एएफसी एसियन कप : युएईलाई स्तब्ध पार्दै ताजिकिस्तान अन्तिम आठमा
पहिलो पटक एएफसी एसियन कप खेलिरहेको ताजिकिस्तान अन्तिम आठमा पुग्न सफल भएको छ।
आइतबार कतारको अहमद बिन अली रंगशालामा भएको खेल अतिरिक्त समयमा धकेलिदा १–१ गोलको बराबरीमा सकिएको थियो।
त्यसपछि ताजिकिस्तानले पेनाल्टी सुटआउटमा युएईलाई ५–३ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गर्यो।
पहिलो हाफमा वाहदत हानोनोभको गोलबाट ताजिकिस्तानले अग्रता लिएको थियो। खलिफा अल हम्मादीले दोस्रो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा हेडरमार्फत गोल गरेपछि खेल १(१ को अवस्थामा आएको थियो।
पेनाल्टी सुटआउटमा युएईका काइओ क्यानेडोको प्रहारलाई ताजिकिस्तानका गोलकिपर रुस्तम यातिमोभले विफल परेका थिए। ताजकिस्तानका अलिशेर सुकुरोभले पेनाल्टी सुटआउटमा निर्णायक गोल गरेका थिए।
ताजिकिस्तान सन् २००७ मा अस्ट्रेलियापछि क्वार्टरफाइनलमा पुग्ने दोस्रो डेब्यू टिम बनेको छ।
फिफा वरीयतामा ताजिकिस्तान युएईभन्दा ४२ स्थान तल छ। युएईले सन् २०१५ र २०१९ मा सेमिफाइनलमा स्थान बनाएको थियो।
यता आइतबार भएको अर्को अन्तिम १६ को खेलमा अस्ट्रेलियाले इन्डोनेसियालाई ४(० गोलले पराजित गरेर अन्तिम आठमा स्थान पक्का गरेको छ।