No Image Headlineयस्तो पनि

सबैभन्दा चम्किलो ब्ल्याक होल जसले प्रत्येक दिन एउटा सूर्यजति बस्तु निल्छ !

Thrill Factory
Rungta Group

वैज्ञानिकहरूले अहिलेसम्म थाहा भएकामध्ये सबैभन्दा चहकिलो वस्तु सुदूर अन्तरिक्षमा पत्ता लागेको बताएका छन्। त्यो क्वेजार एउटा विशाल ब्ल्याक होलबाट ऊर्जा प्राप्त गर्ने आकाशगङ्गाको मध्यभाग हो। उक्त ब्ल्याक होलको पिण्डमान हाम्रो सूर्यको भन्दा १५ अर्ब गुना बढी छ।

चिलेस्थित भेरी लार्ज टेलिस्कोप भीएलटीबाट गरिएका अवलोकनबाट उक्त खगोलीय वस्तु कति शक्तिशाली छ भन्ने पुष्टि भएको हो। वैज्ञानिक जर्नल नेचर अस्ट्रोनमीमा प्रकाशित एउटा सामग्रीमा वैज्ञानिकहरूले उक्त ब्ल्याक होल निकै खन्चुवा भएको र त्यसले प्रत्येक दिन एउटा सूर्यको जति पिण्डमान निल्ने जानकारी दिएका छन्।

जे०५२९-४३५१ धेरै वर्षअघि तथ्याङ्कमा उल्लेख भएको थियो। तर त्यसको वास्तविक स्वभाव बल्ल अहिले पत्ता लागेको हो। हामीले एउटा यस्तो वस्तु पत्ता लगाएका छौँ जसबारे पहिला वास्तविक कुरा थाहा थिएन। वर्षौँदेखि त्यो हाम्रा आँखाअगाडि थियो किनभने त्यो सम्भवतः मानवजाति अस्तित्वमा आउनुअघिदेखि नै तेजिलो भएर चम्किरहेको छ, अस्ट्रेलियन न्याश्नल यूनिभर्सिटीका क्रिस्टियन वुल्फले भने।

खगोलशास्त्रीहरू एक प्रकारको एक्टिभ गल्याक्टिक न्यूक्लिअस ९एजीएन० लाई क्वेजार भन्छन्। क्वेजार तारापुञ्जको निकै ऊर्जावान् मध्यभाग हो र पदार्थहरूलाई तीव्र गतिमा आफूतिर तान्ने एउटा निकै ठूलो ब्ल्याक होलले यसलाई ऊर्जा प्रदान गर्छ।

ब्ल्याक होलले तानेको पदार्थ तीव्र गतिमा त्यसवरिपरि पुग्दा टुक्रिन्छ र ठूलो परिमाणमा प्रकाश निस्किन्छ। प्रकाश यति धेरै हुन्छ कि जे०५२९-४३५१ जस्तो टाढा रहेको वस्तु पनि पृथ्वीबाट देखिन्छ। यो क्वेजारबाट १२ अर्ब वर्षअघि उत्पन्न प्रकाश भीएलटीस्थित डिटेक्टरहरूले पत्ता लगाएका हुन्।

यो खगोलीय वस्तुसँग सम्बन्धित सबै कुरा अद्भुत छन्। वैज्ञानिकहरूका अनुसार यसबाट उत्सर्जन हुने ऊर्जाका कारण यो क्वेजार सूर्यभन्दा ५,००० खर्ब गुना उज्यालो छ। त्यो प्रकाश सात प्रकाशवर्ष लामो व्यास भएको एउटा तातो संवृद्ध चक्राकार स्थान एक्रिशन डिस्कबाट निस्किन्छ। त्यो भनेको सूर्यबाट वरुण ग्रहको कक्षको दूरीको झन्डै १५,००० गुना हो।

सबै तारापुञ्जमा तिनको मध्यभागमा एउटा विशालकाय वस्तु भएको पाइन्छ। त्यसको अर्थ सम्भवतः त्यस्ता वस्तुहरू ती तारापुञ्जको विकासका लागि मूलभूत तत्त्व हुन्। साधारण भाषामा भन्नुपर्दा ती ब्ल्याक होलबिना हाम्रो आकाशगङ्गा आज हामीले जानेको स्वरूपमा हुँदैनथ्यो। वास्तवमा आफ्ना अतिविशालकाय ब्ल्याक होलबिना सबै तारापुञ्ज नितान्त भिन्न थिए। वास्तवमा सबै तारापुञ्जहरू यी अतिविशालकाय ब्ल्याक होलवरिपरि बनेको हुने सम्भावना पनि छ, एएनयूमा विद्यावारिधि गर्दै गरेका साम्युअल लाईले भने।

उनी भर्खरै प्रकाशित शोधपत्रका सहलेखक हुन्। केही ब्ल्याक होलहरू ब्रह्माण्डमा त्यति चाँडै त्यति ठूला भए होलान् भन्ने प्रश्न उठ्छ।

उक्त प्रश्नले वैज्ञानिकहरूलाई महा विस्फोट बिगब्याङपछि ताराहरूको उत्पत्ति हुनुअघि नै ग्यासबाट ब्ल्याक होल बनेको हुन सक्ने सम्भावनाबारे विचार गर्न लगाएको छ। बीबीसी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button