No Image Headlineअन्तराष्ट्रिय

भारतीय सौर्य मिशनको सफलता, यसबाट के फाईदा हुन्छ ?

भारतले सूर्यको अवलोकनका लागि पठाएको अन्तरिक्ष मिशन शनिवार अपराह्न आफ्नो निर्धारित लक्षमा पुगेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन्। अन्तरिक्ष अनुसन्धान निकाय इसरोले प्रक्षेपण गरेको चार महिनापछि आदित्य (एल वान) आफ्नो गन्तव्यमा पुगेको हो।

Patanjali Nepal
SweetMart Nepal

आफ्नो मिशन सफल भएसँगै प्रधानमन्त्री मोदीले भारतले इतिहास रचेको बताएका छन्। हाम्रा वैज्ञानिकहरूको अथक समर्पणको परिणाम स्वरूप सबैभन्दा जटिल अन्तरिक्ष मिशन सफल भएको छ। यो असाधारण उपलब्धिको प्रशंसा गर्न म हाम्रो राष्ट्रसँगै छु। मानवजातीको हितको लागि विज्ञानका नयाँ सीमाहरूसम्म पुग्ने लक्ष्यमा हामी लागिरहन्छौँ, उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो यान सुरक्षित अवतरण गरेर इतिहास बनाएको केही दिनमै गत २ सेप्टेम्बरमा यो अन्तरिक्ष मिशन प्रक्षेपण गरिएको थियो। सूर्यको अध्ययनका लागि पठाइएको मिसनको नाम पनि सूर्यकै नाममा राखिएको छ।

आदित्यको अर्थ संस्कृतमा सूर्य हो। एल वान चाहिँ पृथ्वी र सूर्यबीचको यस्तो बिन्दु हो जहाँ दुवै ग्रहको गुरुत्व शक्ति समान हुन्छ र त्यहाँ रहेको बस्तुलाई दुवैले आफूतर्फ आकर्षण गर्ने क्षमता राख्दैनन्।

उक्त स्थानमा छोडिने भारतीय भूउपग्रहले पाँच वर्षसम्म त्यहाँ रहेर सूर्यको अध्ययनमा सघाउने अपेक्षा गरिएको छ। आफू अडिने स्थानमा पुगेपछि आदित्य एल वानले पृथ्वीले जसरी नै सूर्यको परिक्रमा गर्नेछ।

यो बिन्दुबाट यसले सूर्यग्रहण वा अन्य ग्रहणको समयमा पनि निरन्तर सूर्यको अवलोकन गर्नेछ। आदित्य एल वानले गर्ने सूर्यको गहन अवलोकन र अध्ययनबाट हाम्रो वैज्ञानिक बुझाई अझै परिष्कृत हुने र हाम्रो सौर्यमण्डलमा सूर्यको भूमिकाबारेको बुझाई पनि सुदृढ हुने अपेक्षा गरिएको छ।

सूर्यको अध्ययन गर्ने यो पहिलो मिसन भने होइन। यसअघि अमेरिकी अन्तरिक्ष निकाय नासा र युरोपेली अन्तरिक्ष एजेन्सी ईएसएले पनि उस्तै उद्देश्यका लागि सौर्य मिसन पठाइसकेका छन्।

भारतको चेन्नईबाट १०० किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटास्थित अन्तरिक्ष यान प्रक्षेपणकेन्द्रबाट यो यानलाई अन्तरिक्षमा पठाइएको थियो। भारतीय अन्तरिक्षयान पठाइएको पृथ्वी र सूर्यको गुरुत्व शक्ति सन्तुलित हुने स्थान १५ लाख किलोमिटर टाढा छ। उक्त दुरी पृथ्वी र चन्द्रमाबीचको दूरीभन्दा करिब चार गुणाले बढी हो।

तर त्यो पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ एक प्रतिशत मात्रै हो। सूर्य पृथ्वीबाट करिब डेढ करोड किलोमिटर टाढा छ।

एल वान मिसनका उद्देश्यहरू के के हुन् ?

भारतीय अन्तरिक्ष यानले जम्मा सात वटा भारीहरू पे लोड बोक्नेछ त्यसले फोटोस्फेअर र क्रोमोस्फेअर भनिने सूर्यका सबैभन्दा बाहिरी भागको अनुगमन गर्नेछ। र त्यसका लागि इलेक्ट्रोम्याग्नेटिक र पार्टिकल फिल्ड डिडेक्टर जस्ता उपकरणको प्रयोग गरिनेछ।

यसले अन्तरिक्षको मौसम के ले सञ्चालन गर्छ भन्ने बारे पनि अध्ययन गर्नेछ। सौर्य आँधीको प्रकृयाका बारे पनि थप धेरै बुझ्ने प्रयास गर्नेछ, जो पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा देखिने नोर्दर्न र सदर्न लाइट्स भनिने रङ्विरङ्गी उज्याला प्रकाशका दृश्यका साथै इलेक्ट्रोम्याग्नेटिक अवरोधका निम्ति समेत जिम्मेवार हुन्छन्।

एक पटक यसको कक्षमा स्थापित भैसकेपछि यो अन्तरिक्ष वेधशालाले सूर्यलाई निरन्तर स्पष्ट रूपमा अवलोकन गरिरहन सक्नेछ। इसरोले भनेको छ, यसबाट सौर्य गतिविधिलाई अवलोकन गर्न पहिलभन्दा ठूलो उपलब्धि हासिल हुने मात्रै नभई वास्तविक समयमा नै त्यस्ता गतिविधिको अन्तरिक्ष मौसममा पर्ने प्रभावलाई पनि अनुगमन गर्ने अवसर उपलब्ध गराउँछ।

यसले वायुमण्डलबाट छानिएर आउने हुनाले पृथ्वीबाट अध्ययन गर्न नसकिने रेडिएशन अर्थात् विकिरणको अध्ययन गर्न पनि सघाउने छ। यसको विशेष अन्तरिक्ष अवस्थितिका कारण यो यानमा रहने चारवटा ुपे लोडु हरूले सूर्यलाई सिधा अवलोकन गर्नेछन्।

बाँकी तीन वटा पेलोड्सले चाहिँ लाग्राञ्ज विन्दू ीज्ञ मा रहेका कणहरू र प्रभाव क्षेत्रहरूको अध्ययन यानमा नै रहेर अध्ययन गर्नेछन्। त्यसबाट विभिन्न ग्रहहरूबीचका अन्तरिक्षमा रहेका स्थानहरूमा सौर्य गतिविधिका प्रभावहरूबारे महत्त्वपूर्ण जानकारीहरू प्राप्त हुनेछन्।

इसरोले यो मिसनले कोरोनल हिटिङ, कोरोनल मास इजेक्शन, सोलार फ्लेअर्स जस्ता सौर्य गतिविधि र तिनका गुणहरूका साथै अन्तरिक्षको मौसमका प्रकृयाहरूबारे महत्त्वपूर्ण जरूरी जानकारीहरू प्रदान गर्ने आशा व्यक्त गरेको छ।

मिसनको लागत कति ? 

भारतको सरकारले सन् २०१९ मा यो परियोजनालाई स्वीकृत गरेको थियो। यसको लागत करिब ४ करोड ६० लाख डलर लागेको जनाइएको छ।

भारतको अन्तरिक्ष निकायले यसका लागि वास्तविक रूपमा जम्मा कति लागत लाग्यो भन्ने यकिन विवरण सार्वजनिक गर्न बाँकी नै छ र यो अन्तरिक्ष यान पाँच वर्षभन्दा बढी समयका लागि अन्तरिक्षमा रहने गरी बनाइएको छ।

इसरोले गहिरो अन्तरिक्ष मिसनका लागि कम शक्तिशाली रकेटहरूको प्रयोग गर्छ र यानको अगाडिका थप अन्तरिक्ष यात्राका लागि गुरुत्वाकर्षण बलको प्रयोग गर्छ। यसले चन्द्रमा, मङ्गलग्रह जस्ता गन्तव्यमा पुग्नका लागि आवश्यक समयलाई बढाउँछ तर यसले गह्रुँगो रकेटहरूको प्रक्षेपण लागत भने उल्लेख्य अनुपातमा घटाउँछ।

यही उपायका कारण भारतको अन्तरिक्ष निकायले हालैका समयमा तुलनात्मक रूपमा थोरै बजेटमा पनि ठूला सफलताहरू हासिल गर्न सकेको छ।

मानवरहित चन्द्रयान ३ अभियान गत साता चन्द्रमाको सतहमा अवतरण गरेको छ। चन्द्रमामा सफल अवतरण गर्ने अमेरिका, रुस र चीनपछि भारत चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो राष्ट्र बनेको छ।

सन् २०१४ मा मङ्गल ग्रहको कक्ष वरिपरि यान राख्ने भारत पहिलो एशियाली मुलुक बनेको थियो। र भारतले अब अर्को वर्ष पृथ्वीको कक्षमा मानवसहितको तीन‍ दिने अन्तरिक्ष मिसन पठाउने योजना गरेको छ। बीबीसी

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button