अर्थमुख्य खबर

राष्ट्रिय ध्वजावाहकका बेथिति : जहाज ग्राउन्डेड राखेर नयाँ किन्ने तयारी

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अहिले स्टल उडानका लागि तीनवटा जहाज खरिदको प्रक्रिया अगाडि बढाएको छ । यस्तै, आन्तरिक ट्रंक रुट र अन्तर्राष्ट्रिय उडानका लागि पनि नयाँ जहाज किन्ने निगमको तयारी छ ।

Patanjali Nepal
SweetMart Nepal

तर, भएकै जहाज पूर्ण क्षमतामा चलाउन नसकिरहेको वेलामा नयाँ जहाज खरिद गर्न लागेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । निगमको एउटा ट्विनअटर विमान १२ वर्षदेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा छ । आन्तरिक उडानका लागि भनेर चीनबाट खरिद गरेर ल्याइएका पाँचवटा जहाज ०७७ साउनदेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा छन् ।

निगम (नेवानि ले आर्थिक वर्ष ०७९/८० मा २२ अर्ब २४ करोड २० लाख आम्दानी गरेको छ । यो अघिल्लो वर्ष ०७८/७९ को तुलनामा ३५ प्रतिशत बढी हो । सो वर्ष १६ अर्ब ४६ करोड आम्दानी भएको महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनले देखाएको छ ।

त्यस्तै, आर्थिक वर्ष ०७७/७८ मा नौ अर्ब ११ करोड भएको निगमले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । तर, कुन–कुन सेवा प्रवाहबाट कति आम्दानी भएको भनेर खुलाएको छैन ।

निगमको कुल आम्दानीमा ग्राउन्ड ह्यान्डलिङ र न्यारोबडी एयरबस ३२० जहाजको योगदान बढी छ । वाइडबडी एयरबस ३३० र आन्तरिक उडानमा भने निगमलाई घाटा रहेको छ । निगमले काठमाडौं, भैरहवा र पोखराका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ (ग्राउन्ड ह्यान्डलिङ) सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्राउन्ड ह्यान्डलिङ सेवा खोसिएको खण्डमा निगमले कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने स्थिति रहेको निगमका अधिकारीहरू बताउँछन् । पछिल्लो समय नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निगमको ग्राउन्ड ह्यान्डलिङ सेवाप्रति असन्तुष्टि जनाउँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी र सक्षम कम्पनी छनोटका लागि तयारी थालेको छ ।

तर, निगमका कर्मचारी संगठनले काम रोकेर आन्दोलनमा उत्रिएपछि पर्यटनमन्त्री सुदन किराँतीले तत्कालका लागि निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा नखोसिने आश्वासन दिएका छन् । निगमसँग अन्तर्राष्ट्रिय दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाज छन् भने आन्तरिकतर्फ दुईवटा ट्विनअटर विमान रहेका छन् ।

जसमध्ये आन्तरिकतर्फ नियमित उडानमा भने एउटा मात्र जहाज हुने गर्छ । निगमले युरोप, अस्ट्रेलिया, कोरिया, जापानलगायत लामो दूरीमा उडान गर्ने उद्देश्यसहित दुईवटा वाइडबडी जहाज खरिद गरेको थियो । तर, अहिले जापानबाहेक अन्य गन्तव्यतर्फ उडान गर्न नसक्दा वाइडबडीमा ठूलो घाटा व्यहोर्नुपरेको छ ।

वाइडबडी विमानलाई भारतको नयाँ दिल्लीजस्तो छोटो दुरीमा उडाउँदा निगमलाई घाटा भएको बताइन्छ । जसका लागि वार्षिक ४८ करोड रुपैयाँ खर्च हुने गरेको राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजकत्वमा भएको एक अध्ययनले देखाएको छ ।  निगम व्यवस्थापन बिग्रिएको जहाज मर्मत गरेर उडाउनमा भन्दा नयाँ जहाज खरिदमा मात्र केन्द्रित हुँदै आएको देखिन्छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button