अर्थमुख्य खबर

अन्ततः प्राधिकरणले लियो लाइन जोड्ने निर्णय, वीउवासंघले गर्‍यो सरकारी निर्णयको स्वागत

सरकारले लाइन जोड्न निर्देशन दिने निर्णय गरेको तेस्रो दिनमा नेपाल विद्युत प्राधिकरणले अन्ततः उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने निर्णय गरेको छ ।

Patanjali Nepal
SweetMart Nepal

शुक्रवार प्राधिकरण सञ्चालक समितिको बैंठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गरेको हो । यसअघि प्राधिकरणले मन्त्रिपरिषदको निर्णय नआएको भन्दै लाइन जोड्न आलटाल गर्दै आएको थियो ।

कार्यकारी निर्देशक कुलमान घिसिङको इच्छाविपरीत आयोग गठन भएपछि प्राधिकरण नेतृत्वले लाइन जोड्न बाहानाबाजी गर्दै आएको थियो । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले निर्णय भए पनि लाइन जोड्न निर्देशन नआएकाले लाइन नजोडिएको बताएका थिए । ‘यसबारेमा सञ्चालक समितिको निर्णयअनुसार हुन्छ । उर्जा मन्त्रालयले सिधै बितरण केन्द्रहरुलाई निर्देशन दिएको भए पनि हुने थियो । अब प्राधिकरणले केन्द्रहरुमा निर्देशन पठाएपछि लाइन जोडिन्छ,’ उनले भने ।

मन्त्रिपरिषद बैठकले लाइन काटिएका उद्योगहरुमा बिजुलीको लाइन जोडिदिन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको विवाद छानबिन गर्न जाँचबुझ आयोगसमेत गठन गरेको छ ।

मन्त्रिपरिषदको बैठकको निर्णयसम्बन्धी पत्र बिहीबार ऊर्जा मन्त्रालयबाट प्राप्त भएको बताइएको छ ।

डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले ६ पुसदेखि उद्योगहरूको लाइन काट्न सुरू गरेको थियो । २४ ओटाको लाइन काटिएकोमा एउटाले प्राधिकरण ल्याएको ६० किस्ताको शर्त स्वीकार गरेर लाइन जोडाइसकेको छ ।

प्राधिकरणले लाइन जोड्ने भएपछि यो निर्णयलाई वीरगञ्ज उद्योग वाणिज्य संघले स्वागतयोग्य भनेको छ । संघका अध्यक्ष अनिल अग्रवालले सरकारले आयोग बनाएर समस्यामा निकासमा लिएको निर्णय सकारात्मक भएको बताएका हुन् ।

संघले आयोग बनाएर समस्याको निकास निकाल्नुपर्ने र समाधान नहुँदासम्म लाइन जोडिनुपर्ने माग गरेकोमा सोहीअनुसार सम्बोधन भएको संघका उपाध्यक्ष माधव राजपालले बताए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button