No Image Headlineअन्तराष्ट्रिय

२० वर्षअघि नेटो सदस्य बन्छु भन्ने पुटिनलाई केले बदल्यो?

Thrill Factory
Rungta Group

विपक्षी नेता अलेक्सी नभाल्नीको स्मृतिमा रुसी नागरिकहरुले पुष्पगुच्छा चढाइरहँदा एक युवाले उनको मृत्युबारे आफ्नो धारणा सुनाए। ‘मलाई ठूलो झट्का लागेको छ। ठ्याक्कै दुई वर्षअघिको फेब्रुअरी २४ मा युद्ध सुरु हुँदाजस्तै,’ उनले भने।

उनको कुराले मलाई पनि दुई वर्षअघि राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमणको आदेश दिएको क्षण याद आयो। यो नाटकीयता, रक्तपात र त्रासदीको सूची हो।

–रुसको युद्धले युक्रेनमा मृत्यु र विध्वंस निम्त्याएको छ। रुसको सेनाले पनि ठूलो क्षति बेहोरेको छ।
–रुसी सहरहरुमा गोलाबारी भएको छ, ड्रोन आक्रमण भएका छन्।

–लाखौँ रुसी पुरुष सेनामा भर्ती भएका थिए।

–वाग्नर भाडाका सैनिकहरुले विद्रोह गरे र मस्कोतिर अघि बढे। पछि तिनका नेता यव्गेनी प्रिगोजिन विमान दुर्घटनामा मारिए।

–अन्तर्राष्ट्रिय अपराध अदालतले रुसी राष्ट्रपतिविरुद्ध युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गर्‍यो।

–अहिले पुटिनका सबैभन्दा मुखर आलोचकको मृत्यु भइसकेको छ।

२४ फेब्रुअरी २०२२ एउटा महत्वपूर्ण घडी थियो। तर, पछाडि फर्केर हेर्दा सबैथोक स्पष्ट देखिन्छ। रुसले २०१४ मा क्रिमिया टुक्र्याएको थियो। त्यही वर्ष दोनबासमा सैन्य हस्तक्षेप गरेको थियो। अलेक्सी नभाल्नीलाई २०२० मा विष हालिएको थियो, २०२१ मा जेलमा कोचिएको थियो। रुसमा आन्तरिक दमन युक्रेन युद्धभन्दा पहिले नै सुरु भएको थियो। आक्रमणपछि त त्यो झनै बढ्यो।

पुटिनको कुरा गर्ने हो भने युद्धको दुई वर्षमा उनी अझ विश्वस्त सुनिन्छन्। र, देश–विदेश दुवैमा आफ्ना दुश्मनलाई हराउन उनी दृढ छन्। उनी अमेरिका, नेटो र ईयूविरुद्ध कडा चुनौती दिन्छन् र युक्रेन युद्धलाई रुसमाथि पश्चिमाहरुको आक्रमण र रुसका लागि अस्तित्वको लडाइँका रुपमा प्रस्तुत गर्छन्।

यो युद्ध कसरी टुंगिएला? म आगत अनुमान गर्न सक्दिनँ। तर, विगत सम्झिन भने सक्छु। दराजमा मैले धुलो लागेका पुराना फाइल भेट्टाएँ। जसमा २० वर्षभन्दा अगाडि मैले रुसबाट पठाएका खबरहरु थिए। पुटिनका सुरुवाती दिनहरुका खबर।

ती फाइल पल्टाउँदा प्रकाश वर्ष टाढा रहेको अर्कै आकाशगंगाबारे पढेझैँ लाग्यो। ‘पछिल्लो सर्वेक्षणअनुसार ५९ प्रतिशत रुसीहरु रुस ईयूको सदस्य बन्नुपर्छ भन्ने पक्षमा छन्,’ १७ मे २००१ मा मैले लेखेको थिएँ।

‘नेटो र रुस सक्रिय रुपमा निकट सहकार्यको खोजी गरिरहेका छन्ः विश्व शान्तिको वास्तविक खतरा एकअर्का होइन भन्ने दुवै पक्षको संकेत।’ (२० नोभेम्बर २००१) उसोभए कुरा कहाँबाट बिग्रियो त? यस्तो सोचिरहेको मान्छे म एक्लो होइन।

‘मैले भेटेको पुटिन, मैले राम्रो लेनदेन गरेको र मिलेर नेटो–रसिया काउन्सिल स्थापना गरेको पुटिन अहिलेभन्दा धेरै अलग थिए। अहिले त उनी करिबकरिब उन्मादी भइसकेका छन्,’ नेटोका पूर्वप्रमुख लर्ड रोबर्टसन भन्छन्।

‘मे २००२ मा मेरो छेउमा, छेउमै उभिएर युक्रेन सार्वभौम र स्वतन्त्र राष्ट्र हो, उसले सुरक्षाका विषयमा आफ्नो निर्णय आफैँ लिन्छ भनेको मान्छे अहिले युक्रेन कुनै राष्ट्र नै होइन भन्दैछन्,’ उनले थपे। पुटिनले रुसलाई नेटोको सदस्यता दिलाउने विषयमा समेत सोचविचार गरेको रोबर्टसन सम्झिन्छन्।

‘पुटिनसँगको दोस्रो भेटमा उनले ठाडै भनेका थिएः ‘तपाईंले रुसलाई नेटोको सदस्य बन्न कहिले निम्त्याउनुहुन्छ?’ मैले भनेँ, ‘हामी मुलुकहरुलाई नेटोमा निम्त्याउँदैनौँ, तिनले निवेदन दिन्छन्।’ त्यसपछि उनले भने, ‘ठिक छ, हामी त्यस्ता मुलुकहरुको लाममा उभिँदैनौँ, जसको कुनै महत्व छैन।’ रोबर्टसनलाई लाग्दैन, पुटिन साँच्चै नेटोको सदस्य बन्न चाहन्थे।

‘नेटोको सदस्यता आफ्नो सामुन्ने पेस गरियोस् भन्ने उनी चाहन्थे। किनभने उनी हमेसा सोच्थे, रुस विश्वमञ्चको महान मुलुक हो र सोभियत संघले जस्तो सम्मान पाएको थियो, त्यस्तै सम्मान रुसलाई पनि चाहिन्छ,’ उनी थप्छन्, ‘उनी कहिल्यै पनि एउटै टेबलमा बसेर साझा हित र नीतिबारे छलफल गर्ने समान राष्ट्रहरुको गठबन्धनमा सजिलै अटाउने थिएनन्।’

सोभियत संघ कुनै बेला विश्वको दोस्रो महाशक्तिको रुपमा थियो। तर, आज रुसले त्यसतर्फ दाबी गर्न नसक्ने रोबर्टसनको भनाइ छ।

‘मलाई लाग्छ, यसले पुटिनको अहंकारलाई ठेस लगायो, उनी भन्छन्, ‘यसलाई पश्चिमाहरुले कहिलेकाहीँ गर्ने कमजोरी र पश्चिमले अनेक तरिकाले पुटिनलाई गर्ने उक्साहटसँग जोडौँ। मलाई लाग्छ, यही कुराले कुनै समय नेटोसँग सहकार्य गर्न चाहने पुटिनजस्तो व्यक्तिलाई त्यो व्यक्तिमा बदलिदिएको छ, जो नेटोलाई ठूलो खतरा मान्छन्।’

रुस यो कुरालाई अलग तरिकाले हेर्छ। नेटोको पूर्वतर्फको विस्तारले युरोपको सुरक्षा खल्बल्याएको र युद्धको निम्त्याएको रुसी अधिकारीहरुको दाबी छ। सोभियत संघका अन्तिम दिनमा रुस वरिपरिका मुलुकलाई सदस्य नबनाउने वाचा नेटोले तोडेको आरोप उनीहरु लगाउँछन्।

‘लिखित केही पनि थिएन,’ रोबर्टसन भन्छन्, ‘सहमति भएको केही थिएन। त्यस्तो कुनै सन्धि थिएन। तर, २८ मे २००२ मा रोम घोषणामा हस्ताक्षर गर्ने स्वयं पुटिन नै थिए। त्यही कागजमा मैले पनि हस्ताक्षर गरेको थिएँ। जसले भौगोलिक अखण्डता र अन्य मुलुकको अहस्तक्षेपका आधारभूत मान्यतालाई स्थापित गरेको थियो। उनले त्यसमा हस्ताक्षर गरेका थिए। अरुलाई दोष थोपर्न पाउँदैनन् उनले।’

राजधानी मस्कोभन्दा ४० माइल टाढा सोल्नेच्नोगोर्स्कमा रुसको इतिहासका पछिल्ला दुई नाटकीय वर्षहरुको तस्बिर एउटा पार्कमा देख्न सकिन्छ। वाग्नर समूहको समर्थनमा भित्ते चित्र देखिन्छ। त्यहीँ अलेक्सी नभाल्नीको स्मृतिमा फूल राखिएका छन्।

अनि भित्तामा युक्रेनमा मारिएका दुई स्थानीय व्यक्तिको ठूलो चित्र छ। जहाँ नौजवान सैनिक उनीहरुलाई सलाम ठोकिरहेका देखिन्छन्। सहरको केन्द्रमा विश्वयुद्ध र अफगानिस्तान युद्धमा मारिएका सैनिकहरुको स्मारिकामा नयाँ खण्ड थपिएको छः  ‘विशेष सैन्य कारबाहीमा मारिएका सैनिकहरुप्रति’ यहाँ ४६ नाम लेखिएका छन्।

नातिको हात समातेर हिँडिरहेकी लिदिया पेत्रोव्नालाई म सोध्छु– दुई वर्षमा जिन्दगी कसरी बदलियो? ‘पहिले हामीले विदेशबाट किन्ने सामान हाम्रै कारखानाले बनाउन थालेको छ,’ लिदिया भन्छिन्, ‘तर म हाम्रा जवानहरु र मारिएका अरु सबैका लागि दुःखी छु। हामीलाई पश्चिमसँगको युद्ध आवश्यक छैन। हाम्रा मान्छेले जिन्दगीभरि युद्ध, युद्ध, युद्धबाहेक केही भोगेका छैनन्।’ बीबीसीबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button