यस्तो छ विहारको रोचक राजनीति, यस्तो छ मोदी-नितिश सहकार्यको चर्चा
नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा नयाँ राजनीतिक घटनाक्रम विकास भएको छ ।
बिहारमा मुख्यमन्त्री नितिश कुमारको जनता दल युनाइटेड जेडियूले कांग्रेस र राष्ट्रिय जनता दल आरजेडी सम्मिलित महागठबन्धन परित्याग गरी भारतीय जनता पार्टी भाजपासँग मिलेर सरकार बनाउने चर्चा तीव्र भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार जेडियूका नेताहरुले अब बिहारमा मोदी–नितिशबीच सहकार्य आवश्यक रहेको बताउन थालेका छन् ।
बीबीसी हिन्दीका अनुसार जेडियूका बिहार प्रमुख उमेश सिंह कुशवाहाले आफ्नो पार्टी अझै महागठबन्धनको हिस्सा भएको स्पष्ट पारेका छन् । यद्यपि राज्यमा विकसित निकै रोचक राजनीतिक घटनाक्रम विकास भइरहेका छन् ।
जेडियूले महागठबन्धन परित्याग गर्न लागेको हल्लाबीच पूर्वमुख्यमन्त्री लालु यादवका पुत्र एवम् आरजेडीका नेता तेजस्वी यादवको आवासमा आरजेडी विधानमण्डलको बैठक डाकिएको छ । स्रोतलाई उल्लेख गर्दै आज तकले जनाएअनुसार आरजेडीले नितिश कुमार सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आरजेडीले बिहारका राज्यपाललाई भेटेर समर्थन फिर्ता लिएको जानकारी दिन सक्छ ।
उता, बिहार भाजपाले पनि चाणाक्य होटेलमा बैठक बोलाएको छ भने जेडियूले आइतबारका लागि बैठक बोलाएको छ । यसैबीच, भाजपा नेतृत्वका राष्ट्रिय गणतान्त्रिक गठबन्धन एनडीएमा सामेल अन्य साना दलका नेताहरु पनि विभिन्न बैठक तथा भेटवार्तामा व्यस्त रहेको आज तकले जनाएको छ ।
तीव्र गतिमा राजनीतिक घटनाक्रम परिवर्तन भइरहेको अवस्थामा बिहार सचिवालय तथा बिहार राजभवनमा आइतबारको साप्ताहिक विदा रद्द गरिएको छ ।
सन् २०१४ को निर्वाचनअघि सन् २०१३ मा नितिश कुमार एनडीएबाट अलग भएका थिए । पछि उनले आरजेडी र कांग्रेससँग मिलेर महागठबन्धन बनाएका थिए । पछि सन् २०१७ मा फेरि नितिशले महागठबन्धन परित्याग गरी एनडीएसँग मिल्न पुगेका थिए । त्यसको केही समयपछि उनी पुनः महागठबन्धनमा फर्किएका थिए ।