नेपाली आयातकर्ताहरुले तेस्रो मुलुकबाट आयात गरेको ग्यास लाईटरको वास्तविक मूल्यभन्दा अत्यन्तै बढी मूल्यांकन भंसार प्रशासनबाट भइरहेको कारण आयातकर्ताहरु मर्कामा परेको वीरगञ्ज उद्योग वाणिज्य संघले बताएको छ । बुधबार संघका अध्यक्ष अनिल अग्रवालले पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् ।
भंसारले ग्यास लाईटरको मूल्यांकन अस्वभाविक रुपमा बढाएको कारण आयातकर्ताहरुले जाँचपास गराउन नसकी ग्यास लाईटरहरु भंसार यार्डमैं अनलोड गराउनु परेको अग्रवालले बताएका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विगतदेखि नै भंसार मूल्यांकनलाई पारदर्शी बनाउनु पर्नेतर्फ सम्बन्धित निकायहरुमा ध्यानाकर्षण गराउँदै आएको बताउँदै उनले भंसार मूल्यांकनलाई लिएर दिनहुँ विभिन्न समस्याहरु सिर्जना भइरहेको गुनासो पनि गरे ।
‘उद्योग, व्यापार, आयात, निर्यात लगायत समग्र व्यावसायिक क्रियाकलाप खस्किदो अवस्थामा रहेको बखत व्यावसायिक गतिविधिलाई सहज र निर्वाध रुपमा सञ्चालन गर्ने दिशामा राज्य संयन्त्रको भूमिका केन्द्रित हुनुपर्नेमा सोको विपरीत आयातमा गरिएको अव्यवहारिक नियन्त्रणले ठूलो समस्या सिर्जना गरेको छ,’ अग्रवालको भनाइ थियो, ‘ग्यास लाईटरको मूल्यांकन वृद्धि एक्कासि किन भएको भन्दा विदेशबाट आयातित लाईटर छिमेकी देशमा चोरी निकासी हुने गर्दछ भन्ने औचित्यहीन तर्क भन्सार विभागका डिजीले अघि सारेको देखिन्छ ।’
यसभन्दा अघि पनि नेपालमा आयातित केराउ, मरिच र सुपारी लगायतका खाद्यवस्तुहरु छिमेकी मुलुकहरुमा चोरी निकासी पैठारी भइरहेको भनी शंकाकै भरमा आयातमा रोक लगाइए पनि ति वस्तुहरु नेपालमा छ्यापछ्याप्ती पाइएको दाबी संघका उपाध्यक्ष माधव राजपालले बताए ।
‘यस्ता बस्तु ग्रे च्यानलबाट आयात भइरहेको सहजै भन्न सकिन्छ । त्यसैगरी नेपालबाट छिमेकी मुलुकहरुमा निकासी भइरहेको शंकाकै आधारमा विभिन्न तरिकाले ग्यास लाईटरको आयातमा प्रतिबन्ध लगाइए पनि ग्रे च्यानलबाट आयात नहुने र सरकारको राजस्वमा समेत ह«ास नहुने भन्ने विषय पनि विचारणीय छ,’ राजपालको भनाइ छ ।’
ग्यास लाईटरको जाँचपासका सम्बन्धमा भंसार कार्यालयहरुले उक्त वस्तुको हालको अन्तर्राष्ट्रिय बजारको वास्तविक मूल्यलाई मान्यता नदिई आपूmखुशी भंसार मूल्यांकन कायम गरेको आरोप व्यापारीको छ । राजस्व बढाउने नाममा सरकारले व्यापारीमाथि ज्यादति गरेको आरोप उनीहरुको छ ।
यसअघि तेश्रो मुलुकबाट आयात भएका ग्यास लाईटरको भंसार मूल्यांकन दर ४० यु.एस. डलर प्रतिकार्टुनमा पास हुँदै आएकोमा अहिले आएर सुख्खा बन्दरगाह भंसार कार्यालयले २० यु.एस. डलर थपेर प्रतिकार्टुन ६० मूल्याङ्कन गरेको छ ।
प्रविधि उपयोग गरेर कुनै पनि वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य थाहा पाउन सकिने प्रशस्त आधार हुँदाहुँदै भंसार सन्दर्भ पुस्तिकालाई आधार बनाएर मूल्यांकन गर्ने परिपाटी गलत भएको दाबी आयातकर्ताको छ । भंसार मूल्यांकन बढाउने निर्णय भएको मितिदेखि पहिले खोलिएका एल.सी. तथा बाटोमा आई सकेका सामानको हकमा पूर्व अनुसारको भंसार मूल्यांकन नै कायम गरी भंसार जाँचपासको व्यवस्था हुनुपर्ने माग संघले गरेको छ ।
केही समयदेखि भंसार राजस्व संकलनमा आइरहेको कमीलाई सूक्ष्म रुपमा विश्लेषण गरी छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय बजारबाट आयातित मालवस्तुहरु मध्ये कुन कुन वस्तुहरु औपचारिक माध्यमबाट र कुन कुन वस्तु अनौपचारिक माध्यमबाट आइरहेका छन् त्यसलाई अध्ययन गरी अनौपचारिक माध्यमबाट आइरहेका वस्तुहरुलाई पहिचान गरेर औपचारिक माध्यमबाट ल्याउने नीति लागु गर्न सकिएमा भंसार राजस्वमा वृद्धि हुने प्रशस्त आधारहरु रहेको राजपालले बताए ।
‘तर सो नभई हचुवा र तदर्थ सोचका साथ भंसार मूल्यांकन हुने गरेकोबाट थप अन्यौल र अनौपचारिक व्यापारले प्रश्रय पाइरहेको छ । यसतर्फ शीघ्र पहल होस् भन्ने सङ्घको धारणा रहेको छ,’ अध्यक्ष अग्रवालले भने ।