अर्थदेशमुख्य खबर

तस्करीको अखडा बन्दै मुख्य नाका वीरगञ्ज : एक महीनामै ६ करोडको समान बरामद, गन्तव्यमा कति पुग्यो ?

देशको मुख्य वीरगञ्ज नाका रहेको पर्सामा प्रहरीले बितेको १ महीनामा जिल्लाका विभिन्न स्थानबाट ६ करोड रुपैयाँभन्दा बढीको तस्करीका मालसामान बरामद गरेको छ । पछिल्लो समयमा सीमावर्ती क्षेत्रका भारतीय बजारबाट नेपालतर्फ अवैध आयात बढेको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाका अनुसार प्रहरीले गत वैशाखमा मात्रै ६ करोड १३ लाख ६८ हजार रुपैयाँ बराबरको मालसामान नियन्त्रणमा लिएर अनुसन्धानका लागि सरोकारवाला निकायमा पठाइएको छ । डीएसपी थापाका अनुसार सो अवधिमा लत्ताकपडा, खुद्रा सामान, किराना, औषधी तथा इलेक्ट्रोनिक्स सामान पक्राउ गरिएको छ ।

स्वदेशी बजारमा भन्दा भारतीय सीमावर्ती बजारमा यस्ता मालसामान सस्तो पाइने र आयातमा उच्च भन्सार दर तोकिएका कारण अवैध आयात भएको दाबी जानकारको छ ।

प्रहरीले पक्राउ परेका मालसामानबारे प्रारम्भिक अनुसन्धानपछि विस्तृत अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय र वीरगञ्ज भन्सार कार्यालयमा पठाएको बताएको छ ।

प्रहरीले बितेको १ महीनामा जिल्लाबाट १ लाख २३ हजार रुपैयाँ नक्कली नोटसमेत बरामद गरेको छ । उक्त अवधिमा ३५ लाख २० हजार ७ सय रुपैयाँसहित ३ जना हुण्डी कारोबारीलाई पनि समातिएको थापाले बताए । पछिल्लो समय घटेका यी घटनाले पर्सा अवैध कारोबारको ‘अखडा’ बनेको देखाएको छ ।

प्रहरीले यही अवधिमा कैद फैसला कार्यान्वयनदेखि फरार व्यक्ति पक्राउ, लागू औषध पक्राउ, चोरी भएका मोबाइल फेला पारेर बुझाइएकोसमेत आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button