No Image Headlineदेश

‘भूकम्पको देश’ जापानबाट नेपालले के सिक्न सक्छ ?

विनाशकारी भूकम्प र सुनामीले जापानको फुकुशिमा परमाणु केन्द्रमा दुर्घटना निम्त्याएको झन्डै १३ वर्ष भयो। तर अहिले पनि जापानमा उक्त घटनाको सम्झना ताजा छ।

Patanjali Nepal
SweetMart Nepal

सोमवार इशिकावामा गएको भूकम्प र त्यससँगै सुनामीको चेतावनी दिन बजाइएको साइरनले फुकुशिमा दुर्घटनाको प्रसङ्ग फेरि सबैको ध्यानमा आएको हुनुपर्छ। भूकम्प गएपछि दिइने चेतावनी जापानका लागि अस्वाभाविक होइन।

जापानमा भूकम्प छोटो अवधिमा नै जीवनको अङ्ग बन्छ। केही हदसम्म तपाईँलाई त्यसको बानी लाग्छ। यो पुस्ताले त्यो त्रासदीपूर्ण समय सन् २०११ को मार्च ११ मा अनुभव गर्‍यो।

दुई मिनेटसम्म पृथ्वी यसरी हल्लियो कि कसैले पनि आफ्नो जीवनकालमा त्यस्तो भोगेको थिएन। त्यसपछि जमिन हल्लिरह्यो।

उक्त भुइँचालो खेपेका जोसुकैले त्यति बेला आफू कहाँ थिए र कति भयभीत थिए भन्ने बताउन सक्छन्। तर अझै खराब कुरा त आउन बाँकी नै थियो।

त्यसको ४० मिनेटभित्रै सुनामीको पहिलो लहर समुद्री तटमा बज्रिएको थियो र जापानको उत्तरपूर्वी तटीय क्षेत्रका सहर र गाउँलाई बगाउन थालेको थियो। सेन्दाई सहरमाथिबाट टेलिभिजनको एउटा हेलिकप्टरले उक्त त्रासदीपूर्ण क्षण देखाएको थियो।

त्यसको भोलिपल्ट अझ डरलाग्दो समाचार आयो। एउटा परमाणुकेन्द्रमा पनि क्षति पुगेको थियो। सुनामीको प्रकोपमा परेको फुकुशिमा परमाणु केन्द्रबाट चुहावट हुन थालेको थियो। त्यसैले लाखौँ मानिसलाई घर छाड्न भनिएको थियो। टोक्योले पनि सुरक्षित महसुस गरिरहेको थिएन।

सन् २०११ को आतङ्क र त्रासदी सोमवार दोहोरिन सक्थ्यो। तर भर्खरै गएको यो भूकम्पले जापानको महत्त्वपूर्ण सफलताको कथालाई उजागर गरेको छ। नेपाल पनि भूकम्पीय जोखिममा रहेको क्षेत्र हो । जापानका प्रयासबाट नेपालले क्षति न्यूनीकरणका पर्याप्तै पाठ सिक्न सक्दछ ।

जापानमा भूकम्पको शक्ति म्याग्निट्यूडमा भनिँदैन। जमिन कति जमिन हल्लियो त्यसलाई मापन गरेर त्यसको मान बताइन्छ। त्यस्तो मापनको मान एकदेखि सातसम्म हुन्छ।

सोमवार इशिकावामा भूकम्प जाँदा जमिन अधिकतम सात अङ्कको मानसम्म पुग्ने गरी हल्लिएको थियो।

उक्त भूकम्पले सडक र पुलहरूमा व्यापक क्षति भएको छ। ठाउँठाउँमा भीषण पहिरोहरू पनि गएका छन्। तर अहिले पनि अधिकांश भवनहरू सग्ला सग्लै छन्।

टोक्यो र कानाजावाजस्ता ठूला सहरमा जीवन बिस्तारै सामान्य अवस्थामा फर्किन थालिसकेको छ।सन् १९२३ मा टोक्योमा गएको भीषण भूकम्पपछि सुरु भएको इन्जिनियरिङ उपलब्धिको महत्त्वपूर्ण हिस्साका रूपमा यसलाई लिनुपर्ने हुन्छ।

कान्तो महाभूकम्पका कारण सहरको ठूलो भाग भग्नावशेष बनेको थियो। युरोपेली शैलीबाट निर्माण गरिएका आधुनिक इँटाका घरहरू ध्वस्त भएका थिए।

त्यसलगत्तै जापानले पहिलो भूकम्प प्रतिरोधी भवन संहिता तयार गरेको थियो। त्यसपछि नयाँ भवनहरू निर्माण गर्दा स्टील र कङ्क्रिट प्रयोग गरेर बलियो बनाउनुपर्ने व्यवस्था गरियो।

काठका घरहरूमा मोटा निदाल र दलिन प्रयोग गर्न भनियो। प्रत्येक पल्ट देशमा ठूलो भूकम्प गएपछि क्षतिको अध्ययन गरिएको छ र यी नियमहरूलाई अद्यावधिक गरिएको छ।

सबैभन्दा ठूलो परिवर्तन सन् १९८१ मा गरियो। त्यति बेला नयाँ भवन निर्माण गर्दा जगमा नै साइस्मिक आइसोलेशन भनिने भूकम्प प्रतिरोधी प्रविधि जडान गर्न भनियो।

सन् १९९५ मा कोबेमा ठूलो भूकम्प गएपछि सिकिएका कुराहरूलाई उक्त नियममा समेटिएको थियो। उक्त विधिको सफलता सन् २०११ मा जापानमा गएको म्याग्निट्यूड ९ को शक्तिशाली भूकम्पले प्रस्तुत गरेको थियो।

त्यस बेला कम्पनको तह ५ मापन गरिएको थियो। त्यो जापानको राजधानीले सन् १९२३ को भूकम्पको समयमा महसुस गरेको कम्पनजत्तिकै थियो। सन् १९२३ मा सहर भग्नावशेष बनेको थियो र १,४०,००० को ज्यान गएको थियो।

सन् २०११ मा अग्ला गगनचुम्बी भवनहरू हल्लिएका थिए। झ्यालहरू भत्किएका थिए तर प्रमुख भवनहरू भत्किएनन्। त्यो बेला भूकम्पले नभई सुनामीले धेरै जनाको ज्यान लिएको थियो।

इशिकावामा पुराना काठेघरहरू भूकम्पका कारण धराशायी भएको तस्बिरहरूमा देखिन्छ। एउटा आधुनिक भवन भत्किएको छ।

तर सञ्चारमाध्यमहरूले तुरुन्तै उक्त भवन सन् १९७१ मा निर्माण भएको जनाएका छन्। केही व्यक्तिहरूको ज्यान गएको छ। धेरै जना घाइते भएका छन्। तर पृथ्वीको अन्य कुनै देशमा यो स्तरको भूकम्प गएको परिस्थितिमा यति कम क्षति भएको कल्पना पनि गर्न सकिँदैन।बीबीसी नेपाली

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button