No Image Headlineअर्थमुख्य खबरविशेष

राजस्व नीतिमा उल्टो यात्रा १ : स्वदेशी बजारमा तस्करीको रजगज, बन्द हुन्दै स्वदेशी चुइँगम उद्योग

Thrill Factory
Rungta Group

उद्योगले आयात गर्ने कच्चा पदार्थमा सरकारले उच्च दरको भन्सार महशुल लिन थालेपछि सीमावर्ती क्षेत्रबाट भारतीय चुइङगमको अवैध आयात बढेको उद्योगीले बताएका छन् । अधिक उत्पादन लागतका कारण यसका स्वदेशी उद्योग भने धराशयी हुने अवस्थामा पुगेको उद्यमीको गुनासो छ ।

भन्सारबाट बढी राजस्व उठाउने नीतिले स्वदेशी उद्योग संकटमा पर्नु विडम्बना भएको वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम बताउँछन् । स्वदेशी बजारमा अवैध आयातले कब्जा जमाएपछि स्थानीय उद्योगमा ताला लगाउने अवस्था आएको गुनासो उद्योगीहरूको छ ।

भन्सारले गतवर्षदेखि चुइङगम उद्योगको मुख्य कच्चा पदार्थको एचएस कोड परिवर्तन गरी बढी महशुल लिन थालेको हो । यसअघि ‘र गम’ उल्लेख भएर आउने कच्चा पदार्थलाई भन्सार विभागले ‘गम बेस’मा वर्गीकरण गरी बढी राजस्व तिराउन थालेपछि स्वदेशी उद्योगमाथि संकट छाएको  उद्यमी बताउँछन् ।

यसअघि ५ प्रतिशत भन्सार राजस्व तिरेर भित्त्याउने गरिएको कच्चा पदार्थलाई अहिले ३० प्रतिशत महशुल तिर्नु परेपछि उत्पादन चौपट भएको उद्योगी निरञ्जन अग्रवालले बताए । ‘सरकारले कच्चा पदार्थको वर्गीकरण नै परिवर्तन गरी बढी राजस्व लिन थालेपछि उद्योगमा ताला लगाउने अवस्था आएको छ । विगतका वर्षहरूमा होली पर्वको बेला विक्री बढ्ने गरेकोमा यस वर्ष अहिलेसम्म यो पर्वलक्षित माग आएको छैन,’ अग्रवालले भने ।

गम बेस आयात गर्दा ३० प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्य अभिवृद्धिकर तिर्नुपरेको आयातकर्ता बताउँछन् । भारतबाट आयात हुने तयारी चुइङगममा २८ दशमलव ५ प्रतिशत भन्सार महशुल तोकिएको छ । खुला सिमानाको दुरुपयोग गरेर चुइङगम अवैध रूपमा भित्रिने गरेको व्यवसायीको दाबी छ ।

कच्चा पदार्थमा उच्च भन्सार महशुल र तयारी चुइङगमको अवैध आयातका कारण प्रतिस्पर्धा गर्न नसकिएको उद्योगी बताउँछन् । भन्सार विभागले गरेको कच्चा पदार्थको वर्गीकरण नै गलत भएको र यसबाट मुख्य कच्चा पदार्थको लागत बढी परेको उद्योगीको भनाइ छ ।

भारतको तुलनामा कच्चा पदार्थ, ढुवानी, श्रम र पूँजी सबै लागत महँगो भएकाले भन्सार छलेर भित्रिएको चुइङगमसँग प्रतिस्पर्धा गर्न नसकिएको अग्रवालले बताए । वीरगञ्ज, विराटनगर, पोखरा र बनेपामा यस्ता आठओटा उद्योग सञ्चालनमा छन् ।

चुइङगमको कुल खपतमध्ये ५० प्रतिशत स्वदेशी उद्योगको उत्पादनले धान्दै आएको उद्यमीको भनाइ छ । सरकारले तत्काल यो ‘नीतिगत गल्ती’ नसच्याउने हो भने केही समयमै स्वदेशी चुइङगम उद्योग सधैंका लागि बन्द हुने चेतावनी उद्यमीले दिएका छन् ।

भन्सारबाट उठ्ने राजस्वमा मात्र ध्यान दिँदा स्वदेशमा उत्पादनको वातावरण बिग्रिएकोप्रति संघले पटकपटक सरकारको ध्यानाकर्षण गराएको उपाध्यक्ष गौतमले बताए । ‘कच्चा पदार्थमा तयारी वस्तुसरह भन्सार महशुल राखिएका अन्य थुप्रै वस्तु अवैध रुपमा आयात भइरहेको विषयमा अर्थ मन्त्रालय र अन्य सम्बन्धित अधिकारीको ध्यानाकर्षण गराएका छौं । यस्तो नीतिलाई तत्काल नसच्याउने हो भने उद्योग धराशयी हुन्छन्,’ गौतमले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button