कांग्रेस र माओवादीबीच सहकार्य र विवादको शृङ्खला
पाँच वर्ष आलोपालो सरकार सञ्चालन गर्ने सहमति अन्तर्गत पहिलो दुई वर्षे कार्यकालका लागि प्रधानमन्त्री बनेका प्रचण्ड आफैँले कांग्रेससँगको गठबन्धन तोड्नुलाई राजनीतिक वृत्तमा चासोपूर्वक हेरिएको छ।
गठबन्धन बनाएर गत वर्ष मङ्सिरमा भएको आम निर्वाचनमा सहभागी भएका कांग्रेस सहितका दलहरूलाई छोडेर प्रचण्डले चुनावपछि भने एमाले लगायतका दलहरूसँग सरकार बनाए। त्यसबेला विवादको मुख्य विषय पहिलो कार्यकालको प्रधानमन्त्री प्रचण्ड बन्ने कि कांग्रेसका शेरबहादुर देउवा भन्नेमा थियो।
चुनावअघि पहिलो कार्यकालको प्रधानमन्त्री प्रचण्डलाई बनाउन सकारात्मक देखिएको भनिएको कांग्रेस निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेपछि देउवालाई नै पहिलो कार्यकालको प्रधानमन्त्री बनाउनुपर्ने अडानमा देखियो।
कांग्रेस आफूलाई पहिलो कार्यकालको प्रधानमन्त्री बनाउन सहमत नभएपछि प्रचण्डले एमालेसँग सहकार्य गरे। निर्वाचनपछि एमाले, रास्वपा र राप्रपा सहितका दलहरूको समर्थनमा पौष १० गते प्रचण्ड प्रधानमन्त्री नियुक्त भए।
प्रतिनिधिसभामा पुस २६ गते प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएपछि कतिपयले गठबन्धनको दिगोपनामा आशङ्का सुरु गरिसकेका थिए। धेरैको आशङ्कालाई सही साबित गर्दै प्रचण्डले दुई महिनामै ती दलहरूसँगको गठबन्धन तोडिदिएका थिए।
माओवादीसँग कुरा नमिलेपछि प्रमुख सत्ता साझेदार दल नेकपा एमाले फागुन १५ गते सरकारबाट बाहिरिएको थियो। त्यसअघिकै सरकारबाट रास्वपा माघ २४ गते बाहिरिएको थियो भने राप्रपा पनि एमाले अघि नै सरकारबाट अलग भएको थियो।
प्रधानमन्त्री प्रचण्डले त्यसपछि कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई समेटेर चैत्र १७ गते सरकार विस्तार गरे।त्यसबेला एमाले र माओवादीबीच विवादको केन्द्रमा राष्ट्रपति निर्वाचन थियो।
आम निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको माओवादीले चुनावी प्रतिबद्धता अनुसार नै राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेललाई सघाउने अडान लियो।
तर सरकारमा साझेदारी गरिरहेको एमालेले माओवादीको उक्त निर्णय चित्त नबुझेपछि आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको थियो। अन्ततः माओवादीले कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई नै राष्ट्रपतिमा समर्थन गर्यो र पौडेल राष्ट्रपतिमा निर्वाचित भए।