हमासले नियन्त्रणमा लिएका विपिन जोशीको अवस्था अझै अज्ञात

हमासको नियन्त्रणमा रहेका इजरेलीसहित अन्य देशका नागरिकहरू मुक्त भइरहेका भए पनि नेपाली विद्यार्थी विपिन जोशीबारे हालसम्म स्पष्ट जानकारी नआएको सरकारी अधिकारीहरूले बताएका छन्।



यद्यपि उनी हमासको नियन्त्रणमा रहेको भन्दै इजरेली सुरक्षा अधिकारीहरूले विभिन्न आधारहरू दिएका छन्। त्यसैअनुरूप आफूहरूले उनको मुक्तिकला लागि कूटनीतिक पहल जारी राखेको नेपाली अधिकारीहरूको भनाइ छ।



दुई दिनअघि मात्र नेपालका परराष्ट्रमन्त्रीले त्यसका लागि हमाससँग कुरा गरिदिन उससँग राम्रो सम्बन्ध भएका कतार र इजिप्टलाई आग्रह गरिएको बताएका थिए। उनले हमाससँग सीधै कुराकानी गर्ने आफूहरूको माध्यम नभएकाले त्यसो गरिएको बताए।



यद्यपि थाईल्यान्डले आफ्ना नागरिकहरू छुटाउन हमाससँग सीधै कुराकानी गर्ने बताएको थियो र उसले कतार तथा इजिप्टको सहायताबाटै नागरिकहरू छुटाइरहेको बताइएको छ।
विपिन जोशीको परिवारका सदस्यहरूले लगातार उनको मुक्तिका लागि वास्तविक पहल गरिदिन सरकार र अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिरहेका छन्। जोशी हमासको नियन्त्रणमा रहेको बताइए पनि हमासले सार्वजनिक रूपमा त्यसबारे कुनै जानकारी सार्वजनिक गरेको छैन।