अन्तराष्ट्रिय

इजरेली सेनाले किन हमासका वरिष्ठ नेताको घरलाई बनायो निशाना ?

इजरेली सेनाले लडाकु विमानहरू प्रयोग गरी हमास लडाकु सङ्गठनका एक वरिष्ठ नेता इस्माइल हनियाको घरमा आक्रमण गरिएको दाबी गरेको छ। हानिया सन् २०१७ सम्म हमासको राजनीतिक विभागका प्रमुख थिए। उनी कैयौँ वर्षदेखि कतारमा बस्दै आएका छन्।

हानिया सन् १९८० को दशकको अन्त्यमा हमासका प्रमुख सदस्य थिए। उनलाई तीन वर्ष इजरेलको जेलमा पनि राखिएको थियो। गाजा फर्किनुअघि उनले निर्वासनमा एक वर्ष बिताएका थिए।

सन् १९९७ मा उनलाई हमासको आध्यात्मिक नेताको कार्यालयको प्रमुख घोषणा गरिएको थियो। त्यसबाट उनको अवस्था बलियो बनेको थियो। सन् २००६ मा प्यालेस्टिनी राष्ट्रपति महम्मुद अब्बासले हानियालाई प्रधानमन्त्री नियुक्त गरेका थिए। तर त्यसको एक वर्षपछि साताव्यापी हिंसात्मक द्वन्द्वमाझ अब्बासको फताह पार्टी गाजा क्षेत्रबाट विस्थापित भएको थियो अनि हानिया पदमुक्त भएका थिए।

हनियाले आफूलाई हटाउने कदम असंवैधानिक रहेको बताउँदै आफ्नो सरकारले प्यालेस्टिनी नागरिकप्रतिको राष्ट्रिय दायित्वलाई नछाड्ने बताएका थिए। उनले गाजामा आफ्नो शासन निरन्तर रहेको दाबी पनि गर्दै आएका थिए। यसअघि इजरेलको सेनाले हमासका वरिष्ठ नेताको गाजास्थित घरमा आक्रमण गरेको जनाएको थियो। उक्त हमलामा कोही हताहत भए कि भएनन भन्ने स्पष्ट छैन।

इजरेली सेनाले उक्त भवन आतङ्ककारीहरूको पूर्वाधार भएको आरोप लगाउँदै त्यसलाई हमासका वरिष्ठ नेताहरूले बैठकका लागि प्रयोग गर्ने गरेको दाबी गरेको छ। बुधवार राति लडाकु विमानहरू प्रयोग गरी उक्त भवनमा आक्रमण गरिएको बताइएको छ।

उक्त क्षेत्रमा उत्पन्न अस्तव्यस्त अवस्थाका कारण गाजाबाट क्षतिको वास्तविक विवरण प्राप्त गर्न कठिन भइरहेको देखिन्छ। इजरेलले हमासको प्रमुख कमान्ड केन्द्र भन्दै आएको गाजा सहरस्थित अलशिफा अस्पताल क्षेत्रमा खोजी जारी राखेको छ। इजरेलले आफ्ना सैनिकहरू अघि बढ्दा हमासका लडाकुहरू भागेको उल्लेख गरेको छ।

यसैबीच इजरेली सेनाले गाजामा आफ्ना सेनाले स्थल कारबाही सुरु गरेयता ज्यान गुमाउने आफ्ना सैनिकको सङ्ख्या ५० पुगेको जनाएको छ। पछिल्लो पटक थप दुई जना इजरेली सैनिकले गाजामा ज्यान गुमाएका छन्।

सोमवार हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले त्यहाँ ११,२४० जनाको ज्यान गइसकेको र मारिनेमध्ये ४,६३० जना बालबालिका रहेको जनाएको थियो।

राष्ट्रसङ्घीय प्रस्तावको आलोचना किन ?

इजरेल र प्यालेस्टाइन दुवैले गाजामा तत्काल मानवीय कामका लागि लडाइँ रोक्न माग गरिएको राष्ट्रसङ्घीय सुरक्षा परिषद्को एउटा प्रस्तावको आलोचना गरेका छन्। प्यालेस्टिनी दूत रियाद मन्शुरले मानवीय कामका लागि अस्थायी रूपमा लडाइँ रोक्नुभन्दा पनि लामो समयअघि नै युद्धविराम गरिनुपर्थ्यो भनेका छन्।

इजरेलका राजदूतले उक्त प्रस्तावको कुनै औचित्य नरहेको बताए। बुधवार अनुमोदित प्रस्ताव इजरेलले गाजामा पाँच साताअघि सुरु गरेको बम आक्रमणयता त्यसबारे सहमति जनाइएको पहिलो दस्तावेज हो। त्यसमा बन्दीहरूलाई विनाशर्त रिहा गर्न भनिएको छ। बीबीसी

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button