व्यापारमा नियन्त्रण हटाए पनि किन बौरिएन बजार ?
सरकारले आयातमा लगाएको नियन्त्रण हटाए पनि वैदेशिक व्यापारमा सुधार नदेखिएको भन्सार अधिकारीहरू बताउँछन् । कर्जामा बैंकहरूले लिइरहेको उच्च ब्याजदर र अर्थतन्त्रबारे बढ्दो अन्योलका कारण बजारमा माग सृजना हुन नसक्दा समग्र उत्पादन र व्यापार प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी बताउँछन् ।
विदेशी विनिमय सञ्चितिमा दबाब परेको भन्दै सरकारले गत आवको असोजदेखि वैदेशिक व्यापारमा नियन्त्रणको नीति अपनाएको थियो । सञ्चितिमा सुधार आएको भन्दै नियन्त्रण हटाइए पनि व्यापारमा सुधार नदेखिएको भन्सारले बताएको छ । व्यापार घटेपछि त्यसको असर भन्सारबाट हुने राजस्वमा पनि परेको हो ।
चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चौमासिक अवधिमा देशको मुख्य नाका वीरगञ्जमा रहेको भन्सारको राजस्व असुली खुम्चिएको छ । त्रैसमासमा लक्ष्यको ६८ दशमलव ३५ प्रतिशत उठाएको वीरगञ्ज भन्सारले चौमासिक अवधिमा लक्ष्यको करीब ६४ प्रतिशमात्र राजस्व संकलन गरेको हो ।
गत आव २०७९/८० को समीक्षा अवधिमा यो भन्सारले ६७ दशमलव ३४ प्रतिशत राजस्व उठाएको थियो । यो भन्सारले चालु आवको साउनदेखि कात्तिकसम्मको ४ महीनाका लागि ७७ अर्ब २८ करोड रुपैयाँ उठाउने लक्ष्य पाएकोमा ४९ अर्ब १८ करोड रुपैयाँमात्र संकलन भएको भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिएका छन् ।
यो लक्ष्यको ६३ दशमलव ६४ प्रतिशत हो । भन्सार कार्यालयले चालु आवको ४ महीनामा भन्सार महशुल १८ अर्ब ४८ करोड रुपैयाँ र मूल्यअभिवृद्धि कर २० अर्ब ८५ करोड रुपैयाँ उठाएको छ । यो अवधिमा अन्तः शुल्क ३ अर्ब ८९ करोड रुपैयाँ उठेको भन्सारको तथ्यांक छ ।
वीरगञ्ज नाकाबाट मुख्यरुपमा इन्धन र औद्योगिक कच्चा पदार्थको आयात हुन्छ । औद्योगिक उत्पादन र व्यापार २५/३० प्रतिशतमा झरेको उद्यमीहरूले बताएका छन् । बजार नै खुम्चिएपछि कच्चा पदार्थ र इन्धनको आयात पनि घटेको उनीहरूको भनाइ छ ।