आज बालाचतुर्दशी : किन छरिन्छ शतबीज, यस्तो छ मान्यता
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै देशभरका शिवालयमा शतबीज छरिँदैछ।
आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन्। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन्।
पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्छन्।
त्रयोदशीका बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन्। चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ। त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड महादीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन्।
यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ। बालाचतुर्दशीको अघिल्लो रात आइतबार दिवङ्गत पितृका नाममा महादीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन्।
शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ।
हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार शतबीज भन्नाले धानका सय गेडा छर्नुपर्ने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमको भनाइ छ।
वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ।
यस्तो छ मान्यता
यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ। सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो। सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए।
त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्फत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ।
आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो। मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो।
माता पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नुनहुने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो। धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ। यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पनि पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ।