ५५ हजार १५२ गरी रु ३९ करोड ८० लाख ३४ हजार १९९ राजस्व सङ्कलन भएको राजस्व महाशाखा प्रमुख कर्णले बताए ।
वीरगंज महानगरपालिकाले चालू आवमा रु ७५ करोड राजस्व सङ्कलनको लक्ष्य लिएको छ । आगामी दुई महीनामा सो लक्ष्य पूरा गर्ने दायित्व महानगरमा रहे पनि आर्थिक मन्दीका कारण राजस्व सङ्कलन प्रभावित हुने देखिएको छ । दुई महीनामा लगभग रु ६० करोड राजस्व सङ्कलन हुने अनुमान गरिएको छ । गत वर्ष पनि लक्ष्य पूरा हुन सकेको थिएन भने यस वर्ष पनि लक्ष्य पूरा हुने सम्भावना न्यून छ ।