दुर्गा प्रसाइँ सत्ताप्रति नरम, तर प्रतिपक्षप्रति आक्रामक : यस्तो छ नालीबेली ?
विवादास्पद व्यवसायी दुर्गा प्रसाइँ कुनै बेला नेकपा एमालेका केन्द्रीय सदस्य थिए। आज उनी एमाले अध्यक्ष केपी ओलीको कडा आलोचकको रुपमा देखा परेका छन् । यतिसम्म कि उनले ओलीले विदेशमा अवैध लगानी गरेको आरोपसमेत लगाए । केहीअघि उनले क्याम्बोडियाको टेलिकम क्षेत्रमा ओलीको लगानी रहेको अभिव्यक्ति दिएका थिए। तथापि, उनले यो आरोपको पुष्टि भने सकेका छैनन् ।
सार्वजनिक कार्यक्रमहरूमा उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हजुरबुवाको नाता लगाउँदै बोल्थे। उनी कुनै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि निकट मानिन्थे। सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्तामा प्रसाईँले पहिला आफू माओवादी पार्टीमा आबद्ध भएको बताउने गरेका छन्। उनी पछि एमाले बनेका थिए। अहिले भने उनी प्रखर गणतन्त्रविरोधी बनेका र हिन्दूराष्ट्र तथा राजतन्त्रको पक्षमा लागेका देखिन्छन्।
उनी आफू अहिलको व्यवस्थाको विरोधमा रहेको बताउने गरेका छन् । अहिले सरकारमा भएका मुख्य दल माओवादी केन्द्र र नेपाली कांग्रेस हुन्। तर केही महिनादेखि प्रसाईँले एमाले नेतृत्वको चर्को आलोचना गर्दै आएका छन्।
विभिन्न माध्यमबाट उनले एमाले र उक्त दलका अध्यक्ष ओली एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध अभिव्यक्ति दिइरहेको देखिन्छ। ओली र बस्नेतसहित एमाले नेताले उनको विभिन्न आलोचना गर्दै उनलाई नियन्त्रण र कारबाही गर्नुपर्ने टिप्पणी समेत गर्ने गरेका छन्।
कतिपयका विश्लेषणमा कुनै बेला एमालेकै केन्द्रीय सदस्य बनेका प्रसाईँ र एमालेका नेताहरूबीच सम्बन्ध बिग्रिनुमा एमाले र ओलीबाट उनको स्वार्थ पूर्ति नहुनु पनि एक प्रमुख कारण हुन सक्छ। एमाले र माओवादी मिलेर गठित तात्कालिक नेकपाका अध्यक्षद्वय प्रचण्ड एवं ओलीलाई आफ्नो घरमा मार्सी चामलको भात खुवाएको एउटा तस्बिर सार्वजनिक भएपछि प्रसाईँ एकाएक चर्चामा आएका थिए।
उनी त्यस बेला आफूले झापामा स्थापना गरेको एउटा मेडिकल कलेजलाई सम्बन्धन लिने प्रयासमा थिए। मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई चिकित्साशास्त्र अध्यापन गराउन सम्बन्धन दिन नहुने लगायतका माग राखेर प्रा डा गोविन्द केसीले गरेको सत्याग्रहका कारण प्रसाईँका जस्तै मेडिकल कलेजहरूलाई सम्बन्धन नदिन सरकार दबावमा परेको थियो।
तात्कालिक अवस्थाको शक्तिशाली दललाई आफ्नो हातमा लिँदा सहजै सम्बन्धन पाउने अपेक्षामा प्रसाईँले ओली र प्रचण्डबीच समझदारी बढाउन आफ्नै घरमा बैठक राखेको र प्रभावित पार्न खोजेको धेरैको बुझाइ थियो। केही दिनअघि एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रसाईँले ओली र प्रचण्डबीच विसं २०७४ सालको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गराउन आफूले भूमिका खेलेको दाबी गरेका छन्।
ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएको प्रसङ्गबाट चर्चामा आएका प्रसाईँ पछि नेकपा फुटेपछि एमालेका केन्द्रीय सदस्य बने। एमालेको केन्द्रीय सदस्य रहेकै बेला गत वर्ष झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर एउटा कार्यक्रम गरेपछि उनी उक्त दलबाट निष्काशित हुन पुगे।
त्यसपछि उनी एमालेविरुद्ध उग्र रूपमा प्रस्तुत हुँदै आएका छन्। केपी ओलीसँग पारिवारिक नाता भएको देखाउन रुचाउने प्रसाईँले केहीअघि मात्र एमाले अध्यक्ष ओलीको विदेशको एउटा कम्पनीमा लगानी रहेको भन्ने आरोपका बारे विवादास्पद अभिव्यक्ति दिएका थिए।
राजधानीमै भएको प्रसाईँको एउटा कार्यक्रमपछि केही व्यक्तिले उनलाई कालमोसो पनि दलेका थिए। त्यसको आरोप उनले एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ र एमाले नेता महेश बस्नेतमाथि लगाए।
एमालेबाट निष्काशित हुँदाखेरि पनि प्रसाईँले बैंकको ब्याज र किस्ता नतिर्न आग्रह गर्दै देशव्यापी अभियान चलाइरहेका थिए। उनले लघुवित्त, सहकारीदेखि बैंकसम्मको ऋण मिनाह हुनुपर्ने नारालाई अघि सार्दै मान्छेहरू भेला पार्ने र कार्यक्रम गर्ने गर्दै आएका छन्।
उनले अहिले व्यवस्था परिवर्तन गर्ने एजेन्डा सँगै ऋणीहरूको २० लाख रुपैयाँसम्मको ऋण मिनाहा हुनुपर्ने माग पनि अघि सारेका छन्। त्यस्तै २० लाख रुपैयाँभन्दा माथिको ऋण पनि २० वर्षभित्र ६ प्रतिशत ब्याजदरमा तिर्न पाउनुपर्ने माग उनको छ।
त्यस्ता कुराले सामाजिक सञ्जालमा निकै चर्चा बटुले। प्रसाईँले विवादित अभिव्यक्तिहरू दिने क्रमलाई निरन्तरता दिए।प्रसाईँ प्रायः ओलीविरुद्ध खनिने गरेका छन्। ओलीपछि उनको तारोमा महेश बस्नेत पर्ने गरेका छन्।
आफूलाई कालोमोसो दलिएपछि ओलीप्रति उग्र बनेका प्रसाईँले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखिएको तर ओलीमा नभएको टिप्पणी समेत गरेका थिए। त्यसलाई कतिपयले उनले सत्ताधारीप्रति नरम र ओलीप्रति कडा अभिव्यक्ति दिएको रूपमा पनि अर्थ्याएका छन्।
प्रसाईँले एक पटक कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतलाई दिएर नेपालले बन्दरगाहसम्मको पहुँच लिनुपर्ने अभिव्यक्ति दिएका थिए। त्यसलगत्तै ओलीले उनको नाम नलिईकन सरकारले प्रसाईँलाई पक्राउ गर्नुपर्ने बताएका थिए।
प्रसाईँले एमाले र केपी ओलीबाट धेरै अपेक्षा गरे एउटा बिन्दुमा। प्रसाईँ मेडिकल व्यवसायी थिए तर उनले सम्बन्धन पाएनन्। पहिले माओवादी रहेका उनी ओली शक्तिशाली र सत्ताधारी हुने देखेपछि स्वार्थवश त्यता लागेका हुन्, विश्लेषक प्रा कृष्ण पोखरेलको आकलन छ। उनको अपेक्षा पूरा नभएपछि अहिले उनी राजा भनेर लागेका छन्।
राजनीतिक विश्लेषक हरि रोका नेताहरूबाट आफ्नो स्वार्थ पूरा नभएपछि प्रसाईँ उनीहरूविरुद्ध लागेको हुनसक्ने ठान्छन्। पहिला उनीसँग निकट सम्बन्ध भएका नेताहरू अहिले सत्ता र प्रतिपक्षमा भएको औँल्याउँदै रोका एक व्यक्तिविरुद्ध सिङ्गो पार्टी लागेजस्तो गरी त्यसलाई राजनीतिक रङ्ग दिएकोमा आश्चर्य प्रकट गर्छन्।
सार्वजनिक रूपमा दिने अन्य अभिव्यक्तिहरूमा पनि प्रसाईँले आफू कुनै पनि स्वार्थ लिएर नेताहरूको पछि नलागेको र अहिले नेताहरूले देश सिध्याउन लागेकाले सडकमा आउनुपरेको दाबी गर्ने गरेका छन्।
प्रसाइँले केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफूले करिब पाँच अर्ब ऋण लिएको तर कसैले ऋण मिनाहा गरिदेलान् भनेर नसोचेको दाबी गरेका छन्। उनले आफूले ऋण तिर्न नसके पनि बैंकले लिलामी गर्नका लागि आफूले प्रशस्तै जग्गा धितो राखेको बताएका थिए।