जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती भने देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज सूर्योदय बिहान ६ बजेर ३१ मिनेट र सूर्यास्त साँझ ६ बजेर २ मिनेटमा हुनेछ ।