No Image Headlineअर्थ

सरकारको कमजोर खर्च क्षमता, १० महीनामा बजेट खर्च ६० प्रतिशत

चालू आर्थिक वर्षको १० महीनामा सरकारको बजेट ६० दशमलव ३५ प्रतिशत मात्र खर्च भएको छ । सरकारले चालू आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । वैशाख मसान्तसम्ममा चालूतर्फ वार्षिक विनियोजनको ६५ दशमलव ९१ प्रतिशत खर्च भएको छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् १० खर्ब ५६ अर्ब ८९ करोड २४ लाख रुपैयाँ खर्च भएको छ ।

चालू शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ विनियोजन भएकोमा हालसम्म सात खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख रुपैयाँ खर्च भएको छ । पूँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रुपैयाँ विनियोजन भएको थियो ।

वैशाख मसान्तसम्ममा वार्षिक लक्ष्यको ३७ दशमलव शून्य ४ प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ८८ करोड २९ लाख रुपैयाँ खर्च भएको छ । त्यसैगरी वित्तीय व्यवस्था शीर्षकमा ६२ दशमलव ६ प्रतिशत खर्च भएको छ । यो शीर्षकमा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख रुपैयाँ विनियोजन भएको थियो, जसमध्ये वैशाख मसान्तसम्ममा एक खर्ब ९२ अर्ब ४५ करोड २२ लाख बराबर खर्च भएको छ ।

सो अवधिको कुल सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ५८ दशमलव दुई प्रतिशत छ । चालू आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेको छ । वैशाख मसान्तसम्ममा आठ खर्ब ५७ अर्ब दुई करोड ८० लाख रुपैयाँ असुली भएको छ ।

कर राजस्वतर्फ १३ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख रुपैयाँ वार्षिक लक्ष्य रहेकोमा हालसम्म ५७ दशमलव २१ प्रतिशत अर्थात् सात खर्ब ४६ अर्ब ८३ करोड २८ लाख रुपैयाँ उठेको छ । गैरकर राजस्वतर्फ एक खर्ब १७ अर्ब ६ करोड २१ लाख रुपैयाँ संकलनको लक्ष्य रहेकोमा ७२ दशमलव सात प्रतिशत अर्थात् ८५ अर्ब १० करोड चार लाख रुपैयाँ असुली भएको छ ।

यसैगरी ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकोमा हालसम्म लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख रुपैयाँ अनुदान लिइएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button