अवैध आयात नियन्त्रणका विरोधाभास : तस्करीलाई ‘नीतिगत प्रोत्साहन’ कहिलेसम्म ?
भन्सारबाट उठ्ने राजस्व लक्ष्यको करीब आधामा खुम्चिएको छ । आर्थिक गतिबिधिमा आएको मन्दी त यसको कारण हुँदै हो, सरकारको राजस्व नीति पनि यसमा जिम्मेवार देखिएको छ ।
भन्सारमा उच्चदरको महशुलको छेको हाल्दा त्यस्ता सामान अवैध रुपमा स्वदेशको बजारमा भित्रिएका छन् । परिणाम, राजस्वमात्र गुमेको छैन, स्वदेशका उद्यम पनि प्रतिकुल असरको मारमा परेका छन् । तर, सरकार यसको नीतिगत सम्बोधनमा उदासीन देखिनुलाई अर्थपूर्ण मानिएको छ ।
केही ताजा उदाहरण हेरौं, भर्खरै बितेका चाडपर्वमा पनि व्यापार नभएपछि सीमावर्ती शहर वीरगञ्जका व्यापारी निराश छन् । माइस्थानचोकका व्यापारी दीपक सर्राफलाई दशैं, तिहार र छठजस्ता चाडपर्वमा व्यापार बढ्ने आश थियो । तर, उनी निराश भए । उनको पसलमा अपेक्षाअनुसार ग्राहक आएनन् ।
आर्थिक मन्दीका कारण व्यापार नभएर चिन्तामा डुबेका व्यापारी चाडपर्वमा केही व्यापार होला र राहत पाइएला भन्ने आशमा थिए । चाडपर्वमा पनि आश गरेजस्तो व्यापार नभएपछि सर्राफजस्ता वीरगञ्जका सबैजसो व्यापारी अब के गर्ने भन्ने चिन्तामा छन् ।
वीरगञ्जका व्यापारी ग्राहक कुरेर दिन बिताइराख्दा सीमापारिको भारतीय शहर रक्सौलमा भने नेपाली ग्राहकको भीड लाग्ने गरेको छ । ‘चाडपर्वमा त रक्सौलमा नेपाली ग्राहकको भीडले खुट्टा राख्ने ठाउँ पाउन पनि मुश्किल हुन्छ । अघिपछि पनि दैनिक उपभोग्य वस्तुदेखि लुगाफाटो किन्नेमा त्यहाँ सीमावारिका ग्राहक नै बढी भेटिन्छन्,’ व्यवसायी राजेन्द्र गुप्ता भन्छन् ।
सरकारले २०६४ सालमै सय रुपैयाँभन्दा बढीको सामान भित्त्याउँदा भन्सार महशुल तिर्नुपर्ने नियम ल्याएको थियो । तर, यो कार्यान्वयनमा छैन ।
वीरगञ्ज र आसपासका क्षेत्रका ग्राहकले मात्र भारतीय बजारमा किनमेल गर्दैनन्, अहिले सीमाक्षेत्रबाट अवैध आयात पनि मौलाएको छ । सीमावर्ती बजारमा यस्ता सामान छ्यापछ्याप्ती पाइन्छन् ।
भन्सार छलेर ‘क्यारिअर’मार्फत भित्रिने यस्ता सामान काठमाडौंलगायत देशका मुख्य शहरमा पुग्ने गरेको दाबी व्यापारीको छ । सरकारले अवैध आयात नियन्त्रणका लागि सिमानामा भन्सार, प्रहरी प्रशासन, राजस्व अनुसन्धानका निकाय खटाएको छ । तर, तस्करी रोकिएको छैन ।
ती निकायको मिलेमतोमै तस्करी फस्टाएको गुनासो व्यापारीको छ । ‘अवैध आयातको साम्राज्य यति बलियो बन्दै गएको छ कि यस्ता सामानको अगाडि स्वदेशी मालसामानले बजार पाउन चुनौती भइसकेको छ,’ एक व्यापारीले भने ।
भारतबाट हुने कुल आयात रकमको करीब ३५ प्रतिशत जतिको मालसामान अनौचारिक माध्यमबाट भित्रिने अनुमान सरकारी निकायकै छ । नेपाल राष्ट्र बैंकले केही वर्षअघि गरेको अध्ययनले यस्तो देखाएको थियो ।
तस्करीको माध्यमबाट मालसामान भित्रिँदा स्वदेशमा व्यापार, उत्पादन र त्यससँग सरोकार राख्ने सबै पक्षमा प्रतिकूल प्रभाव परेको व्यवसायी गुप्ता बताउँछन् । भारतले वस्तु तथा सेवा करमार्फत करप्रणालीमा गरेको सुधारले त्यहाँ आम उपभोगका वस्तु सस्तो भएपछि नेपाली ग्राहक त्यताका बजारमा आकर्षित भएको जानकार बताउँछन् ।
संस्थागत रूपमा भइरहेको अवैध आयातको कारण पनि यही भएकाले सरकारले राजस्व प्रणालीमै सुधार नगरेसम्म तस्करीको समस्या नियन्त्रण नहुने उनीहरूको दाबी छ । भारतले आम उपभोगका वस्तुमा कम र बिलासी वस्तुमा बढी कर लिएको छ ।
‘त्यहाँ आम उपभोगका वस्तुको मूल्य कम हुँदा यता अवैध रूपमा आयात भइरहेको छ । हामीकहाँ तिनै वस्तुको आयातमा उच्च दरको राजस्व राखिएको छ । यसले यताका ग्राहक पारिका बजार गएर किन्ने र तस्करीको समस्या देखिएको छ,’ नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी भन्छन् ।
नेपालको भन्सारमा लिइने कुल राजस्वलाई भारतमा लिइने वस्तु तथा सेवा करबराबर बनाउने हो भने यो समस्या स्वतस् समाधान हुने टेमानीको दाबी छ । नेपालमा हुने निर्यातमा भारतले वस्तु तथा सेवा कर लिँदैन ।
सो करबराबर स्वदेशी भन्सारको राजस्व भएमा सबै मालसामान भन्सारबाटै भित्रिने दाबी व्यापारीको छ । अहिले दैनिक उपभोग्य खाद्यान्न, कपडा, भाँडा, विद्युतीय सामग्री लगायतको अवैध व्यापार भइरहेको छ ।
अवैध आयातबाट सामान भत्रिँदा, गन्तव्यमा पुर्याउँदा र पछि कर अनुसन्धानको नाममा नियामक निकायका अधिकारीले व्यापारीलाई दोहन गर्न पाउँछन् । यस्तो अनधिकृत कमाई ती निकायमा स्थानीय अधिकारीदेखि विभागीय उच्च ओहोदाधारी हुँदै सत्तामा रहेका राजनीतिक नेतृत्वसम्म पुग्ने भएपछि सरकारले अघोषित रुपमा यस्तो अवैध कारोबारको पक्षपोषण गरिरहेको छ । सरकारले जानाजान राखेको नीतिगत छिद्र समातेर दुई नम्बरी कारोबार मौलाएको जानकाहरुको दाबी छ ।