राजेन्द्र महतो : लोसपामा ‘भाउ’ नपाएपछि नयाँ राजनीतिक शक्तिको तानाबना
सत्तारूढ दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको मङ्सिर २४ गते भएको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता राजेन्द्र महतोको सहभागी भएनन्। बैठक बहिष्कार गर्ने उनको पूर्व घोषणाका कारण त्यो अप्रत्याशित थिएन।
महतो पछिल्ला दिनहरूमा सार्वजनिक चर्चामा छैनन्। अनि उनी पार्टी बैठकहरूमा पनि सहभागी हुन किन छाडे ?
‘पार्टी पार्टीजस्तो नै भएन, यसरी त पार्टी चल्न सक्दैन, महतोले जबाफ दिए, अब मधेशदेखि पहाडसम्मका शोषण, उत्पीडन, अन्याय र अत्याचारमा परेका सबै वर्ग र समुदाय एकजुट हुनुपर्छ। राष्ट्रिय मुक्ति आन्दोलनबाट नै नयाँ राजनीतिक शक्तिको उदय हुन्छ। त्यसमै काम गरिरहेको छु।’
उनको भनाइले उनी अब लोसपामा रहने सम्भावना निकै न्यून देखिन्छ। तर कतिपयले अध्यक्ष महन्थ ठाकुरले सन्तुलन मिलाउने गरी केन्द्रीय समिति पुनर्गठन गरेमा वा उनलाई भूमिका दिएमा महतो सन्तुष्ट हुन सक्ने आकलन गर्छन्।
तर महतो भन्छन्, अब लोपसाले आफ्नो अस्तित्व गुमाइसक्यो, लोसपा लोसे भइसक्यो, काम लाग्दैन। लोसपाको प्रतिनिधित्व सङ्घीय संसद् र प्रदेशसभामा पनि छन्। तर पार्टी विभाजन गर्ने कानुनी बाटो नरहेको कतिपय जानकारहरू बताउँछन्।
नेतृत्वको गतिविधिप्रति असन्तुष्ट महासचिव केशव झाले हाँस्दै भने, पार्टी फोड्न पो नमिल्ला, तर गठन गर्न त कसैले रोक्न सक्दैन नि। उनका भनाइमा पार्टी नचल्ने अवस्था देखिएकाले उनीहरू पार्टीमा रहेको शक्तिलाई संरक्षण गर्दै नयाँ ढङ्गले अघि बढ्ने तयारीमा छन्।
प्रमुख दलहरूलाई नै चुनौती दिने गरी वैकल्पिक राजनीतिक दलहरू उदाएका सन्दर्भमा लोसपाको नेतृत्वले त्यसको सामना गर्ने गरी अघि बढ्न नखोजेको उनको बुझाइ छ। वैचारिक र साङ्गठनिक रूपमा नेतृत्व गर्ने गरी अघि बढ्न नसकेपछि पार्टीको भविष्य अब देखिएन, महासचिव झाको ठहर छ।
केन्द्रीय समितिको बैठकमा अर्का वरिष्ठ नेता अनिलकुमार झा पनि सहभागी भएनन्। तर उनले आफ्नो अनुपस्थितिबारे केही जनाएका छैनन्। असन्तुष्ट पक्षले बैठकमा ३११ केन्द्रीय सदस्यमध्ये आधा पनि सहभागी नभएको र त्यसले पनि अध्यक्ष ठाकुरको वैधानिकमा प्रश्न उठेको बताउने गरेको छ।
तर महन्थ ठाकुर पक्षका नेता वरिष्ठ उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लले बाहिर आए जस्तो पार्टीमा असन्तुष्टि र विवाद नरहेको बताए। केन्द्रीय समितिमा साथीहरूलाई समेट्ने कुरा राजेन्द्र महतोजीहरूले उठाउनुभएको हो, त्यो गर्ने कुरा भएको छ, उनले भने, त्यसैले असन्तुष्टि जनाए पनि उहाँ कतै जानुहुन्न। यहीँ रहनुहुन्छ।
उनले बैठकमा बहुमत नपुगेको भन्ने कुरा पनि गलत भएको दाबी गरे। तराई केन्द्रित दलहरू बारम्बार जुट्ने र फुट्ने गरेका छन्। राजेन्द्र महतो पनि विभिन्न दलको नेतृत्व तहमा रहेर त्यस्तो चक्कर लगाइरहेका नेतामा पर्छन्।
त्यसैले सत्तामा रहँदा मौन बस्ने र सडकमा चर्को कुरा गर्ने भन्दै कतिपयले त्यस्ता नेताहरूको आलोचना गर्ने गरेका छन्। त्यसैले उनीहरूप्रति जनताको गहिरो अविश्वास रहेको बताउने गरिन्छ।
त्यो कुरा स्वीकार गर्दै महतो भन्छन्, हो, तर पहिले गर्न सकिएन भन्दैमा हरेस खाने कुरा भएन। हामी सबै एकजुट भएर नयाँ विकल्प दिने गरी अघि बढ्नुपर्छ।