लेबननमा इजरेली ड्रोन हमलामा हिज्बुल्लाहका वरिष्ठ सैन्य कमान्डरको मृत्यु

इजरेलले लेबननमा गरेको ड्रोन हमलामा हिज्बुल्लाह समूहका एक वरिष्ठ कमान्डर मारिएको विवरण आएका छन्। हिज्बुल्लाह कमान्डर विसाम तावीलको दक्षिणी लेबननमा निधन भएको बताइएको छ।



लेबनानका सरकारी सञ्चारमाध्यमले बिन्त जबेल जिल्लामा एउटा कारलाई निशाना बनाइएको र उक्त कार सडकबाट हटेको अनि त्यसपछि त्यसमा आगो लागेको जनाएका छन्।



हिज्बुल्लाहले आफ्नो राद्वान फौजका वरिष्ठ कमान्डर विसाम तावीलको हत्या भएको पुष्टि गरेको छ।उसले आफ्ना कमान्डरको मृत्युबारे विस्तृत विवरण दिएको छैन।



गाजामा २३ हजारभन्दा बढीको मृत्यु
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरेली हमलामा त्यहाँ २३ हजार जना जतिको मृत्यु भइसकेको छ। त्यसमध्ये आधा जति बालबालिका र महिलाहरू रहेका बताइएको छ।
गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा इजरेली हमलाका कारण ७३ जनाको हत्या भएको र ९९ जना घाइते भएको जनाएको छ।
गत अक्टोबर १२ मा हमासले इजरेलमाथि गरेको हमलामा १ हजार २ सय जति मानिसहरू मारिएका थिए भने करिब २४० जनालाई हमासले बन्धक बनाएको थियो।
गाजाको मानवीय अवस्थालाई लिएर संयुक्त राष्ट्रसङ्घीय निकायहरूले चिन्ता व्यक्त गरिरहेका छन्।
पोप फ्रान्सिसले पनि उक्त क्षेत्रमा युद्धविरामका लागि आग्रह गरेका छन्।