लाइटर जाँचपासमा लफडा : आयातकर्ता भन्छन्-भन्सार प्रमुखले पूर्वाग्रही निर्णय गरे, अख्तियारको दुरुपयोग भयो
वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुखले लाइटरको जाँचपासमा पूर्वाग्रही निर्णय गरेको आरोप आयातकर्ताले लगाएका छन् । भन्सार ऐनमा धरौटीमा छुटाउन पाउने व्यवस्था भए पनि सदस्र्यामा छुटाउन लगाएको आयातकर्ता ओमप्रकाश मोरले बताए ।
भन्सार ऐन २०६४ को दफा ६१ र उपदफा ७ ले यो व्यवस्था गरेको छ । तर, भन्सार विभागविरुद्ध मुद्दा हालको भन्दै मोर इन्टरप्राइजेजले ल्याएको लाइटर धरौटीमा छोड्न भन्सार प्रमुख रामप्रसाद मैनालीले अस्वीकार गरेपछि आयातकर्ता सदस्र्यामा छुटाउन बाध्य भएका थिए ।
अन्य आयातकर्ताको लाइटर धरौटीमा छोडेका भन्सार प्रमुखले आफ्नो सामान धरौटीमा नछोडेको र पूर्वाग्रह राखेर कार्यसम्पादन गरी अख्तियार दुरुपयोग गरेको गुनासो आयातकर्ताको छ । तर, भन्सार प्रमुख मैनालीले भने अन्य नाकाहरुबाट मूल्यांकनअनुसार छुटेकोले यहाँ पनि सोहीअनुसार गरिएको बताए ।
भन्सार ऐन २०६४ को परिच्छेद १२ दफा ६१ मा भन्सार अधिकृतले गरेको मालसमानको मूल्यांकनमा चित्त नबुझेमा ३० दिनभित्र मूल्यांकन पुनरावलोकन समितिमा निवेदन दिन सक्ने प्रवधान छ । सोही दफाको उपदफा ७ मा यसरी निवेदन दिँदा मूल्यांकन अनुसार लाग्ने महशुल भन्सार कार्यालयमा धरौटीमा राख्नुपर्ने व्यवस्था छ ।
भन्सार विभागले गत मंसिर १५ गतेको निर्णयबाट प्रतिकार्टोन मूल्यांकनलाई ४० अमेरिकी डलरबाट बढाएर ६० डलर बनाएको थियो । व्यापारी गौरव मोरले भन्सार विभागविरुद्ध मुद्दा हालेका थिए ।