युरोकपको खेल तालिका : कुन टीम कुन समूहमा ?
जर्मनीमा हुने युरोकप २०२४ को समूह विभाजनसहित खेल तालिका सार्वजनिक भएको छ । कूल २४ टिमले प्रतिस्पर्धा गर्ने युरोकपमा सहभागीलाई ६ समूहमा विभाजन गरिएको छ ।
यूरोपियन फुटबल संघले सार्वजनिक गरेको समूह विभाजनमा साविक विजेता इटली र स्पेन एकै समूहमा परेका छन् । इटली र स्पेनसहित क्रोएसिया र अल्बानिया समूह ‘बी’ मा छन् ।
इटली सन् २०२० को युरोकप विजेता राष्ट्र हो । उसले फाइनलमा इंग्ल्याण्डलाई पेनाल्टीसुटआउटमा हराएर उपाधि जितेको थियो ।
आयोजक जर्मनी समूह ए मा छ । यस समूहमा स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्याण्ड पनि छन् । यस्तै समूह सी मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इंग्ल्याण्ड छन् ।
फ्रान्स, नेदरल्याण्ड्स र अष्ट्रिया समूह डी मा छन् । यस समूहको अर्को टिमको टुङ्गो प्लेअफ खेलपछि हुनेछ । प्लेअफ ए को विजेता यस समूहमा पर्नेछन् ।
यस्तै समूह ई मा बेल्जियम, रोमानिया र स्लोभाकिया छन् भने प्लेअफ बी को विजेता यस समूहमा पर्नेछ । यसैगरी समूह एफ मा टर्की, पोर्चुगल र चेक रिपब्लिक छन् भने प्लेअफ सी को विजेता यस समूहमा पर्नेछ । युरोकप २०२४ को उद्घाटन खेल जुन १४ मा घरेलु टोली जर्मनी र स्कटल्याण्ड भिड्ने छन् ।