No Image Headlineदेशमुख्य खबरविशेष

मिल्न छोड्यो मौसम पूर्वानुमान : यो हिउँदमा पनि कम पानी पर्ने, पोहोरजस्तै पानीको स्रोत सुक्ला त ?

जल तथा मौसम विज्ञान विभागले यो वर्ष हिउँदमा धेरै पानी पर्ने सम्भावना टरेको जनाएको छ । यसअघि मङ्सिर १५ देखि फागुन १५ सम्मको तीन महिनाको पूर्वानुमान गर्ने क्रममा यो वर्ष हिउँदमा धेरै पानी पर्ने घोषणा विभागले गरेको थियो।

Patanjali Nepal
SweetMart Nepal

तर अहिले कम्तीमा एक महिनाको पूर्वानुमान हेर्दा देशका अधिकांश भागमा पानी पर्ने सम्भावना नदेखिएको विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले बताएकी हुन्। मौसमको यो पूर्वानुमान अनुसार हिउँद सुक्खा हुँदा यसले हिउँदे बालीनाली र वर्षे बालीको तयारीमा पनि असर गर्ने विज्ञहरू बताउँछन्।

दुई साताभन्दा अघि जल तथा मौसम विज्ञान विभागले यो जाडोयाममा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको थियो। विभागले हिउँदको तीन महिना मङ्सिर मध्यदेखि फागुन मध्यसम्ममा सबैभन्दा धेरै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी पर्ने सम्भावना रहेको बताएको थियो।

त्यसबाहेक देशका अधिकांश ठाउँमा पानी पर्ने बताए पनि अहिले भने त्यो भन्दा फरक स्थिति देखिएको वरिष्ठ मौसमविद् पोखरेल बताउँछिन्। अहिले तत्कालको अवस्था हेर्ने हो भने पश्चिमका केही भूभागमा हल्का वर्षा भएको जस्तो देखिएको छ नभए त्यस्तो हुने देखिएको छैन, उनले भनिन्।

किन उल्टो मौसमको अवस्था ?

जल तथा मौसम विज्ञान विभागले मौसमको पूर्वानुमानका लागि जलवायुलाई असर गर्ने विभिन्न प्यारामिटर हेरेर मौसम पूर्वानुमान गरिने र त्यो कहिलेकाहीँ फरक पर्ने बताएको छ। विभागले पानी पर्छ भनेर गरेको पूर्वानुमान दक्षिण एशियाली जलवायु दृष्टिकोणको आकलनका आधारमा गरिएको उनले बताइन्।

एउटा देशको मात्रै नभई क्षेत्रीय रूपमै पूर्वानुमान गरिने भए पनि त्यसमा अझै अनिश्चितता देखिने गरेको र त्यसलाई निश्चित गर्न अझै मिहिनेत गर्नुपर्ने देखिएको छ, पोखरेलले भनिन्।

क्षेत्रीय सङ्गठनबाट सहमति लिएर पूर्वानुमान गरिएको हो तर अझै मोडलहरू थप परीक्षण गर्नुपर्ने देखियो र थप प्यारामिटरहरू पनि हेर्नुपर्ने देखिएको छ। मौसमलाई एउटै कुराले मात्रै असर गर्ने हुँदैन अरू कुरालाई पनि हेर्नुपर्ने देखियो।

चिसोको अवस्था कस्तो ?

हिउँदमा पानी नपर्नुको अर्थ यसपालि हिउँदमा चिसो कम हुने विभागले जनाएको छ। सरदरभन्दा अधिकतम तापक्रम कम हुने नै देखिन्छ। त्यस्तो माइनसमै जाने भन्ने सम्भावना त धेरै नै कम देखिन्छ, पोखरेलले भनिन्।

तर कुनै वर्ष भने मध्य पुष महिनामा दिन सफा हुने र हिउँदको पछिल्लो समयमा पानी पर्ने गरेकोले चिसो बढेको विगतको अनुभव रहेको विभागको भनाइ छ। रेकर्ड तोड्ने खालको चिसो हुन्छ कि हुँदैन चाहिँ हेर्नैपर्छ तर सम्भावना चाहिँ अधिकतम तापक्रम र न्यूनतम तापक्रम बढ्ने नै देखिन्छ। त्यसको अर्थ चिसो त्यति बढ्दैन।

अघिल्लो वर्षको हिउँदलाई ३० वर्षयताकै कम पानी परेको हिउँद भनिएको थियो। विशेषगरी पानी नपर्दा गहुँ, तोरीलगायत हिउँदमै लगाइने बालीलाई असर गर्ने विज्ञहरू बताउँछन्।

कृषि विभागका महानिर्देशक हरिबहादुर केसीका अनुसार अहिलेसम्मको अवस्थामा बालीलाई त्यति असर गरिनसकेको भए पनि हिउँद सुक्खा भए उत्पादनमा कमी आउनेछ। सिँचाइ नभएको र आकाशे पानीको भरमा हुने बाली जस्तै गहुँ, तोरी अनि तराईमा मुसुरोलगायतका बालीमा प्रभाव पार्छ, उनले भने।

अनुमान अनुसार हिउँदमा पानी नपरे त्यसले वर्षे बाली जस्तै मकै वा धानको बिउ राख्ने तयारीलाई असर पार्ने केसी बताउँछन्। हिउँदमा पानी नपरे बालीबाहेक पानीको मुहान सुक्नेलगायत प्रदूषण बढ्नेजस्ता असर पनि पर्ने विज्ञहरू बताउँछन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button