No Image Headlineअन्तराष्ट्रिय

सन् २०२३ लाई फर्केर हेर्दा, यस्ता छन् मुख्य विश्वघटनाक्रम

सन् २०२३ सकिँदै २०२४ सुरु भएको छ। संसारमा नयाँ उत्साह थपिएको छ। विश्व राजनीतिमा यो वर्ष युद्धका कारण ठुलो क्षति भयो। महाशक्ति राष्ट्रका प्रमुखको भेटवार्ता समाचारका ठुला अक्षरमा छापिए। तथापि ती भेटघाटले अर्थपूर्ण उपलब्धि दिएन। संसारमा सित युद्धकै जस्तै अवस्था त आएन। परन्तु नयाँ ध्रुवीकरणका घटना भए।

Patanjali Nepal
SweetMart Nepal

यस वर्ष भएका १० प्रमुख घटना मध्य प्रजातान्त्रिक शासन व्यवस्था माथिको प्रहार मुख्य हो। गएको वर्ष चौथो प्रजातान्त्रिक लहर पैदा हुने अपेक्षा पनि गरिएको थियो। अनुमान गरिए भन्दा ठिक उल्टो लगातार सातौँ वर्ष प्रजातन्त्रका मापक ओरालो यात्रामा देखियो। अफ्रिकामा सेनाले बलजफती कायम रहेको वर्ष जुलाई महिनामा नाइजरमा पनि निर्वाचित सरकारलाई सेनाले बर्खास्त गरेको थियो।

माली र बुर्कीनाफासोमा त युद्धको सम्भावना समेत गएको वर्ष देखिएको छ। अगस्टमा गाबोनमा पनि चाँडो नै निर्वाचन गर्ने भन्दै सेनाले सत्ता कब्जा गरेको थियो। थाइल्यान्डमा नयाँ प्रगतिशील दलले निर्वाचनमा जीत हात पारेको थियो। परन्तु, त्यहाँ प्रो सैनिक सरकारको प्रभावले प्रजातन्त्रका लागि सुखद रहन सकेन।

युरोपमा उग्र दक्षिण पन्थी दलको उदयले एक शताब्दी अघि कसरी प्रजातन्त्र ओरालो लागेको थियो भन्ने कुराको याद दिलाएको छ। ग्वाटेमालामा महान्यायाधिवक्ता नै राष्ट्रपतिको कार्यालय कब्जाको प्रयास गरे। पेरुमा मुद्दामा न्यायाधीशलाई प्रभावमा पारेको समाचार यो वर्ष चर्चामा रहेको छ।

यो वर्ष अन्तरिक्ष विज्ञानमा नयाँ होडबाजी भएको छ। अन्तरिक्षमा मानव प्रयासको एक सय ५० वर्ष लामो इतिहासमा ७७ देशमा स्पेस एजेन्सी खडा भए। यस वर्षको अगस्टमा भारतीय यान चन्द्रमाको दक्षिणी गोलार्ध प्रवेशको घटना प्रमुख समाचार बनेको थियो। स्पेस अपरेसनमा यस वर्ष पनि स्पेस एक्स, ब्लु ओरीजीन र भर्जिन ग्लाटिकले महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

यो वर्ष भारतले जनसङ्ख्यामा सबै भन्दा ठुलो देशको कीर्तिमान राख्यो। वर्षौँदेखि चीन सबै भन्दा बढी जनसङ्ख्या भएको देशको रूपमा थियो। भारतमा १ अर्ब ४३ करोड जनसङ्ख्या छ।

चीनमा प्रौढहरूको सङ्ख्या धेरै भएका कारण जनसङ्ख्या घट्दै गएको छ। यस कारण अबको एक दशक भारतमा नै सबै भन्दा धेरै जनसङ्ख्या हुने निश्चित छ। शताब्दीको मध्यसम्ममा चीनको जनसङ्ख्या १ अर्बमा झरी सकेको हुनेछ। चीनको मध्यम उमेर भने ३९ बाट बढेर ५१ वर्ष भइसकेको हुने छ। त्यसै समयमा भारतको जनसङ्ख्या १ अर्ब ७० करोड हुने अनुमान भने मध्यम उमेर ३९ वर्षको हुनेछ।

यो वर्ष अजरबैजानले नाजारानो काराबाखलाई नियन्त्रणमा लियो। सोभियत सङ्घ विघटन भएको ३ दशकपछि पनि पूर्व सोभियत राष्ट्रको बिचमा सीमामा तनाव यथावतै छ।

सन् १९९४ मा अर्मेनिया र अजरबैजान बिचको युद्धको कारण नाजारानो काराबाख स्वतन्त्र भएको थियो। यस पछि सन् २०२० मा अजरबैजानले फेरि नाजारानोमा आक्रमण गरेको थियो। त्यस समयमा युद्ध विराम त भयो। परन्तु, धेरै जना अर्मेनियामा शरण लिन गई सकेका थिए।

सन् २०२३ को सेप्टेम्बर महिनामा फेरि अजरबैजानले सो स्थानमा धावा बोलेको हो। यसपछि ८५ प्रतिशतले देश छाडेर अर्मेनिया पुगेपछि पूर्ण रूपमा अजरबैजानको नियन्त्रणमा छ। सोही स्थानबाट जन्जीओर कोरिडोरमा कब्जा गर्दै अर्मेनिया, इरान र टर्कीको सीमामा समेत प्रभाव जमाएको छ।

सन् २०२३ मा सुडान प्रजातन्त्रको नजिक पुगेको थियो। तर अन्तिममा सुडानीले गृह युद्धको सामना गरे। अहिलेको गृह युद्धको शृङ्खला सन् २०१९ मा नै सुरु भएको थियो। सेनाले निर्वाचित सरकार अपदस्थ गरेपछि भएको नागरिक विद्रोहलाई साम्य पार्न शक्ति पृथकीकरणको सहमति भएको थियो।

सन् २०२१ मा अब्देल फताहा अल बुराहको नेतृत्वमा रहेको सुडानी आर्मी फोर्स (एसएएफ) र मोहम्मद हामदानको नेतृत्वमा रेपिड सपोर्ट फोर्स (आरएसएफ) दुई सैन्य सङ्गठन अस्तित्वमा आए।

सन् २०२२ को डिसेम्बरमा यी दुई शक्ति जनदबाबका कारण प्रजातान्त्रिक शासनका लागि तयार भए। सहमति अनुसार दुई पक्ष बराबरीको सैन्य समूह तयार गर्ने भन्ने थियो।

सो युद्ध विराम भङ्ग गर्दै सन् २०२३ को १५ अप्रिलमा आरएसएफले साफका सेना माथि देशभर आक्रमण गरेको थियो। आरएसएफले राजधानी खार्तुममाथि कब्जा जमायो भने साफले सुडानी बन्दरगाहलाई नियन्त्रणमा लियो। यो गृह युद्धका कारण १० हजार जनाको ज्यान गएको छ भने सुडानी जनसंख्याको १५ प्रतिशत ५६ लाखलाई निर्वासित गरायो।

यो वर्ष आर्टीफीसियल इन्टलीजेन्स (एआई)ले संसारलाई अचम्ममा पारेको थियो। गत वर्ष बाहिर आएको च्याट जीपीटी यस वर्षको अन्त्यसम्ममा १० गुणा प्रभावकारी भइसकेको छ। यो वर्ष आर्टीफीसीयल इन्टलीजेन्समा महत्त्वपूर्ण ब्रेक थ्रु मानिएको छ।

प्रविधि मार्फत मानव मस्तिष्कलाई नै पार गराउने च्याट जीपीटीले स्वास्थ्यका बारे मात्र महत्त्वपूर्ण गणितीय समस्याको समाधान गर्ने गरेको छ। यसले मानवीय संवेदनामा ठुलो समस्या पैदा गर्नसक्ने अनुमान गर्न थालिएको छ। बेरोजगारी र मानिसको बिचमा सामाजिक भेदभावको समस्या पनि यसले निम्त्याउन सक्ने छ।

यस वर्ष पनि संसारका दुई महाशक्ति चीन र अमेरिका बिचको तनाव यथावतै रह्यो । नोभेम्बर महिनामा बालीमा भएको जी-२० देशको सम्मेलनको समयमा अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सी चिन फिङको बिचमा वार्ता तय भएको थियो।

फेब्रुअरी महिनामा नै सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लीन्केनले यसै वर्ष चीनको जासुसी बेलुन अमेरिकी आकाशमा उडेपछि अमेरिकाले पनि यसलाई प्रहार गरेर दक्षिणी कोरोलीनामा खसालेको थियो। यसैका कारण तनाव बढे पनि वार्ता भङ्ग भएको थियो। थुप्रै विवाद बढेपछि नोभेम्बरमा नै एपेकको बैठकको समयमा सान फ्रान्सीस्कोमा भेट भएको थियो। महत्त्वपूर्ण भेट भए पनि कुनै पनि भेटले अर्थपूर्ण नतिजा दिएनन्।

यसै वर्ष युक्रेनले रुसमा प्रत्याक्रमण गरेको थियो। यसको नतिजा अपेक्षाकृत भएन। रुसले गत वर्षको भन्दा दुई गुणा बढी सैनिक परिचालन गरेर सुरक्षा घेरा बनाएको थियो। युक्रेनको मौका परे क्रेमिया अन्यथा पूर्वी युक्रेनको गुमेको भाग फिर्ता गर्ने योजना बनाएको थियो। आशातीत सफलता हात नलागेपछि नोभेम्बर महिनामा युक्रेनले स्टेलमेटको अवस्थामा रहेको जनायो।

सेप्टेम्बर महिनामा इजरायल र अरब देश बिचको विवाद सुरु भएको थियो। अर्को महिना ७ अक्टोबरका दिन हमासले इजरायलमा आक्रमण गर्न पुग्यो। त्यसको आठ दिन अघि मात्र यमनको गृह युद्ध रोकिएपछि मध्यपूर्व शान्ति तर्फ उन्मुख भएको चर्चा चलेको थियो। त्यस आक्रमणमा एक हजार दुई सय जना इजरायली मारिए भने दुई सय ४० जना बन्दी बनाइए।
त्यसपछि इजरायलले पनि सुरु गरेको हवाई आक्रमणमा कारण धेरै क्षति भइसकेको छ। परन्तु अझै युद्ध रोकिने छाँट देखिएको छैन।

जलवायु परिवर्तन साँच्चै संसारका लागि चुनौतीको विषय बन्यो। १ लाख २५ हजार वर्ष यता सन् २०२३ मा सबै भन्दा बढी तापक्रम पुग्यो। पेरिस सम्झौता २०१५ मा तापक्रम वृद्धि २ डिग्री भन्दा कममा सीमित गर्ने योजना पूर्ण रूपमा तुहिएको देखियो।

डढेलो र बाढी पहिरोले पनि संसारलाई आक्रान्त बनायो। उत्सर्जन अझ माथिल्लो तहमा पुग्ने लक्षण देखा परेपछि यसले धेरै चिन्ता समेत थप्न पुगेको छ। जीवाश्म इन्धनलाई पुन नवीकरणीय ऊर्जाले कसरी विस्थापित गर्ने भन्ने चासो सबैलाई छ।

संसारमा सन् २०२३ का यी प्रमुख घटना हुन्। अन्य धेरै घटना छन् जसले प्रजातन्त्र र मानव अधिकारलाई कमजोर बनाएको छ। धेरै देशमा आर्थिक समस्या थपेको छ। प्राकृतिक विपत्ति देखिएको छ। युद्ध पनि यसै वर्ष भएको छ। यस्ता विभिन्न कारणले पनि यो वर्ष संसारकै लागि उत्साह जनक हुन सकेन।
स्रोत : सीएफआर डट ओआरजी

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button