बालकुमारी घटना अनुसन्धानका लागि पूर्वन्यायाधीसको संयोजकत्वमा आयोग
दुईजना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा अनुसन्धान गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको छ ।
आज बिहान सिंहदरबारमा बसेको बैठकले पूर्वन्यायाधीश शेखर पौडेलको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
आयोगमा पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन् ।
आयोगलाई मानवीय र अन्य क्षतिको विवरण अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । आयोगलाई आजैदेखि काम थाल्न निर्देशन समेत दिइएको मन्त्री शर्माको भनाइ छ ।
यसअघि घटना भएकै दिन घटनासम्बन्धी छानबिनका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा समिति गठन भएको थियो ।
घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको थियो ।