No Image Headlineस्वास्थ्य/जिवनशैली

कम सुत्नुहुन्छ ? अनिद्राले हुन सक्छन् यस्ता समस्या

Thrill Factory
Rungta Group

तपाईँ राम्ररी सुत्नुहुन्न र अब्सट्रक्टिभ स्लीप एपनिया ओएसएका लक्षणहरू छन् भने, यसले दिमागको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्न सक्छ। यस विषयमा एउटा नयाँ अध्ययनले १० मध्ये एक जनालाई यस्तो समस्या हुने र उमेर बढ्दै जाँदा मानिसको मस्तिष्कको कार्यक्षमतामा असर गर्ने देखाएको छ।

अखिल भारतीय आयुर्विज्ञान संस्थानका न्यूरोलोजी विभागका प्रमुख डा कामेश्वर प्रसादले नेतृत्व गरेको यो अनुसन्धान ७,५०५ जना वयस्कहरूमा गरिएको थियो। भारतका धेरै स्वास्थ्य संस्थाहरू बाहेक द नेदरल्याण्ड्सको इरामस मेडिकल सेन्टरको इपिडिमिओलोजी विभाग र अमेरिकाको हार्वर्ड टीएच चेन स्कुलका जनस्वास्थ्य तथा व्यवहार विज्ञान विभागका डाक्टरहरू समेत यो अध्ययनमा सामेल भएका थिए।

यस्तो प्रकारको अध्ययन पहिलो हो, जसमा जीनोमिक्स, न्यूरोइमेजिङ र निद्रासँग सम्बन्धित धेरै मापदण्डहरू अध्ययन गरिएको थियो। यसमा महिला र पुरुषको करिब बराबर सहभागिता थियो, डा कामेश्वर प्रसादले भने।

विश्वका धेरै देशजस्तै भारतमा पनि वृद्ध वृद्धाको जनसङ्ख्या बढ्दो क्रममा छ। डा कामेश्वर प्रसादका अनुसार उमेर बढ्दै जाँदा देखिने प्रमुख रोगहरू डिमेन्सिया वा बिर्सने, हृदयाघात वा स्ट्रोक हुन्। यो अनुसन्धान मुख्यतया ती समस्याहरूमा केन्द्रित थियो।

अनुसन्धानमा मानिसहरूलाई निद्राको कमी, अब्सट्रक्टिभ स्लीप एपनिया ओएसएलगायतसँग सम्बन्धित धेरै प्रश्नहरू सोधिएको थियो र उनीहरूको मस्तिष्कको काम गर्ने क्षमता जस्तै सम्झने, योजना बनाउने, डिजाइन गर्ने, अनुक्रम मिलाउनेलगायतका गतिविधिका बीचमा रहने सम्बन्ध पत्ता लागेको थियो।

अनुसन्धानले राम्रोसँग निदाउन नसक्ने वा ओएसए भएका मानिसहरूको मस्तिष्कको क्षमता राम्रोसँग निदाउने मानिसहरूको तुलनामा कम भएको देखाएको छ, डा कामेश्वर प्रसाद भन्छन्।

ओएसए के हो ?

न्याशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित जानकारीका अनुसार ओएसएलाई एउटा स्वास्थ्य समस्याको रूपमा परिभाषित गरिएको छ। यो समस्या भएका मानिसहरूलाई सुतिरहेको समयमा बारम्बार श्वास रोकिने समस्या हुन्छ।

डा जेसी सुरीले यसबारे विस्तृतमा बताएका छन्। उनका अनुसार दिनको समयमा मानिसले सहज रूपमा श्वास लिँदा र फेर्दा कुनै अवरोध हुँदैन तर राती सुत्दा हाम्रो मांसपेशी शिथिल हुन्छ अनि यसै कारण मानिसहरू उभिएर निदाउन सक्दैनन्।

निदाएको समयमा हाम्रो जिब्रो घाँटीमा पछाडि जान्छ र यसले श्वास फेर्ने बाटो रोक्छ, डा सुरी बताउँछन्। जब मानिसको श्वास रोकिन्छ, ऊ ब्युँझन्छ र उसको जिब्रो चल्न थाल्छ। जिब्रो मुखमा अगाडि आएर श्वास फेर्नको लागि बाटो खुलेपछि श्वास फेर्न सहज हुन्छ। जब व्यक्ति फेरि सुत्छ र जिब्रो पछाडि जान्छ फेरि श्वास फेर्न रोकिन्छ र निद्रा पटक पटक भङ्ग हुन्छ। यो क्रम रातभर चलिरहन्छ। यसलाई अब्सट्रक्टिव स्लीप एपनिया भनिन्छ, उनले भने।

चिकित्सकहरूका अनुसार निद्राका पनि धेरै चरणहरू हुन्छन्। जसमा हल्का, गहिरो निद्रा, सपना वा सपना नदेखिने निद्रा हुन्छन्। डा सुरीका अनुसार निदाएको समयमा मानिसहरूको श्वासनली साँघुरो भएर कतिपय व्यक्तिको आंशिक रूपमा श्वासनलीमा अवरोध पनि हुन्छ।

यस्तो अवस्थामा मानिस घुर्न थाल्छ। कतिपय अवस्थामा श्वासनली बन्द भएर स्लीप एपनिया हुनसक्छ। यस्तो अवस्थामा श्वास फेर्न नसक्दा अक्सिजनको मात्रा घट्छ र कार्बन डाइअक्साइड बढ्छ। निद्रा खुलेपछि मात्रै श्वासप्रश्वासको बाटो खुल्छ।

स्लीप एपनियाबाट पीडित व्यक्तिहरू एक घण्टामा १५, २५ वा ५० पटकसम्म निद्राबाट ब्युँझन्छन्। जसका कारण मानिसलाई गहिरो निद्रा पर्दैन र निद्रामा असन्तुलन हुन्छ। घुर्ने समस्याबाट बच्न आफ्नो तौल नियन्त्रण गर्नुपर्ने चिकित्सकहरूको सल्लाह छ। किनभने तपाईँको चिउँडो नजिकै धेरै बोसो भएको तन्तु हुन सक्छ। यसले श्वासनली साँघुरो बनाएर श्वासको प्रवाहमा बाधा पुर्‍याउन सक्छ। यस्तो अवस्थामा तौलमा नियन्त्रण कायम राख्दा घुर्ने समस्याबाट राहत मिल्छ।

यदि तपाईँलाई रुघाखोकी लागेको छ र तपाईँको नाक बन्द छ भने तपाईँले घुर्ने सम्भावना बढी हुन्छ। यस्तो अवस्थामा सुत्नुअघि नाक राम्ररी सफा गर्नुहोस्। मदिराका कारण सुत्ने बेलामा मांसपेशीहरू धेरै शिथिल हुन्छन् र यसले गर्दा श्वासनली साँघुरो हुन्छ। यस्तो अवस्थामा सुत्नुअघि मदिरा सेवन नगर्नु राम्रो हुन्छ ।

उत्तानो परेर सुत्दा तपाईँको जिब्रो, चिउँडो र तपाईँको चिउँडो मुनि रहेको बोसोयुक्त तन्तुले तपाईँको श्वासनलीमा अवरोधहरू सिर्जना गर्न सक्छ। यसरी सुत्दा तपाईँ घुर्नुहुन्छ भने कोल्टे फेरेर सुत्नुपर्छ।

नवजात शिशुले धेरै घण्टा सुत्नु पर्ने चिकित्सकहरू बताउँछन् तर उमेर बढेसँगै निद्रा कम हुन थाल्छ। डा जेसी सुरीले स्लीप फाउन्डेसनको एक अध्ययन उद्धृत गर्दै नवजात शिशुले १४ देखि १७ घण्टा र १४ देखि १७ वर्षका किशोर किशोरीहरूले आठदेखि दश घण्टा सुत्नुपर्ने बताए।

उनका अनुसार १८ देखि २६ वर्षका युवा र २६ देखि ६४ वर्षका व्यक्तिले सातदेखि नौ घण्टा र ६५ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरूले सात देखि आठ घण्टा सुत्ने गर्नुपर्छ।

चिकित्सकहरूका अनुसार हाम्रो जीवन पनि दिन र रात अनुसार चल्छ। हामी दिनमा सक्रिय भएर काम गर्छौँ र राती सुत्छौँ। त्यही अनुसार खाना पनि खान्छौँ। हाम्रो मस्तिष्क र शरीरका सबै कार्यहरू सुचारु रूपमा सञ्चालन गर्नको लागि निद्रा निकै महत्त्वपूर्ण छ।

चिकित्सकहरू सुत्न नसक्ने मानिसहरूलाई निदाउनका लागि केही अभ्यास गर्न सल्लाह दिन्छन्। जस अनुसार दिउँसो नसुत्न र साँझ परेपछि वा राति चिया वा कफी नपिउन चिकित्सकहरूको सल्लाह छ।

चिकित्सकहरूका अनुसार कतिपय मानिसहरूको जन्मजात नै श्वासप्रश्वास कम हुने समस्या हुन्छ। तौल बढेसँगै यो अवस्था बढ्दै गएर समस्या बन्न सक्छ। यस्तो अवस्थामा सक्रिय जीवनशैली अपनाउनुपर्छ। डा कामेश्वर प्रसाद मानिसलाई निद्रामा समस्या भएको थाहा हुने बित्तिकै उपचार गर्न सुझाव दिन्छन्। उनका अनुसार यसलाई बेवास्ता गरे भविष्यमा डिमेन्सियाको समस्या हुनसक्छ। बीबीसीबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button